तनहुँका पालिकालाई फोहोरमैला व्यवस्थापनको पाटो जटिल बन्दै
नारायण खड्का/तनहुँ
तनहुँका बजार क्षेत्रको फोहोरमैला व्यवस्थापन कार्य जटिल बन्दै जान थालेको छ । बढ्दो शहरीकरणसंगै शहरी क्षेत्रबाट निस्केको फोहोरमैला व्यवस्थापनका लागि स्थानीय तहले विभिन्न चुनौती र समस्या झेल्नुपर्ने अवस्था सृजना हुन थालेको छ ।
व्यवस्थित ल्याण्डफिल्ड साइड नहुँदा फोहोरमैला व्यवस्थापनमा समस्य हुन थालेको हो। बजार क्षेत्रका घर, तरकारी पसल, होटल तथा रेष्टुरेन्ट, अस्पतालबाट निस्कने कुहिने तथा नकुहिने फोहोर व्यवस्थापनका लागि स्थायी फोहोर व्यवस्थापन केन्द्र (ल्याण्डफिल्डसाइट) नहुँदा पालिकाले फोहोर खोला, नदी किनारा तथा जंगलमा फ्याल्दै आएका छन् । जथाभावि रुपमा फोहोर फ्याल्दा वातावरण प्रदुषण हुनुका साथै फोहोरको गन्ध नजिकका बस्तिसम्म पुग्ने गरेको छ ।
मुलुक संघीय संरचनामा गएसंगै फोहोरमैला व्यवस्थपनलाई नै मुख्य एजेण्डा बनाएर स्थानीय तहको निर्वाचनमा होमिएर निर्वाचित जनप्रतिनिधिहरुले यो समस्यकोे दीर्घकालिन समाधान गर्न सकेका छैनन् । बजारबाट निस्कने फोहोर उठाएर खोला किनारा तथा जंगलमा फ्याल्ने बाहेक केही हुन सकेको छैन । समयसमयमा फोहोर मैला व्यवस्थापन अध्ययन अवलोकनका नाममा लाखौं रुपैयाँ खर्च गर्ने गरिएपनि उपलब्धी सुन्य छन् ।
जिल्लाको सदरमुकाममा रहेको व्यास नगरपालिकाले पनि फोहोरमैला व्यवस्थापनको स्थायी समाधान निकाल्न सकेको छैन । फोहोरमैला व्यवस्थापनको पाटो व्यवस्थित बनाउने भन्दै विभिन्न जिल्लामा रहेका नमुनायोग्य ल्याण्डफिल्ड साइटको स्थलगत अध्ययन अवलोकन गरेपनि अहिलेसम्म स्थायी ल्याण्डफिल्ड साइट भने बनाउन सकेको छैन ।
नगरपालिकाले ल्याण्डफिल्ड साइट अध्यायन भ्रमणका नाममा करिव २ लाख २० हजार र ल्याण्डफिल्ड साइट र ट्रस्ट निर्माणमा करिव ९ लाख रुपैयाँ खर्च गरिसकेको छ । नगरपालिकाभित्र व्यवस्थित र स्थायी ल्याण्डफिल्ड साइट स्थापनाका लागि जनप्रतिनिधि र वन, वातावरण तथा सरसफाई शाखाका कार्मचारीहरु संयुक्त रुपमा ३ पटक विभिन्न स्थानको फोहोर व्यवस्थापन केन्द्रको भ्रमण तथा अवलोकनका लागि गए । तर हालसम्म पनि स्थायी ल्याण्डफिल्ड साइट निर्माण गर्न नसक्दा पाँच वर्षको अवधिमा फोहोर व्यवस्थापनका लागि ३ वटा ठाउँ फेरिसकेको शाखाका प्रमुख कृष्णराज घिमिरेले बताए ।
उनका अनुसार ०७४ पुस ४ गते ६४ जनाको सहभागीतामा वलिङ भ्रमणमा ४९ हजार ५ सय, ०६५ असार २९ र ३० गते ३४ जनाको सहभागीतामा हेटौडा भ्रमणमा एक लाख ३६ हजार ८ सय र ०७८ माघ ४ गते १६ जनाको सहभागीतामा पुनः वलिङ भ्रमणमा ३२ हजार पाँच सय रुपैयाँ खर्च गरेका छन् । नगरपालिका स्थापना भए यता फोहोर मैला व्यवस्थापनको अध्ययन अवलोकनका नाममा लाखौं रुपैयाँ खर्च भएपनि उपलब्धी भने शुन्य नै छ ।
