मंगलबारदेखि फेरि हिउँ र पानी पर्ने सम्भावना

काठमाडौं । यही २० माघ मंगलबारदेखि फेरि हिउँ र पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले २० माघ मंगलबार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भेगमा मध्यम खालको हिउँ र पानी पर्ने सम्भावना रहेको जानकारी दिए ।

लुम्बिनी, बागमती र कोशी प्रदेशको पहाडी तथा हिमाली भेगका थोरै ठाउँमा पनि हल्का हिउँ र पानी पर्ने सम्भावना रहेको उनले बताए ।

त्यसैगरी सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका तराई भू-भागका एक दुई ठाउँमा छिटपुटदेखि हल्का खालको पानी पर्ने सम्भावना छ ।

सुदूरपश्चिमदेखि कोशी प्रदेशसम्मको हिमाली र उच्च पहाडी भेगमा मध्यम खालको हिउँ र पानी पर्ने स्थानलाई जल तथा मौसम विज्ञान विभागले पहेँलो रंगले संकेत गर्दै सावधानी अपनाउन भनेको छ ।

बुधबारदेखि मौसममा क्रमिक सुधार हुने

माघ महिनामा हिउँ र पानी पार्ने प्रणाली नेपाल भित्रिएको यो तेस्रो पटक हो । यसअघि ९ र १० माघ तथा १३ र १४ माघमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले हिउँ र पानी परेको थियो ।

९ र १० माघको तुलनामा १३ र १४ माघको प्रणाली केही शक्तिशाली थियो । तर २० माघदेखि प्रभाव देखिने पछिल्लो प्रणाली भने अघिल्लो पटकको भन्दा कमजोर ठानिएको छ ।

वरिष्ठ मौसमविद पौडेल भन्छन्, ‘हिउँ र पानी पार्ने यो प्रणाली अघिल्लो पटकको भन्दा केही कमजोर छ । त्यसैले अघिल्लो हप्ताको जस्तो धेरै हिउँ र पानी पर्ने सम्भावना भने देखिँदैन ।’

२१ माघ बुधबारको दिनदेखि भने मौसममा क्रमिक सुधार हुने वरिष्ठ मौसमविद् पौडेलले जानकारी दिए ।

नेपालमा केही वर्षयता हिउँदयाम सुक्खा हुँदै गएका छन् । १६ मंसिरदेखि १५ फागुन बीचको अवधिलाई हिउँद अवधि मानिन्छ । यो अवधिमा सरदर करिब ६० मिलिमिटरसम्म पानी पर्दछ । तर यस वर्ष १६ मंसिरदेखि १३ माघ बिहान ८:४५ बजेसम्म सरदर ६.०२ प्रतिशत अर्थात ३.६ मिलिमिटर मात्र वर्षा भएको जल तथा मौसम विज्ञान विभागको रेकर्ड छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker