गण्डकी प्रदेशका स्वास्थ्य सचिवद्वारा दमौली अस्पतालको अनुगमन

दमौली : गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालयका सचिव डा. विश्व बन्धु बगालेले दमौली अस्पतालको अनुगमन गरेका छन् । प्रदेश अस्पताल दमौली तनहुँका प्रमुख डा. परिवर्तन बरालले सचिव बगालेलाई अस्पतालको विषयमा जानकारी गराएका थिए ।
प्रमुख सचिव डा. बगाले अस्पतालको विकासक्रम र सुधारका लागि तत्कालीन आवश्यकताका बारेमा महत्वपूर्ण सुझावहरू प्रस्तुत गरेका थिए । अस्पतालको अनुगमनमा स्वास्थ्य मन्त्रालयका सचिवसँगै प्रदेश जन स्वास्थ्य कार्यालय दमौली तनहुँका निमित्त प्रमुख शंकर बाबु अधिकारी, प्रदेश आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. नारायण श्रेष्ठ, दमौली अस्पतालका विभागीय प्रमुखहरू र अस्पतालका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
दमौली अस्पतालका प्रमुख डा. बरालले अस्पतालको स्थापनादेखि हालसम्मको विकासक्रम उपलब्ध चिकित्सा सेवाका विषयमा जानकारी गराएका थिए । डा. बरालले अस्पतालका प्रमुख समस्याहरू र भावी योजनाहरूका बारेमा पनि प्रस्तुत गरेका थिए ।
अस्पतालले जनशक्ति अभाव, विशेष गरी स्त्रीरोग विशेषज्ञको कमी र इन्फ्रास्ट्रक्चर सुधारको आवश्यकता जस्ता समस्याबाट गुज्रनु परेको डा. बरालले प्रमुख सचिवलाई जानकारी गराएका थिए ।

सचिव डा. बगालेले अस्पतालको स्थिति र आवश्यक सुधारका लागि आवश्यक सुझाव दिंदै ‘खर्च नगरी साना र सरल उपायहरूको माध्यमबाट पनि अस्पताललाई सुधार्न गर्न सकिने हुँदा त्यस तर्फपनि ध्यान दिनुपर्ने सुझाएका थिए ।
सचिव डा. बगाले अस्पतालको जनशक्ति अभावको समस्या समाधान गर्नका लागि स्त्रीरोग विशेषज्ञको पदपूर्तिको प्रक्रिया अगाडि बढाउने, अस्पतालको स्तरोन्नतीका लागि पनि शीघ्र डिपिआर तयार गर्नका लागि पहल गर्ने बताउँदै अस्पतालका प्रमुखले अविलम्ब सुधारका लागि आवश्यक कदम चाल्ने आश्वासन पनि दिएका थिए ।
अस्पतालका प्रमुख डा. बरालले अस्पतालको आगामी योजनाहरूको बारेमा जानकारी दिँदै भने, ‘हामी अस्पतालको स्तरीकरणमा ध्यान दिन्छौं र नयाँ सेवा सुविधा उपलब्ध गराउने प्रयास गर्नेछौं ।’ उनले अस्पतालमा आवश्यक चिकित्सक र नर्सको पदपूर्ति गर्नका लागि पहल गर्ने, साथै, इन्फ्रास्ट्रक्चर सुधारका लागि प्रदेश सरकारसँग समन्वय गरेर आवश्यक बजेटको व्यवस्थापन गर्ने योजना सचिव डा. बगाले समक्ष राखेका थिए ।
डा. बगालेले अस्पतालको सुधार र योजनाहरूको लागि प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयबाट सक्दो सहयोग प्राप्त गर्नका लागि प्रतिबद्धता व्यक्त गरेका थिए । साथै, उनले अस्पतालका कर्मचारीहरूको कार्यप्रति सराहना गर्दै, यस प्रकारका अनुगमन कार्यक्रमहरू निरन्तर गर्दै जाने बताएका थिए ।










