अपेक्षाभन्दा कम मतदान, करिब ६१ प्रतिशत भएको प्रारम्भिक विवरण

आज सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा हालसम्मको प्रारम्भिक विवरणअनुसार पूर्वानुमानभन्दा कम करिब ६१ प्रतिशत मतदान भएको छ । मतदानबारे निर्वाचन आयोगको सूचना प्रणालीमा विवरण प्रविष्ट हुने क्रम जारी छ ।

मतदानलाई सहज र शान्तिपूर्णरूपमा सञ्चालन गराउने प्रयासका बाबजुद सुर्खेत, नवलपरासीपूर्व, गुल्मी र बाजुरा जिल्लाका गरी १५ मतदानस्थलमा मतदान स्थगन भएको निर्वाचन आयोगले जनाएको छ । मतदानका क्रममा बाजुरा जिल्लामा दोहोरो झडप हुँदा एकजना सर्वसाधारण नागरिकको मृत्यु तथा अन्य केही स्थानमा केही नागरिक घाइते भएका छन् ।

आयोगले सबै मतदान अधिकृतहरूलाई आज मध्याह्न निर्देशन दिँदै मतदान केन्द्रमा भएको सामान्य विवादका कारण केही समय स्थगन भएको मतदान कार्य सञ्चालन गर्न र साँझ ५ बजेसम्म स्थगन भएको सूचना टाँस नगर्न तथा आयोगको पूर्वसहमति लिएर मात्रै स्थगन भएको सूचना टाँस गर्न निर्देशन दिएको थियो । स्थगन वा रद्द भएका मतदान केन्द्रमा आवश्यक तयारी गरी दुई दिनभित्र पुनः मतदान गराउने निर्णय गर्न उपयुक्त प्रबन्ध मिलाइने आयोगले जनाएको छ ।

आयोगले केही सामान्य घटनाबाहेक देशभर शान्तिपूर्ण र उत्साहजनकरूपमा मतदान सम्पन्न भएको र निर्वाचन सम्पन्न गराउने ऐतिहासिक कार्यमा भूमिका निर्वाह गर्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, निर्वाचन अधिकृत, स्थानीय प्रशासन, निर्वाचनमा संलग्न कर्मचारी तथा सुरक्षाकर्मी, राजनीतिक दल, उम्मेदवार, मतदाता, पर्यवेक्षक, अन्तर्राष्ट्रिय समुदाय, सञ्चारमाध्यम, निजी क्षेत्रलगायत सबै क्षेत्र र समुदायप्रति आभार व्यक्त गरेको छ ।

केही जिल्लाका मतदान केन्द्रमा विविध कारणवश केही समय मतदान कार्य रोकिएकामा राजनीतिक दल तथा उम्मेदवार र निर्वाचन प्रतिनिधिहरूसँगको छलफलपछि पुनः सञ्चालन भएको थियो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको सिलसिलामा निर्वाचन सामग्रीको प्रयोगमा बाधा पु¥याउने, मतपत्रको दुरुपयोग गर्ने, मतदानको प्रक्रिया उल्लङ्घन गर्ने, मतेपटिकामा अन्य वस्तु खसाल्ने, पटक पटक मतदान गर्न खोज्ने, मतपत्र नष्ट गर्ने, मतदानस्थल कब्जा गर्नेलगायतका कार्यमा संलग्न जोसुकैलाई (निर्वाचन कसुर तथा सजय) ऐन, २०७३ बमोजिम तत्काल कारबाही प्रारम्भ गर्न निर्देशन दिइएको बताउनुभयो ।

उहाँले मतदानका क्रममा कतिपय मतदान केन्द्रमा कर्मचारी र मतदाताको असावधानीका कारण प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको केही मतपत्र तोकिएको मतपेटिकामा नखसी अर्काे मतपेटिकामा खसेको भन्ने गुनासो आएको छ । मतपेटिकामा रहेका ती सबै मतपत्रलाई मतगणनाका समयमा जनताको अभिमत खेर जान नदिने गरी राजनीतिक दल, उम्मेदवार र निर्वाचन प्रतिनिधिको छलफलका आधारमा जुन तहका लागि खसेको मत हो सोही तहतर्फ गणना गर्ने गरी प्रबन्ध मिलाइएको जनाउनुभयो ।

मतगणनाका सन्दर्भमा उत्पन्न हुन सक्ने विवाद वा अस्पष्टतालाई स्थानीयरूपमै छलफल गरी समाधान गर्न मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई जिम्मेवार तुल्याइने र मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतबाट सोधनी भएका विषयमा आयोगले तत्काल सम्बोधन गर्ने जनाइएको छ ।

मतपेटिका ढुवानी सुरु

मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट आज साँझदेखि नै मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी भइरहेको छ । मतपेटिका मतगणनास्थलमा ल्याइसकेपछि दलीय सहमति जुटाई काठमाडौँ उपत्यकालगायतका क्षेत्रमा आज रातिदेखि नै मतगणना सुरु गर्ने र अन्य स्थानमा मतपेटिका सुरक्षित साथ सङ्कलन भएपछि तत्काल मतगणना प्रारम्भ गर्न आयोगले निर्देशन दिइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker