तनहुँ प्रहरीको नागरिक सुनुवाई, शान्ति सुरक्षा तथा महिलाले महिलामाथि गर्ने हिंसा न्यूनिकरण गर्न सुझाव

सर्मिला विक (डुम्रे)

जिल्ला प्रहरी कार्यालय तनहुँले नागरिक सुनुवाई कार्यक्रम गरी सम्पादित कार्यक्रम सार्वजनिक तथा नागरिकहरुको गुनासो संकलन गरेको छ । तनहुँको बन्दिपुर गाउँपालिकाको डुम्रेमा आयोजना गरेको कार्यक्रममा प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जिल्लाका ८०५ जना नागरिक बराबर १ जना प्रहरीले सुरक्षा दिँदै आएको जानकारी गराए ।

प्रहरी उपरीक्षक पौडेलले जिल्लामा ३४ वटा प्रहरी इकाई रहेका र ६३३ जना प्रहरीको दरबन्दि रहेकोमा अहिले ४७० जना मात्रै कार्यरत रहेको जानकारी गराए । जिल्लामा लागुऔषध रोकथाम, चोरी डकैती नियन्त्रण सहितका अभियानको लागि प्रहरीले समुदायसँग मिलेर शान्तिसुरक्षा प्रदान गर्दै आएको बताउँदै प्रहरी उपरीक्षक पौडेलले पछिल्लो छ महिनामा कार्यालयले ४९ वटा खराब पक्षका मुद्दा साथै १४ वटा बलात्कारका घटना सहित २४० वटा मुद्दा शिर्षमा काम कारवाही अगाडि बढाएको बताए ।

यस्तै, जिल्लामा १ प्रहरी कार्यलय १ कम्प्युटरको अवधारणा अगाडि बढाएको, ट्राफिक दुर्घटना बढिरहेकाले त्यसलाई ब्यबस्थापन, रोकथाम तथा लागुऔषध नियन्त्रणका विषयलाई प्राथमिकतामा राखेर काम गर्दै आएको, पुराना अपराधका घटना, चोरीका घटना न्यूनिकरणका लागि कार्ययोजना बनाएर अगाडि बढेको र अबैध रूपमा नदीजन्य वस्तु दोहन रोकथाम, सिसिटिभि जडान गरी निग्रानी गर्ने लगायतका कार्यक्रमलाई कार्यायोजना बनाएर तनहुँ प्रहरी अगाडि बढेको प्रमुख पौडेलले बताए ।

यस्तै, नागरिक सुनवाईमा सहभागीहरूले जिल्लाको शान्ति सुरक्षाका विषयमा जिज्ञासा राखेका थिए । गत मंसिर १६ गते नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुल्दीखोला पुलको उद्घाटनको विषयलाई लिएर प्रहरी प्रशासनले केही समय हिरासतमा लिएको विषयमा प्रश्न उठाइएको थियो । बन्दीपुर क्याम्पसका पूर्वप्रमुख ध्रुवलाल प्रधान र कांग्रेसका महासमिति सदस्य रामचन्द्र अधिकारीले वरिष्ठ नेता पौडेलमाथि दुर्व्यहार भएको गुनासो गरेका थिए । जिज्ञाशा मेटाउँदै प्रमुख जिल्ला अधिकारी आचार्यले वरिष्ठ नेता पौडेलको सुरक्षा र सम्मानका लागि प्रहरी प्रशासनले उक्त कदम चाल्नुपरेको बताए ।

कार्यक्रममा डुम्रेस्थित हरिहर महिला समूहकी अध्यक्ष सरीता पियाले महिलाले महिलामाथि गरिने हिंसा समाजमा फैलिँदै गएकोले आमा समूह, महिला समूह र टोलटोलमा सचेतनामूलक कार्यक्रम गर्नुपर्ने भएपनि यस तर्फ प्रहरी प्रशासन तथा अन्य निकायले चासो नदेखाएको बताएकी थिइन् ।

यातयात व्यवसायी जीवन कायस्थले निजी सवारी साधनले सार्वजानिक यात्रु बोकिदिँदा ट्याक्सी व्यवसायी मर्कामा परेको हुँदा यसतर्फ चासो देखाउन आग्रह गरे । तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार इकाइका सभापति नेक महम्मद मियाँले विशिष्ट व्यक्ति आउँदा डुम्रेमा ट्राफिक व्यवस्थापन चुस्त हुने तर अन्य समयमा अस्वतव्यस्त हुने गरेको हुँदा यस तर्फ ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा डुम्रेका सुन व्यवसायी हिरालाल विश्वकर्माले चोरीका सुन किन्दा अन्जानमा व्यवसायी फस्ने र दोहोर भागिदार बन्नुपरेको गुनासो गरेका थिए भने फर्निचर व्यवसायी रीता तिवारीले दर्ता नगरी अवैधरुपमा उद्योग, व्यवसाय सञ्चालन गरेकाको अनुगमन गरी कानुनी दायरमा ल्याउन सुझाएकी थिइन् ।

पर्यटन व्यवसायी बैंस गुरुङले पर्यटन तथा होटल व्यावसायिलाई कसरी अगाडि बढाउन सकिन्छ र पर्यटकहरुलाई सुरक्षित महसुस गराउन प्रहरीले कस्तो योजना बनाएको छ भन्दै जिज्ञासा राखेका थिए । सुनचाँदी व्यावसायी रोहित विश्वकर्माले महिला दिदिबहिनीले सवारी सधान चलाउदा जिस्काउने, फलो गर्ने कार्यले दुर्घटना बढेको र महिला दिदिबहिनी कसरी सुरक्षित हुन सक्छन यसको लागि प्रहरी कार्यलयले के गर्न सक्छ भनेर प्रश्न गरेका थिए ।

यस्तै जिल्ला प्रहरी कार्यलयले पछिल्लो समयमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने ९४ सवारी सधनलाई नियन्त्रणमा लिइ ११ लाख जरिवाना तिराएको, लागू औषधका २१ मुद्दामा लागु पदर्थ करोबारी ४१ जनालाई पक्राउगरि २० किलो लागू औषध बरामद गरेको बताइएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागर आचार्यले स्थानीय प्रशासन सधैं समुदाय र नागरिक समाजसँग समन्वय र सहकार्य गर्न तयार रहेको बताए ।

समाजमा सुरक्षा व्यवस्था कायम राख्न हरेक कार्यक्रममा सुरक्षा विश्लेषण गरी सोही अनुसार हामीले सुरक्षा निकायलाई सजग रहन आग्रह गछौ आचार्यले भने । साथै अवैध सञ्चालन क्रसर उद्योगको सन्दर्भमा आचार्यले भने दोहनमा लागेका, मापदण्ड र स्रोत स्पष्ट नभएका क्रसर उद्योग हामी बन्द गराउदैछौ। कार्यक्रममा महिला हिंसा, आमाको नामबाट नागरिकता पाउने व्यवस्था, क्रसर उद्योग, बजार व्यवस्थापन, पर्यटन सुरक्षा, सार्वजनिक सम्पतिमाथि हस्तक्षेप लगायतका विषयमा सहभागीहरुले जिज्ञासा र गुनासो राखेका थिए भने प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीले सहजिकरण गरेका थिए ।

जग्गादातालाई सम्मान

कार्यक्रमका अवसरमा डुम्रेको प्रहरी चौकी भवन निर्माणार्थ जग्गा प्रदान गर्ने स्थानीय ध्रुवलाल श्रेष्ठ पिया र उनकी श्रीमती विष्णुदेवि पियालाई सम्मान समेत गरिएको थियो । पियाले भवन निर्माणका लागि करिब ७ आना जग्गा निःशुल्क प्रदान गरेवापत उनलाई सम्मान गरिएको प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker