तनहुँका ५३ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि, स्वास्थ्य सेवा प्रभावित
भञ्ज्याङ न्यूज

तनहुँका ५३ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय तनहुँका अनुसार जिल्लाका ९ वटा पालिकामा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । पुस २६ गतेदेखि यता जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीमा संक्रमण देखिदा उपचार सेवा समेत प्रभावित हुन थालेको छ ।
गत बुधबार यता भिमाद नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत २३ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि स्वास्थ्य सेवा प्रभावित भएको छ । स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सक, नर्सिङ कर्मचारी तथा कार्यालयका अन्य कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कोरोनाको एन्टिजेन प्रयोगशाला र प्रसुती सेवा बाहेक सम्पूर्ण सेवा बन्द गरिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख राम बहादुर नेपालीले जानकारी गराए ।
प्रमुख नेपालीका अनुसार केन्द्रका चिकित्सक, स्टाफ नर्स र अनमी, फार्मेसी सहायक, रेडियोग्राफर, कार्यालय सहयोगी र अहेवमा संक्रमण पुष्टि भएको छ । संक्रमितहरुमा ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने र स्वाद हराउने जस्ता लक्षण देखिएको बताइएको छ ।
यस्तै, जिल्लाको घिरिङ गाउँपालिकाका ४, शुक्लागण्डकी नगरपालिकाका ६, म्याग्दे गाउँपालिकाका २, व्यास नगरपालिकाका ४, बन्दिपुर गाउँपालिकाका ३, भानु नगरपालिकाका ४, आँवुखैरेनी गाउँपालिकाका ३ र देवघाट गाउँपालिकाका ४ जना स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख नेपालीले जानकारी गराए ।
स्वास्थ्य कार्यालय तनहुँले सार्वजनिक गरेको विवरण अनुसार शुक्रबार जिल्ला ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यी सहित जिल्लामा ३३१ जना सक्रिय संक्रमित रहेका र सबै संक्रमितहरु होम आइसोलेसनमा बसेको खोप सुपरभाइजर अधिकारीले बताए ।
स्वास्थ्य कार्यालय तनहुँको विवरण अनुसार हालसम्म ७ हजार ४०३ जनाको पिसिआर र ८ हजार २८५ जनाको एन्टिजेन प्रविधिबाट गरिएको कोरोना परीक्षणमा ५ हजार ७१२ जनमा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ५ हजार २५१ जना निको भएका छन भने वैशाख १ गते यता १३० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
यस्तै, जिल्लामा जोन्सोन एण्ड जोन्सोन, मोडोर्ना सहित पहिलो मात्राको खोप २ लाख ४४ हजार ५७५ जनाले लगाएका छन् । जोन्सोन एण्ड जोन्सोन सहित १ लाख ८८ हजार ४७ जनाले पुरा मात्रको खोप लगाएको कार्यालयका खोप सुपरभाइजर अधिकारीले जानकारी गराए ।
जिल्लामा कोरोना संक्रमितहरुको उपचार तथा व्यवस्थापनका लागि १२ वटा अस्पताल र आइसोलेसन सेन्टर तयारी अवस्थामा राखिएको छ । यी आइसोलेशनमा १७० बेड, ७ वटा आईसियु, ४ वटा भेन्टिलेटर, ३४६ अक्सिजन सिलिन्डर, २९ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
यस्तै, जिल्लाको सदरमुकाम दमौली स्थित दमौली अस्पताल र शुक्लागण्डकी नगरपालिका-५ वेलचौतला स्थित जिपी कोइरला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा अक्सिजन प्लान्ट निर्माण गरी अक्सिजन उत्पादन सुरु गरिएको छ ।