नगरपालिका स्थापना भएदेखि व्यास-३ स्थित मादी नदी किनारको भतेरीमा फोहोर व्यवस्थापन गर्दै आइएको थियो । बाढीले भतेरीनै बगाएर लगेपछि व्यास-१ खकौलीमा व्यक्तिको जग्गा भाँडामा लिएर फोहोर व्यवस्थापन गरिएको थियो । घिमिरेले भने, ‘५/६ महिनामा त्यो ठाउँ पनि भरियो अहिले व्यास-१३ मा अस्थायी ल्याण्डफिल्ड साइट बनाएको छ र त्यही फोहोरको व्यवस्थापन गर्ने गरेका छौं ।’
उक्त ल्याण्डफिल्ड साइट निर्माणका लागि नगरपालिकाले ७ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ । सोही स्थानमा ट्रस्ट पनि निर्माण गरिएको र उक्त ट्रस्ट निर्माणको स्वीकृत रकम ३ लाख ४२ हजार रहेकोमा पहिलो किस्ता अन्तरगत २ लाख २९ हजार भुक्तानी भएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाबाट दैनिक करिव १२ टन फोहोर निस्कने गर्छ । जसमध्ये हप्तामा तीन टन कुहिने फोहोर निस्कन्छ । प्रमुख घिमिरेले भने, ‘बढ्दो सहरीकरणका कारण पछिल्लो समय नगरपालिकाबाट धेरै फोहोर उत्पादन हुँदा यसको व्यवस्थापनको पाटो जटिल बन्दै गएको छ ।’

यस्तै, फोहोरमैलाको स्थायी व्यवस्थापनका लागि जग्गाको पहिचान गरिसकिएको र वातावरण परीक्षणको प्रक्रिया अगाडि बढाइएको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि नागिलाले बताए । उनले भने, ‘व्यास-१० स्थित मंगलीग्रैरोको करिव ३० रोपनी जग्गा छनोट गरिएको छ । वातावरणीय पक्षको परिक्षण गरेपछिको नतिजाले त्यहाँ स्थायी ल्याण्डफिल्ड बनाउन उपयुक्त छ कि नाई भन्ने बताउछ ।’
फोहोर मैला व्यवस्थापनका लागि खाल्डो खोज्दै हिड्दा आजसम्म फोहोर मैला व्यवस्थापनका लागि स्थायी ल्याण्डफिल्ड साइट बनाउन नसकिएको व्यासका नगरप्रमुख बैकुण्ठ न्यौपाने बताउँछन् । ‘ल्याण्डफिल्ड साइट निर्माण गर्न नसकेपनि नगरक्षेत्रबाट निस्कने फोहोर कुहिने र नकुहिने गरी वर्गिकरण गर्न सफल भयौं’, उनले भने, ‘व्यास-१० भतेरीमा कुहिने फोहोरबाट बायोग्यास पनि निकालिसकेका छौं। अब चाडैनै स्थायी ल्याण्डफिल्ड साइट पनि निर्माण गर्ने छौं ।’
नगरपालिकाले कुहिने फोहोर व्यवस्थापनका लागि २०७७/०७८ मा करिव ५ लाख १२ हजार रुपैयाँ लागतमा वायोग्यास प्लान्ट निर्माण गरेको छ । उक्त प्लान्टबाट बायोग्यास निकालेर सोही स्थानमा रहेको गौं संरक्षण केन्द्र (गौशाला)मा प्रयोग गरिएको छ । कुहिने फोहोर व्यवस्थापनकै लागि गत आर्थिक वर्ष व्यास-३ स्थित मिनि बत्सालामा पनि करिव ४ लाख २० हजार रुपैयाँको लागतमा अर्को वायोग्यास प्लान्ट निर्माण गरिएको छ ।
यस्तै, बन्दिपुर गाउँपालिका भित्रबाट निस्कने फोहोर वडा नम्बर १ कुखुरीपानीस्थित जंगल क्षेत्रमा लगेर व्यवस्थित गर्ने गरेको फोहोरमैला व्यवस्थापन शाखाका कर्मचारी काशिनाथ भट्टराइले बताए । बजारक्षेत्रबाट फोहोर उठाउनका लागि एउटा ट्याक्टर र ५ जना कर्मचारी राखिएको उनले बताए ।
‘दैनिकजसो ३ देखि ४ ट्याक्टर फोहोर गाउँपालिकाबाट निस्कन्छ’, उनले भने, ‘फोहोर व्यवस्थापन जंगल र संगैको सार्वजनिक जग्गामा गर्ने हुँदा त्यहाँसम्म पुग्ने सडक कालोपत्रे पनि छैन । त्यसैले पानी परेको समयमा त्यहाँ फोहोर व्यवस्थापन गर्न मुस्किल हुन्छ ।’ गाउँपालिकाले फोहोर नउठाएको समयमा गाउँबासीले चुँदी खोला किनारामा फोहोर फ्याक्दै आएका छन् ।
राजमार्गसंगै जोडिएको अर्को नगरपालिका शुक्लागण्डकीले पनि हालसम्म व्यवस्थित स्थायी ल्याण्डफिल्डसाइड बनाउन सकेको छैन । यस पालिकाको वडा नम्बर २ देखि ८ बाट दैनिक करिव ८ टन फोहोर निस्कन्छ । बजार क्षेत्रबाट निस्किएको फोहोर वडा नम्बर २ स्थित सेती नदी नजिकै रहेको सार्वजनिक जग्गा र वडा नम्बर ५ स्थित सानो खोल्सामा व्यवस्थित गर्दै आएको नगरपालिकाका वन, वातावरण तथा फोहोर मैला व्यवस्थापन शाखाका प्रमुख राजेन्द्र सोतीले बताए ।
नगरपालिका क्षेत्रभित्रबाट निस्कने फोहोरको स्थायी व्यवस्थापनका लागि वडा नम्बर ५ झरौटामा फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण गरिएको उनले बताए । सोतीले भने, ‘करिव ३ वर्ष भयो झरौटामा केन्द्र स्थापना गरेको तर अझैपनि सञ्चालनमा आउन सकेको छैन । उक्त केन्द्रमा भवन बनाइएको छ, केन्द्रसम्म पुग्ने बाटो पनि निर्माण गरिएको छ । अब चाडैन केन्द्र सञ्चालनमा ल्याउने छौं ।’ फोहोरमैला व्यवस्थापनका लागि स्थान पहिचान, अध्ययन, भवन निर्माण लगायतका कामका लागि २ करोड रुपैयाँ बजेट खर्च भएको उनले बताए ।
यस्तै, गण्डकी प्रदेशको नाका आँबुखैरेनी गाउँपालिकाले फोहोर मैला व्यवस्थापनको लागि स्वच्छ वातावरण नेपालसंग सम्झौता गरेको थियो । गत असार मसान्तबाट सम्झौता सक्किएपछि भने नविकरण गर्ने सोचमा नरहेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमनले बताए । उनले भने, ‘स्वच्छ वातावरण नेपालले फोहोरबाट ग्यास, मल उत्पादन गर्ने, त्यहाँको बगैचाको संरक्षण गर्ने लगायतका सम्झौता भएकोमा सम्झौता अनुसारको काम नभएका कारण अब गाउँपालिकाले आफै फोहोर व्यवस्थापन गरी फोहोरबाट मोहर कमाउने विषयमा छलफल हुँदै छ ।’ उनका अनुसार फोहोरबाट बाषिर्क १० लाख रुपैयाँ बचत गर्ने लक्ष्य गाउँपालिकाको छ ।
