हर्षपुरमा स्थानीय कृषि प्रदर्शनी तथा खाद्य मेला, स्थानीय उत्पादन प्रवर्द्धनसंगै जलवायु मैत्री खेतीमा जोड

म्याग्दे : स्थानीय कृषि उत्पादनको प्रवर्द्धन तथा जलवायु मैत्री कृषि अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्यले तनहुँको म्याग्दे गाउँपालिका–७ हर्षपुरमा स्थानीय कृषि प्रदर्शनी तथा खाद्य मेला आयोजना गरिएको छ । ‘जलवायु मैत्री खेती गरौँ, स्थानीय उत्पादन बढाऔँ, स्वस्थ परिवार, समृद्ध किसान र दिगो समाज बनाऔँ’ भन्ने मूल उद्देश्यसहित मेला सञ्चालन गरिएको हो ।
जलवायु उत्थानशील किसान समूह हर्षपुर क्षेत्र, जलवायु उत्थानशील किसान समूह कुर्लेचौर तथा महिला उद्यमी समूह म्याग्देको आयोजनामा भएको मेलामा स्थानीयस्तरमा उत्पादन भएका कृषि उपज, खाद्य परिकार तथा किसानका गतिविधि प्रदर्शन गरिएको थियो ।
मेलामा स्थानीय उत्पादनलाई उपभोक्तासम्म पु¥याउने, किसानले उत्पादन गरेका कृषि उपजको पहिचान र बजार प्रवर्द्धन गर्ने तथा स्थानीय परिकारको संरक्षण र प्रयोगलाई बढावा दिने प्रयास गरिएको आयोजकले जनाएको छ। कृषि उत्पादनलाई केवल घरायसी उपभोगमा सीमित नराखी उद्यम र आयआर्जनसँग जोड्ने विषयलाई समेत मेलाले प्राथमिकता दिएको थियो ।
जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा देखिन थालेका चुनौतीलाई ध्यानमा राख्दै स्थानीयस्तरमा जलवायु अनुकूलन तथा उत्थानशील कृषि अभ्यास विस्तार गर्ने उद्देश्यसमेत मेलाले बोकेको छ । मौसममा हुने परिवर्तन, पानीको उपलब्धता तथा उत्पादन प्रणालीमा देखिने जोखिमलाई ध्यानमा राखेर किसानलाई अनुकूल कृषि अभ्यासतर्फ प्रोत्साहित गर्न कार्यक्रम आयोजना गरिएको हो ।
स्थानीय उत्पादनको प्रवर्द्धनसँगै किसानलाई उत्पादन, प्रशोधन, परिकार निर्माण तथा बजारीकरणका गतिविधिसँग जोड्न सके कृषि क्षेत्रलाई थप व्यावसायिक बनाउन सकिने आयोजकको भनाइ छ । विशेषगरी महिला उद्यमी तथा किसान समूहको सहभागिताले स्थानीय उत्पादनलाई आयआर्जनसँग जोड्ने सम्भावनालाई समेत उजागर गरेको छ ।
म्याग्दे गाउँपालिकाको समन्वय तथा सहकार्यमा आयोजना गरिएको मेला डीपी डेनमार्क चिल्ड्रेन नेपालअन्तर्गत सञ्चालित जलवायु उत्थानशील समाज विकास परियोजनाले मेलाका लागि सहयोग गरेको बताइएको छ ।
आयोजकका अनुसार स्थानीय उत्पादनको प्रयोग र प्रवर्द्धनले किसानको उत्पादनलाई बजारसँग जोड्नुका साथै स्थानीय खाद्य संस्कृतिको संरक्षणमा समेत योगदान पु¥याउन सक्छ । जलवायु परिवर्तनको प्रभावबीच स्थानीय स्रोत र सम्भावनामा आधारित कृषि प्रणाली विकास गर्न यस्ता गतिविधिले किसानलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।










