सहिद दिवस : सक्छौ सम्मान गर, नसके अपमान नगर

सुरेशकुमार पाण्डे

हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म नेपालमा सहिद सप्ताह मनाइन्छ। यो केवल औपचारिक कार्यक्रम, माल्यार्पण वा भाषणमा सीमित हुने विषय होइन। सहिद सप्ताह भनेको राष्ट्रले आफ्ना बलिदानी सन्तानसँग गर्ने आत्मसंवाद हो– हामी कहाँबाट आयौं, किन आयौं र अहिले कहाँ उभिएका छौं भन्ने प्रश्नसँग जुध्ने समय हो।

नेपाल सहिदहरूको देश हो। यहाँ सहिदहरूको कुनै एक कालखण्ड मात्र छैन, बरु इतिहासका अनेकौं मोडमा अनगिन्ती सहिदहरूले देश र जनताका लागि आफ्नो जीवनको आहुति दिएका छन्। दुर्भाग्यवश, तीमध्ये धेरै सहिदहरूको नाम इतिहासका पानामा अंकित हुन सकेका छैनन्। कतिपय सहिद त नामै नचिनिएका कंकालका रूपमा किल्ला, जंगल र नदी किनारमै विलीन भए। तर नाम लेखिएन भन्दैमा उनीहरूको योगदान मेटिँदैन।

सहिद भन्नाले के बुझ्ने ? केवल राजनीतिक आन्दोलनमा मारिएका व्यक्ति मात्र सहिद हुन् त ? होइन । देशको स्वतन्त्रता, स्वाभिमान, न्याय र जनअधिकारका लागि ज्यान आहुति दिने हरेक व्यक्ति सहिद हो। अंग्रेजी उपनिवेशवादविरुद्ध लड्दा किल्लामै मारिएका वीरहरू, जहानिया राणाशासनको विरोधमा फाँसी चढाइएका योद्धाहरू, निरंकुश व्यवस्थाविरुद्ध गोली खाएका युवाहरू– यी सबै सहिद हुन्।

राणाकालीन इतिहास हेर्दा लखन थापालाई पहिलो सहिद मानिन्छ । तर उनीभन्दा अघि पनि बलिदान दिनेहरू थिएनन् भन्न सकिँदैन। त्यो अझै खोज र अध्ययनको विषय हो। तर राणाशासनविरुद्ध संगठित राजनीतिक आन्दोलनका सन्दर्भमा नेपाल प्रजापरिषद् र त्यसका सहिदहरूको योगदान ऐतिहासिक रूपमा अतुलनीय छ।

नेपाल प्रजापरिषद्को स्थापना वि.सं. १९९३ साल जेठ २० गते धर्मभक्त माथेमाको घरमा भएको थियो। टंकप्रसाद आचार्य, धर्मभक्त माथेमा, दशरथ चन्द, रामहरी शर्मा र जीवनराम शर्मा यसको संस्थापक थिए। राणाशासनविरुद्ध स्थापित यो पहिलो संगठित राजनीतिक दल थियो। यसले नेपाली जनतालाई निरंकुशताको विरुद्ध संगठित हुन प्रेरित ग¥यो।

वि.सं. १९९७ साल भदौमा टंकप्रसाद आचार्य सभापति बनेपछि प्रजापरिषद् अझ सक्रिय बन्यो। लुकिछिपी पर्चा छर्ने, भारतबाट प्रकाशित ‘जनता’ र ‘एड्भान्स’ जस्ता पत्रिकामा लेख छाप्ने, जनचेतना फैलाउने काम भयो। यही गतिविधिले राणा शासकहरू आतंकित भए।

अन्ततः विश्वासघात भयो। आफ्नै पंक्तिबाट सूचना चुहिएपछि प्रजापरिषद्का नेताहरू पक्राउ परे। गम्भीर यातना दिएर दोषी ठहर गरियो। जनरल शंकर शमशेरको नेतृत्वमा गठन गरिएको विशेष अदालतले गंगालाल श्रेष्ठ, दशरथ चन्द, शुक्रराज शास्त्री र धर्मभक्त माथेमालाई मृत्युदण्ड सुनायो ।