गाउँपालिकाले वडा नम्बर ३ मा व्यक्तिको ६ रोपनी जग्गा भाँडामा लिएर फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण गरेको छ । उक्त जग्गाको बार्षिक ६२ हजार रुपैयाँमा भाँडामा लिइएको सुचना अधिकारी तेजन गैह्रेले बताए । उक्त पालिकाबाट प्रत्येक दिन साढे २ टनको हाराहारीमा फोहोर निस्कने गर्छ ।
त्यस्तै, भिमाद नगरपालिकाले पनि हालसम्म कुनैपनि स्थायी ल्याण्डफिल्ड साइड निर्माण गर्न सकेको छैन । उपयुक्त जग्गा नपाउँदा स्थायी रुपमा फोहोर व्यवस्थापन गर्न नसकिएको नगरपालिकाकी उपप्रमुख सारादा खनालले बताइन् । नगरपालिका भित्रबाट निस्कने फोहोर भिमाद-६ साढेहुलस्थित सेती खोला किनारको जग्गामा व्यवस्थित गर्ने गरेको उनले बताइन् ।
‘बजारबाट निस्कने फोहोरका कारण उक्त स्थान भरिसकेको छ । बढ्दो बजारीकरण र जनसंख्याका कारण बजार क्षेत्रबाट निस्कने फोहर अब त्यस ठाउँमा व्यवस्थापन गर्न सकिदैन’, उनले भनिन्, ‘स्थायी रुपमा फोहोर व्यवस्थापनका उपयहरुका विषयमा छलफल हुँदै छ ।’
व्यवस्थित ल्याण्डफिल्ड साइट नहुँदा घरबाट निस्कने फोहोरमैला व्यवस्थापन जटिल बन्दै गएको व्यास-१ हाइस्कुलटारकी पुजा थापा बताउँछिन् । उनले भनिन्, ‘कहिलेकाही ४/५ दिनसम्म फोहोर नउठ्दा आफ्नै घरमा बसिनसक्नु हुन्छ ।’ फोहोर व्यवस्थापनका लागि स्थायी ल्याडफिल्ड साइट नहुँदा समस्य हुनेे थापाले बताइन् ।
‘सरसफाईका नाममा नगरपालिकाले चर्को कर लिने गरेको छ, तर आजको दिनसम्म स्थायी ल्याण्डफिल्ड साइट निर्माण गर्न सकेको छैन’, उनले भनिन्, ‘भिरालो र खोलाका कुनाकाप्चामा फोहोर फाल्दै आएको छ । एक ठाउँ भरिएपछि अर्को ठाउँ खोज्दै हिड्नुपर्ने बाँध्यता नगरपालिकाको छ । फोहोर मैला व्यवस्थापनका लागि अब नगरबासीले नै आवश्यक पहल गर्नुपर्ने अवस्था आएको छ ।’
अहिले स्थायी रुपमा फोहोर व्यवस्थापन गरिएपनि भविष्यमा यो सम्भव नभएको शुक्लागण्डकी-५ का लक्ष्मण पुरी बताउँछन् । ‘नगरपालिकाले बजारबाट निस्कने फोहोर उठाएर एक ठाउँमा लगेर फ्याक्ने काममात्र गरेको छ’, उनले भने, ‘दैनिक ग्रामीण क्षेत्रबाट बजार क्षेत्रमा बसाइसराइ बढ्दो छ, चाँडै नै फोहोर व्यवस्थापनका लागि स्थायी सामाधान ननिकाले अवस्था जटिल हुन्छ ।’ जनताको स्वस्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने फोहोरमैला व्यवस्थापनका लागि स्थायी ल्याण्डफिल्डासाइट बन्न नसक्नु नगरपालिकाकै कमजोरी रहेको एमाले तनहुँका सहसचिव प्रदिपराज अधिकारीले बताए ।










