भिमाद बचत तथा ऋण सहकारीद्वारा बाढीपीडितलई आर्थिक सहयोग

भिमाद : तनहुँको भिमाद नगरपालिकास्थित भिमाद बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २०औँ स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाउँदै बाढीपीडित तथा प्रभावित परिवारको सहयोगका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ । संस्थाले स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरेको जनाएको छ ।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष काजिमान श्रेष्ठले र मुख्य प्रबन्धक सञ्जीव श्रेष्ठले रसुवाको भोटेकोशी नदीमा चीनको तिब्बत क्षेत्रबाट आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत त्रिशूली नदी तटीय क्षेत्रका विभिन्न स्थानमा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका थिए ।
वक्ताहरुले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका थिए भने, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद्को यस कठिन घडीमा पीडित तथा प्रभावित परिवारको सहयोगका लागि सबै पक्षबाट आवश्यक सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिए ।
संस्थाले विपद्बाट प्रभावित नागरिकको पीडा कम गर्न राज्य, स्थानीय तह, निजी क्षेत्र, सहकारी, संघसंस्था र सर्वसाधारण सबैको साझा दायित्व रहेको जनाएको छ। २०औँ स्थापना दिवसको अवसरमा गरिएको सहयोगले सहकारी संस्था बचत तथा ऋणको कारोबारमा मात्र सीमित नभई सामाजिक उत्तरदायित्व निर्वाहमा समेत सक्रिय रहेको सन्देश दिएको संस्थाले जनाएको छ ।