वि.सं. १९९७ माघ ९ गते राति शुक्रराज शास्त्रीलाई टेकुमा झुण्ड्याइयो। उनको शरीरमा “सरकारको विरोध गर्नेको हालत यस्तो हुन्छ” लेखिएको कपडा टाँसियो। माघ ११ गते धर्मभक्त माथेमालाई सिफलमा झुण्ड्याइयो। माघ १४ गते गंगालाल र दशरथ चन्दलाई विष्णुमती किनारमा गोली हानी हत्या गरियो। यो केवल चार व्यक्तिको हत्या थिएन, यो नेपाली जनताको चेतनामाथिको आक्रमण थियो ।

तर इतिहासले देखायो– जहाँ अन्याय हुन्छ, त्यहाँ विद्रोह जन्मन्छ। सहिदहरूको रगतले दबाइएको आन्दोलन झन् व्यापक बन्यो। अन्ततः १०४ वर्षे जहानिया राणाशासन ढल्यो। यदि ती सहिदहरूको बलिदान नहुँदो हो त आज हामी लोकतन्त्र, गणतन्त्र र स्वतन्त्रताको कल्पनासमेत गर्न सक्दैनथ्यौं।

तर आज प्रश्न उठ्छ– के हामी सहिदहरूको सपना पूरा गर्दैछौं?

आज गणतन्त्र प्राप्त भएको दशकौं बितिसक्दा पनि देशमा भ्रष्टाचार मौलाएको छ। वि.सं. २००७, २०४६ र २०६२/६३ का आन्दोलनहरूले दिएको उपलब्धि दिनप्रतिदिन कमजोर बनाइँदै छ। गणतन्त्र सस्तो बनाइएको छ, राज्य सत्ता स्वार्थको खेल मैदान बनेको छ। हालै ‘जेन–जी आन्दोलन’का नाममा भएको तोडफोड र आगजनीबाट राज्यलाई अर्बौंको क्षति पुगेको सरकारी तथ्यांकले देखाउँछ। आन्दोलनका नाममा सार्वजनिक सम्पत्ति जलाउनु, राष्ट्रिय ढुकुटी लुट्नु के सहिदको बाटो हो ? सहिदले दिएको बलिदान विनाशका लागि थिएन, निर्माणका लागि थियो।

देशलाई आत्मनिर्भर बनाउने सट्टा विदेशी स्वार्थको अखडा बनाउने प्रवृत्ति बढ्दै गएको छ। साम्राज्यवादी शक्तिका गोटी बनेर आफ्नै मातृभूमिलाई घायल बनाउने काम भइरहेको छ। निर्दलीय सरकार गठन, आकस्मिक पार्टी निर्माण र फिल्मी शैलीको राजनीति– यी सबै विषय गम्भीर समीक्षाको माग गर्छन् ।

आज जनताको हातमा तरबार छ। तर त्यो तरबार सही दिशामा प्रयोग हुन्छ कि गलत हातमा पुग्छ? यदि जनताकै हातबाट अपराधीहरूको पक्षमा मत खसालियो भने त्यो केवल राजनीतिक गल्ती मात्र होइन, सहिदहरूप्रति गरिएको घोर अपमान हुनेछ।

सहिद सप्ताह मनाउनुको अर्थ केवल फूल चढाउनु होइन। सहिदले देखाएको बाटोमा हिँड्ने संकल्प गर्नु हो। राष्ट्रियता, गणतन्त्र, लोकतन्त्र र जनताको सार्वभौमसत्ताको रक्षा गर्नु नै सच्चा सहिद सम्मान हो । अन्ततः एउटा स्पष्ट सन्देश छ– सक्छौं भने सहिदहरूको सम्मान गरौं। नसक्यौं भने कम्तीमा अपमान नगरौं। यो नै सहिद दिवसले हामीसँग मागेको ऐतिहासिक र नैतिक जिम्मेवारी हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker