साहित्यकार अधिकारीद्वारा लिखित कविता संग्रह ‘आकाश खुल्दैछ’ र नाटक संग्रह ‘बिस्कुन’ विमोचन
भञ्ज्याङ न्यूज

तनहुँका युवा साहित्यकार आकाश अधिकारीद्वारा लिखित दुइ पुस्तकको एकैसाथ शनिबार विमोचन गरिएको छ । अधिकारीद्वारा लिखित कविता संग्रह ‘आकाश खुल्दैछ’ र नाटक संग्रह ‘बिस्कुन बालुवाको’ को दमौलीमा एक कार्यक्रमको आयोजना गरी विमोचन गरिएको हो ।
गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले आयोजना गरेको कार्यक्रममा बोल्दै वक्ताले मानिसलाई मृत्युपछि पनि चिनाउने माध्यम साहित्य रहेकोमा जोड दिएका थिए ।
साहित्यकार डिल्लीराम मिश्रले हरेक अभिव्यक्त गर्ने प्रमुख माध्यम साहित्य बनेको भन्दै साहित्यले समाजमा पार्ने सकरात्मक पाटोका विषयमा चर्चा गरेका थिए ।
शुक्ला साहित्य संगमका संरक्षक शेषमणि आचार्यले गुणात्मक सिर्जना गर्न सके उक्त सिर्जना युग युगसम्म बाँच्न सक्ने बताउँदै समाजलाई अग्रगतिमा लैजान साहित्यकारले कलम चलाउनुपर्नेमा जोड दिएका थिए ।
गण्डकी वाङ्मय प्रतिष्ठानका संस्थापक अध्यक्ष काशीनाथ न्यौपानेले साहित्यकारले कृतिभित्र अलंकार भाषित गर्नुपर्नेमा जोड दिए ।
व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले साहित्यिक क्षेत्रको विकासका लागि नगरपालिका सदैव तयार रहेको बताए ।
व्यास क्षेत्र विकास कोषका महासचिव विष्णुभक्त सिग्देलले समृद्ध नेपाल बनाउने अभियानमा साहित्यकारले कलम चलाउनुपर्नेमा जोड दिए ।
यस्तै, संस्थाका अध्यक्ष आकाश अधिकारीद्वारा लिखित नाटकको समिक्षा साहित्यकार तथा समालोचक डा. इश्वर चन्द्र वाग्लेले गरेका थिए भने, कबिता माथी बुद्धिजीवी तथा जिल्ला वालसंगठनका प्रमुख डम्बरदेब कैनीले गरेका थिए ।
आयोजक संस्थाले हरेक बर्षप्रदान गर्दै आएको ‘गीतल युवा राष्ट्रिय पुरस्कार’ युवा कवि सुदेश सत्याल साथै संस्थाले प्रदान गर्ने ‘गीतल प्रतिभा पुरस्कार’ लोक गायक बसन्त बिकलाई प्रदान गर्ने घोषणा गरेको छ ।