सम्पादकीय : एचपिभी खोप – पाठेघरको मुखको क्यान्सरविरुद्ध दीगो लगानी

पाठेघरको मुखको क्यान्सर नेपाली महिलाको स्वास्थ्यका लागि गम्भीर चुनौतीको रूपमा रहँदै आएको छ । तथ्याङ्क हेर्दा नेपालमा हरेक वर्ष करिब दुई हजारभन्दा बढी महिलामा यो क्यान्सर देखिने र एक हजारभन्दा बढी महिलाको यसै कारण ज्यान जाने गरेको अनुमान गरिएको छ । महिलामा हुने क्यान्सरमध्ये दोस्रो स्थानमा पर्ने यो रोग महिलाको मृत्युको पहिलो कारण बन्नु आफैंमा चिन्ताजनक विषय हो । तर, यो गम्भीर रोग समयमै सचेतना, नियमित परीक्षण र विशेषगरी एचपिभी (ह्युमन पापिलोमा भाइरस) खोपमार्फत धेरै हदसम्म रोक्न सकिने तथ्यलाई अझै पनि समाजले पूर्ण रूपमा आत्मसात् गर्न सकेको छैन । यसै सन्दर्भमा पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप अभियान तनहुँमा सञ्चालन गरिएको छ ।
प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको समन्वयमा जिल्लाका दशवटै स्थानीय तहमा १४९ स्वास्थ्यकर्मी परिचालन गरी अभियान सञ्चालन गर्न लागिएको छ । माघ र फागुन महिनामा चरणबद्ध रूपमा सञ्चालन हुने यस अभियानअन्तर्गत दुई हजार ६२५ किशोरीलाई एचपिभी खोप लगाइने योजना छ । विद्यालय जाने कक्षा ६ का छात्रा, अघिल्लो वर्ष छुट भएका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा, विद्यालय नजाने १० वर्ष उमेरका किशोरी तथा अघिल्लो वर्ष छुट भएका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई लक्षित गरेर अभियान अघि बढाइएको छ । यो तथ्यले खोप कार्यक्रमलाई समावेशी बनाउने प्रयास देखाउँछ ।
एचपिभी खोपको महत्व बुझ्न सबैभन्दा पहिले पाठेघरको मुखको क्यान्सर किन र कसरी हुन्छ भन्ने बुझ्न जरुरी छ । अधिकांश अवस्थामा यो क्यान्सर एचपिभी भाइरसको संक्रमणका कारण हुने गर्छ । यौन सम्पर्कबाट सर्ने यो भाइरसको संक्रमण सुरुवाती अवस्थामा कुनै लक्षण नदेखिने भएकाले महिलाहरूले रोग थाहा पाउने बेलासम्म ढिला भइसकेको हुन्छ । त्यसैले उपचारभन्दा रोकथाम नै सबैभन्दा प्रभावकारी उपाय हो । यही रोकथामको बलियो आधार एचपिभी खोप भएको सवस्थ्य विज्ञहरु बताउँछन् । स्वास्थ्य विज्ञहरूका अनुसार एचपिभी खोप प्रारम्भिक किशोरावस्थामै लगाउँदा यसको प्रभावकारिता अत्यन्त उच्च हुन्छ । कारण स्पष्ट छ– यो उमेर समूहमा भाइरसको संक्रमण हुनुअघि नै खोप लगाइन्छ, जसले भविष्यमा क्यान्सर हुने जोखिमलाई धेरै हदसम्म कम गर्छ । विश्व स्वास्थ्य संगठनले समेत किशोरी उमेरमै एचपिभी खोप दिन सिफारिस गरेको छ । विकसित तथा विकासोन्मुख देशहरूले यस खोपलाई राष्ट्रिय खोप कार्यक्रममै समेटेर दीर्घकालीन लाभ लिइरहेका छन् । नेपालले पनि पछिल्ला वर्षहरूमा यो खोपलाई प्राथमिकतामा राख्नु सकारात्मक संकेत हो ।
तर, खोप कार्यक्रम सफल बनाउन केवल सरकारी पहल मात्र पर्याप्त हुँदैन । अभिभावक, विद्यालय, शिक्षक, स्वास्थ्यकर्मी र स्थानीय नेतृत्वको संयुक्त प्रयास अपरिहार्य हुन्छ । अझै पनि कतिपय समुदायमा खोपप्रति भ्रम, डर र गलत सूचना फैलिएको पाइन्छ । एचपिभी खोपलाई लिएर ‘यसले अन्य स्वास्थ्य समस्या ल्याउँछ’ वा ‘किशोरीलाई खोप लगाउँदा सामाजिक रूपमा नकारात्मक सन्देश जान्छ’ भन्ने जस्ता आधारहीन धारणाहरू छन् । यस्ता भ्रम तोड्न तथ्यमा आधारित जनचेतना आवश्यक छ । खोपले न त प्रजनन क्षमतामा असर गर्छ, न त यसले सामाजिक मूल्य–मान्यतामाथि आघात पु¥याउँछ । बरु यसले छोरीहरूको भविष्य सुरक्षित बनाउँछ। तनहुँमा अघिल्लो वर्ष १४ हजारभन्दा बढी किशोरीलाई एचपिभी खोप लगाइनु उत्साहजनक तथ्य हो । यस वर्ष पनि स्थानीय तहअनुसार लक्षित संख्यामा खोप लगाउने तयारी गरिएको छ । व्यास नगरपालिका, भानु, शुक्लागण्डकी, भिमाद, बन्दीपुर, देवघाट, ऋषिङ, घिरिङ, म्याग्दे र आँबुखैरेनी सबै क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गरेर अभियान सञ्चालन गरिदै छ । तर, लक्षित संख्यामा मात्र सीमित भएर होइन, ‘एक पनि किशोरी नछुटोस्’ भन्ने अभियानात्मक सोच आवश्यक छ ।
साथै, खोपसँगै पाठेघरको मुखको क्यान्सरसम्बन्धी नियमित परीक्षण (स्क्रिनिङ) र स्वास्थ्य शिक्षा पनि समानान्तर रूपमा अघि बढाउनुपर्छ । खोप लगाइसकेपछि पनि भविष्यमा परीक्षण आवश्यक नपर्ने भन्ने सोच गलत हो । खोपले जोखिम घटाउँछ, पूर्ण रूपमा शून्य बनाउँदैन । त्यसैले महिलाहरूलाई समय–समयमा परीक्षण गराउन प्रेरित गर्नु दीर्घकालीन रणनीति हुनुपर्छ । एचपिभी खोप कुनै साधारण स्वास्थ्य कार्यक्रम होइन, यो महिलाको जीवन र परिवारको भविष्यसँग जोडिएको विषय हो । किशोरावस्थामै खोप लगाउनु भनेको भविष्यमा हुने पीडा, खर्च र ज्यानको जोखिमबाट बचाउने दीगो लगानी हो । अभिभावकले ढुक्क भएर आफ्ना छोरीलाई खोप लगाउन अग्रसर हुनुपर्छ । स्थानीय तहले समन्वय र निगरानीलाई अझ प्रभावकारी बनाउनुपर्छ । अनि समाजले बुझ्नुपर्छ– स्वस्थ छोरी भनेकै समृद्ध परिवार र सशक्त समाजको आधार हो ।










