पर्यटन प्रवर्द्धनका लागि “डुलुवा” समूह भारत यात्रामा

भञ्ज्याङ समाचारदाता/पोखरा

पोखराको पर्यटन प्रवर्द्धनका लागि ‘डुलुवा’ समूह एकमहिने यात्रामा निस्केको छ । आइतबार पत्रकार सम्मेलनमार्फत यात्राको उद्देश्यका बारेमा जानकारी दिएर सोे समूहले भारतको यात्रा तय गरेको हो । सुस्ताइरहेको पर्यटनलाई थप गतिशील बनाउन पोखरा लगायत नेपालका प्रमुख पर्यटकीय गन्तब्यका प्रवर्द्धनात्मक सामग्री बोकेर सो टोलीले भारतको अमृतसहर, कश्मिर, कार्गिल, लदाख, मनाली, सिम्ला, देहरादुन र नैनीताल पुगेर फर्किने टोली प्रमुख योगेश भट्टराइले जानकारी दिनुभयो ।

यात्राले फरक परिवेश संस्कार, संस्कृतिको अध्ययन गर्ने र एक अर्काबीच भाइचाराको सम्बन्ध स्थापित गर्ने भएकाले घुम्ने संस्कृतिको विकासका लागि यात्रा तय गरेको उहाँको भनाइ छ । पहिले देश अनि विदेश भन्ने उद्देश्यसहित टोलीले यसअघि नेपालका ७० जिल्लाको यात्रा सकेर यसपटक भारतका विभिन्न स्थानको छनोट गरी यात्रा तय गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार सन् २००८ मा प्याराग्लाइडिङ व्यवसायमा आबद्ध र विशेषगरी घुमघाममा रुचि राख्ने युवाको जमातले पोखरा नजिकै ताङतिङ गाउँ घुम्ने क्रममा ‘डुलुवा’ भन्ने नाम जुराएसँगै अहिले यो समूह घुमघामका लागि डुलुवाको नामबाट परिचित छ ।

नेपाली संस्कृतिमा प्रचलित डुल्ने मान्छेलाई डुलुवा भन्ने प्रचलनलाई आत्मसात् गर्दै अहिले सो समूह युवा लक्षित जिम्मेवार पर्यटन प्रवर्द्धनको सोचसहित जुटेको हो । यो समूहले यात्राका क्रममा सुदूरपश्चिमका विकट बस्तीमा पुगेर न्यानो कपडा, स्कुल सामग्री वितरण गरेर सामाजिक उत्तरदायित्व पनि पुरा गरेको छ । पत्रकार सम्मेलनमा भारतीय पेन्सन क्याम्पका पोखराका लेफ्टिनेन्ट कर्र्णोल शशाङ्क त्रिपाठीले भारतका प्रसिद्ध र निकै परम्परागत, ऐतिहासिक सांस्कृतिक महत्व बोकेका स्थानको छनोट गरी यात्रा तय गरेकामा उपलब्धिमूलक यात्राको शुभकामना दिनुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराइले युवाजोश जाँगरसहित आफ्नो ठाउँको विकासमा जुट्नुपर्छ भन्ने सोचका युवाले पर्यटन प्रवर्द्धनका लागि देखाएको सक्रियता र गतिविधि निकै प्रशंसनीय रहेको बताउनुभयो । उहाँले पोखरा साहासिक गतिविधिको शहर भएकाले डुलुवा समूहले भारतका विभिन्न सहरमा यस क्षेत्रको साहासिक गतिविधिलाई पनि प्रवर्द्धन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी सदस्य गणेशबहादुर भट्टराइले घुमघाम संस्कृतिले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने र नयाँनयाँ पर्यटकीय गन्तब्यको उजागर गर्ने बताउनुभयो । उहाँले भारतका ऐतिहासिक र नेपालीसँग महत्वपूर्ण सम्बन्ध रहेको कार्गिललगायतका क्षेत्रमा पुग्दा युवाले धेरै ऐतिहासिक ज्ञान हासिल गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

पर्यटनका लागि धेरैभन्दा धेरै युवामा घुम्ने संस्कृतिको विकास गराउनुपर्ने उहाँको भनाइ थियो । समूहका अर्का सिनियर टोली प्रमुख सुनिल भट्टराइले यात्राको लक्ष्य भारतीय बजारमाझ नेपालको पर्यटनलाई प्रवर्द्धन गर्नु रहेको जनाउँदै भारतका विभिन्न ठाउँमा पत्रकार सम्मेलन गरेर प्रवर्द्धनात्मक सामग्रीसहित औपचारिक र अनौपचारिक भेटघाटलाई जोड दिइने बताउनुभयो ।

उहाँले यात्रका क्रममा भेटिएका पर्यटकीयस्थलको उजागार गर्नु र नेपाल-भारतबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउनु यात्राको उद्देश्य रहेकेा जानकारी दिनुभयो । नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद् लगायतको प्रवर्द्धनात्मक सहयोग गरेको डुलुवाको ‘राइड एण्ड ग्लाइड’ नामकरण गरिएको यात्राको टोलीमा नौ जना प्याराग्लाइडिङ पाइलटसहित विभिन्न पेशा व्यवसायमा आबद्ध १९ युवाको सहभागिता रहेको समूहका सदस्य विकास भट्टराइले जानकारी दिनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker