सम्पादकीय : एचपिभी खोप – पाठेघरको मुखको क्यान्सरविरुद्ध दीगो लगानी

पाठेघरको मुखको क्यान्सर नेपाली महिलाको स्वास्थ्यका लागि गम्भीर चुनौतीको रूपमा रहँदै आएको छ । तथ्याङ्क हेर्दा नेपालमा हरेक वर्ष करिब दुई हजारभन्दा बढी महिलामा यो क्यान्सर देखिने र एक हजारभन्दा बढी महिलाको यसै कारण ज्यान जाने गरेको अनुमान गरिएको छ । महिलामा हुने क्यान्सरमध्ये दोस्रो स्थानमा पर्ने यो रोग महिलाको मृत्युको पहिलो कारण बन्नु आफैंमा चिन्ताजनक विषय हो । तर, यो गम्भीर रोग समयमै सचेतना, नियमित परीक्षण र विशेषगरी एचपिभी (ह्युमन पापिलोमा भाइरस) खोपमार्फत धेरै हदसम्म रोक्न सकिने तथ्यलाई अझै पनि समाजले पूर्ण रूपमा आत्मसात् गर्न सकेको छैन । यसै सन्दर्भमा पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप अभियान तनहुँमा सञ्चालन गरिएको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको समन्वयमा जिल्लाका दशवटै स्थानीय तहमा १४९ स्वास्थ्यकर्मी परिचालन गरी अभियान सञ्चालन गर्न लागिएको छ । माघ र फागुन महिनामा चरणबद्ध रूपमा सञ्चालन हुने यस अभियानअन्तर्गत दुई हजार ६२५ किशोरीलाई एचपिभी खोप लगाइने योजना छ । विद्यालय जाने कक्षा ६ का छात्रा, अघिल्लो वर्ष छुट भएका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा, विद्यालय नजाने १० वर्ष उमेरका किशोरी तथा अघिल्लो वर्ष छुट भएका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई लक्षित गरेर अभियान अघि बढाइएको छ । यो तथ्यले खोप कार्यक्रमलाई समावेशी बनाउने प्रयास देखाउँछ ।

एचपिभी खोपको महत्व बुझ्न सबैभन्दा पहिले पाठेघरको मुखको क्यान्सर किन र कसरी हुन्छ भन्ने बुझ्न जरुरी छ । अधिकांश अवस्थामा यो क्यान्सर एचपिभी भाइरसको संक्रमणका कारण हुने गर्छ । यौन सम्पर्कबाट सर्ने यो भाइरसको संक्रमण सुरुवाती अवस्थामा कुनै लक्षण नदेखिने भएकाले महिलाहरूले रोग थाहा पाउने बेलासम्म ढिला भइसकेको हुन्छ । त्यसैले उपचारभन्दा रोकथाम नै सबैभन्दा प्रभावकारी उपाय हो । यही रोकथामको बलियो आधार एचपिभी खोप भएको सवस्थ्य विज्ञहरु बताउँछन् । स्वास्थ्य विज्ञहरूका अनुसार एचपिभी खोप प्रारम्भिक किशोरावस्थामै लगाउँदा यसको प्रभावकारिता अत्यन्त उच्च हुन्छ । कारण स्पष्ट छ– यो उमेर समूहमा भाइरसको संक्रमण हुनुअघि नै खोप लगाइन्छ, जसले भविष्यमा क्यान्सर हुने जोखिमलाई धेरै हदसम्म कम गर्छ । विश्व स्वास्थ्य संगठनले समेत किशोरी उमेरमै एचपिभी खोप दिन सिफारिस गरेको छ । विकसित तथा विकासोन्मुख देशहरूले यस खोपलाई राष्ट्रिय खोप कार्यक्रममै समेटेर दीर्घकालीन लाभ लिइरहेका छन् । नेपालले पनि पछिल्ला वर्षहरूमा यो खोपलाई प्राथमिकतामा राख्नु सकारात्मक संकेत हो ।

तर, खोप कार्यक्रम सफल बनाउन केवल सरकारी पहल मात्र पर्याप्त हुँदैन । अभिभावक, विद्यालय, शिक्षक, स्वास्थ्यकर्मी र स्थानीय नेतृत्वको संयुक्त प्रयास अपरिहार्य हुन्छ । अझै पनि कतिपय समुदायमा खोपप्रति भ्रम, डर र गलत सूचना फैलिएको पाइन्छ । एचपिभी खोपलाई लिएर ‘यसले अन्य स्वास्थ्य समस्या ल्याउँछ’ वा ‘किशोरीलाई खोप लगाउँदा सामाजिक रूपमा नकारात्मक सन्देश जान्छ’ भन्ने जस्ता आधारहीन धारणाहरू छन् । यस्ता भ्रम तोड्न तथ्यमा आधारित जनचेतना आवश्यक छ । खोपले न त प्रजनन क्षमतामा असर गर्छ, न त यसले सामाजिक मूल्य–मान्यतामाथि आघात पु¥याउँछ । बरु यसले छोरीहरूको भविष्य सुरक्षित बनाउँछ। तनहुँमा अघिल्लो वर्ष १४ हजारभन्दा बढी किशोरीलाई एचपिभी खोप लगाइनु उत्साहजनक तथ्य हो । यस वर्ष पनि स्थानीय तहअनुसार लक्षित संख्यामा खोप लगाउने तयारी गरिएको छ । व्यास नगरपालिका, भानु, शुक्लागण्डकी, भिमाद, बन्दीपुर, देवघाट, ऋषिङ, घिरिङ, म्याग्दे र आँबुखैरेनी सबै क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गरेर अभियान सञ्चालन गरिदै छ । तर, लक्षित संख्यामा मात्र सीमित भएर होइन, ‘एक पनि किशोरी नछुटोस्’ भन्ने अभियानात्मक सोच आवश्यक छ ।

साथै, खोपसँगै पाठेघरको मुखको क्यान्सरसम्बन्धी नियमित परीक्षण (स्क्रिनिङ) र स्वास्थ्य शिक्षा पनि समानान्तर रूपमा अघि बढाउनुपर्छ । खोप लगाइसकेपछि पनि भविष्यमा परीक्षण आवश्यक नपर्ने भन्ने सोच गलत हो । खोपले जोखिम घटाउँछ, पूर्ण रूपमा शून्य बनाउँदैन । त्यसैले महिलाहरूलाई समय–समयमा परीक्षण गराउन प्रेरित गर्नु दीर्घकालीन रणनीति हुनुपर्छ । एचपिभी खोप कुनै साधारण स्वास्थ्य कार्यक्रम होइन, यो महिलाको जीवन र परिवारको भविष्यसँग जोडिएको विषय हो । किशोरावस्थामै खोप लगाउनु भनेको भविष्यमा हुने पीडा, खर्च र ज्यानको जोखिमबाट बचाउने दीगो लगानी हो । अभिभावकले ढुक्क भएर आफ्ना छोरीलाई खोप लगाउन अग्रसर हुनुपर्छ । स्थानीय तहले समन्वय र निगरानीलाई अझ प्रभावकारी बनाउनुपर्छ । अनि समाजले बुझ्नुपर्छ– स्वस्थ छोरी भनेकै समृद्ध परिवार र सशक्त समाजको आधार हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker