व्यास नगरपालिकाद्वारा ३ दिने कृषि तथा पशुपंक्षी मेला
भञ्ज्याङ समाचारदाता/दमौली
कृषकले उत्पादन गरेको उपजलाई प्रवर्द्धन गर्ने उद्देश्यले तनहुँको व्यास नगरपालिकाले प्रथम कृषि तथा पशुपंक्षी मेला-२०७८ आयोजना गर्ने भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै स्थानीय कृषकहरुको उत्पादनको प्रचार गर्ने उद्देश्यले तीन दिने मेला गर्न लागिएको व्यासका नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए । यहि माघ ३० गतेदेखि फागुन २ गतेसम्म सञ्चालन हुने कृषि मेलामा किसानहरुको उत्पादनलाई प्रदर्शन गरिने छ ।
व्यास नगरपालिकाको आयोजनामा सञ्चालन हुने उक्त मेलामा जिल्ला समन्वय समिति, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र, घरेलु तथा साना उद्योग विकास कार्यालय, नेपाल बिउ व्यवसायी संघ जिल्ला समितिको समन्वय हुने बताइएको छ । उक्त मेलामा जिल्लाभरका कृषकहरुले आफ्ना कृषि उत्पादन प्रदर्शनीमा राख्न सकिने व्यासका नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए । उनले भने, ‘कृषकहरुले तरकारी, माछा, कुखुरा, खासीबोका, कालिज, बट्टाइ लगायतका कृषि तथा पशुपंक्षीका उपजहरु प्रदर्शनीमा राख्न पाउनेछन् ।’
कृषि प्रदर्शनिका लागि स्टलहरु निःशुल्क हुने र मेलाभित्र करिव ४० वटा स्टलहरु बनाइने उक्त पत्रकार सम्मेलनमा बताइएको छ । उक्त मेलामा करिव एक हजार कृषकहरुको प्रदर्शनीमा सहभागिता र १० हजार जनाले मेला राखिएका कृषि उपजहरुको अवलोकन गर्ने अनुमान गरिएको छ । मेलामा बैंक तथा बित्तीय संस्थाबाट उपलब्ध हुने अनुदानमा, कृषि ऋण बारे जानकारी पनि गराइने बीउ व्यवसायी संघ तनहुँका अध्यक्ष बैकुण्ठनाथ मिश्रले बताए । उनले भने, ‘मेलाले उत्पादक र उपभोक्ता बिच सिधा सम्पर्क गराउन मद्दत गर्ने छ ।’ यस्तै, मेलाको अवसरमा व्यास नगरक्षेत्र भित्रका उत्कृष्ट कृषहरुलाई पनि पुरस्कृत गरिने नगरप्रमुख न्यौपानले बताए ।
माघे संक्रान्तिमा विशेष कार्यक्रम
यस्तै, परम्परागत चल्दै आएको रितिरिवाजलाई जगेर्ना गर्ने उद्देश्यले नेपाल मगर संघ व्यास नगर समितिको आयोजनामा माघे संक्रान्ति विशेष कार्यक्रम आयोजना गरिने नगर समितिका अध्यक्ष रिमा आलेले बताइन् । कृषि तथा पशुपंक्षी मेलाको अवसरमै उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रममा राष्ट्रिय कलाकारहरुको प्रस्तुति, महिलाको लागि डोरी तानी र पुरुषका लागि सटपुट थ्रो लगायतका कार्यक्रम पनि रहेको उनले बताइन् । यस्तै, उक्त कार्यक्रमको अवसरमा राष्ट्रिय कलाकार, समितिका पुर्व अध्यक्षहरु, एसइइ र प्लस टुमा उत्कृष्ट अंक ल्याउने एक/एक छात्राछात्रलाई सम्मान पनि गरिने आलेले बताइन् ।