पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा राती पनि सवारी साधान सञ्चालन हुने
भञ्ज्याङ समाचारदाता/दमौली

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी-मुग्लिन खण्डमा राति पनि सवारी साधन सञ्चालन गरिने भएको छ । आँबुखैरेनी गाउँपालिका-४ पावर हाउस नजिक सडक भासिएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबार राति ७ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएकामा आइतबार रातीदेखि उक्त अवरोध हटाइएको हो ।
रातीको समयमा यातायात सञ्चालन गर्दा जोखिम हुने भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबार र शनिबार रातीको समयमा यातायात सञ्चालनमा रोक लगाएको थियो । आइतबार रातीदेखि उक्त अवरोध हटाएर रातीको समयमा पनि सानाठूला र हेभी सवारी साधनहरु समेत सञ्चालन गर्न सकिने निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए ।
तर मुग्लिन पोखरा सडकखण्ड निर्माणका लागि याम्पाफाँट र घाँसीकुवा सडकखण्डमा राती ११ बजेदेखि बिहान ४ बजेसम्म यातायात आवागमन भने यसअघिको सूचना अनुसार नै बन्द रहने प्रशासन कार्यालयले जनाएको छ ।
आँबुखैरेनी खण्डको सडक भासिएको ठाउँमा भित्ता काट्ने कामलाई निरन्तरता दिइएको छ । सडक डिभिजन कार्यालय दमौलीले दुइ तर्फी यातायात सञ्चालन गर्ने गरी उक्त स्थानमा पहरो काट्ने कामलाई पनि निरन्तारता दिंदै आएको छ ।
काम नगरेको समयमा एकतर्फी रुपमा यातायात सञ्चालनको व्यवस्था मिलाइएको छ । सडक भासिएर एकतर्फी यातायात सञ्चालन हुँदा सवारीको चापले गर्दा जाम हुने गरेको छ । उक्त सडक भासिएर कार र मोटरसाइकल खस्दा दुइको मृत्यु भएको थियो ।










