व्यास नगरपालिका : उत्पादनमुखी र दीर्घकालीन योजनामा केन्द्रित बजेट ल्याउन सुझाव

व्यास मूर्ति, क्रिकेट मैदानदेखि पर्यटन र सांस्कृतिक संरक्षणसम्मका योजना समेट्न आग्रह

दमौली : तनहुँको व्यास नगरपालिकाले आगामि आर्थिक वर्षको बजेट तथा योजना तर्जुमा सम्बन्धी परामर्श बैठक सम्पन्न गरेको छ । बैठकमा प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेले नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट उत्पादनमुखी, जनमुखी र दीर्घकालीन सोचसहित ल्याउनुपर्ने सुझाएका छन् ।
व्यास नगरपालिकाले शुक्रबार आयोजना गरेको बैठकमा बोल्दै सांसद न्यौपानेले जनताको करबाट संकलित रकम जनहितमै खर्च हुनुपर्ने उल्लेख गरे । उनले खर्च धान्ने मात्रै नभई नगरको भविष्य निर्माण गर्ने खालको योजनामुखी बजेट आवश्यक रहेको बताए ।
‘व्यास नगरपालिकाले आफ्नै ब्राण्डका उत्पादन विकास गर्नुपर्छ’, उनले भने, ‘टुक्रे विकासको अन्त्य गरेर ठूला तथा प्रभावकारी योजनामा लगानी गर्न आवश्यक छ ।’ उनले बजेट जनमुखी, उत्पादनमुखी र पारदर्शी हुनुपर्नेमा जोड दिँदै स्थानीय उत्पादन, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि बढाउने योजनालाई प्राथमिकतामा राख्न आग्रह गरे ।
उक्त बैठकमा डा. जगदीशचन्द्र पोख्रेलले दीर्घकालीन योजनामा आधारित भएर बजेट लगानी गर्नुपर्ने धारणा व्यक्त गरे । उनका अनुसार तत्काल लोकप्रिय देखिने तर दीर्घकालीन प्रतिफल नदिने योजनाभन्दा नगरको समग्र विकासमा योगदान गर्ने योजनामा केन्द्रित हुन आवश्यक छ ।
नगर प्रमुख वैकुण्ठ न्यौपानेले परामर्श बैठकमा आएका सबै सुझावलाई मनन गर्दै आगामी बजेट निर्माण गरिने बताए । उनले नगरको आवश्यकता, जनताको अपेक्षा र दीर्घकालीन विकासलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम तयार गरिने प्रतिबद्धता जनाए ।

व्यास मूर्ति निर्माणलाई तीव्रता दिन आग्रह

यस्तै, व्यास प्रज्ञा प्रतिष्ठान कला संस्कृति विभागका संयोजक देवि बहादुर बस्न्यातले नगरको पहिचानसँग जोडिएका धार्मिक, सांस्कृतिक तथा पूर्वाधार योजनाहरू आगामी बजेटमा समावेश गर्न आग्रह गरेका छन् ।
उनले नगरको गौरवको आयोजनाका रूपमा अघि सारिएको व्यास मूर्ति निर्माण कार्यलाई उच्च प्राथमिकता दिन आग्रह गरे । उनले आगामी भदौ महिनाभित्र आधार संरचनाको एकतला निर्माण सम्पन्न गरी १०८ फिट अग्लो व्यास मूर्ति निर्माण कार्य अगाडि बढाउनुपर्ने सुझाएका छन् ।

ऐतिहासिक सम्पदा र पर्यटन विकासमा जोड

बस्न्यातले नगरभित्र रहेका पुरातात्विक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, संवद्र्धन र प्रचारप्रसारमा विशेष ध्यान दिनुपर्ने उल्लेख गरे । धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटनको सम्भावना बोकेका क्षेत्रहरूको पहिचान गरी योजनाबद्ध रूपमा पर्यटन पूर्वाधार विकास गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो ।
उनले पर्यटन क्षेत्रको दीर्घकालीन विकासले नगरको आर्थिक गतिविधि बढाउने, स्थानीय रोजगारी सिर्जना गर्ने र नगरको पहिचानलाई राष्ट्रियस्तरमा स्थापित गर्न सहयोग पुग्ने धारणा व्यक्त गरे ।

क्रिकेट मैदान निर्माणको प्रस्ताव

विश्वभर क्रिकेट खेलप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै व्यास–११ फराकचौरको कोलढुंगा क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्न तर्फ ध्यानदिनुपर्ने उनले सामाजिक सञ्जाल मार्फत नगरपालिकालाई आग्रह गरेका छन्।
स्थानीय खेलकुद विकाससँगै खेल पर्यटन प्रवद्र्धनका लागि समेत यस्तो पूर्वाधार आवश्यक रहेको सहभागीहरूको भनाइ थियो । उनीहरूले आधुनिक खेल मैदान निर्माणले युवाहरूलाई खेलतर्फ आकर्षित गर्नुका साथै राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

शिक्षा, रोजगार र पूर्वाधार विकासमा प्राथमिकता

शिक्षा, सिंचाइ, रोजगार तथा यातायात पहुँच विस्तारलाई पनि आगामी बजेटको प्रमुख प्राथमिकतामा राख्नुपर्ने सुझाव प्रस्तुत गर्दै बैठकमा सहभागिहरुले ग्रामीण क्षेत्रसम्म सडक पहुँच, कृषि उत्पादन वृद्धि, सिंचाइ विस्तार तथा युवालाई स्वरोजगारसँग जोड्ने योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने धारणा राखिएको थियो ।

प्रादेशिक पूर्वाधार विकास क्षेत्र घोषणा गर्न माग

स्थानीय तहको सन्तुलित विकासका लागि वडा विभाजनअनुसार विभिन्न क्षेत्रलाई प्रादेशिक पूर्वाधार विकास क्षेत्र घोषणा गर्नुपर्ने प्रस्ताव समेत अघि सारिएको छ ।
प्रस्तावअनुसार व्यास–६, ७, ८ र ९ लाई ‘बखान प्रादेशिक पूर्वाधार विकास क्षेत्र’, व्यास–१ देखि ५ सम्मलाई ‘व्यास प्रादेशिक पूर्वाधार विकास क्षेत्र’, व्यास–१०, ११ र १२ लाई ‘तनहुँ प्रादेशिक पूर्वाधार विकास क्षेत्र’ तथा व्यास–१३ र १४ लाई ‘मु–कुलुङ प्रादेशिक पूर्वाधार विकास क्षेत्र’ घोषणा गर्न सुझाव दिइएको छ ।

विभूति तथा सहिद ग्राम निर्माणको प्रस्ताव

यसैबीच राष्ट्रिय तथा स्थानीय विभूति एवं सहिदहरूको सम्मानमा ‘विभूति तथा सहिद ग्राम’ निर्माण तथा व्यास, भानु र बखान क्षेत्रलाई समेटेर ‘त्रिवेणी पार्क’ निर्माण कार्यक्रम अघि बढाउनुपर्ने माग समेत गरिएको छ । साथै व्यास नदीको मुहान रामचे क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने आवाज पनि उठाइएको थियो । सहभागीहरूले यी योजनाहरूले व्यास नगरपालिकाको पहिचान, पर्यटन प्रवर्द्धन, खेलकुद विकास तथा समग्र आर्थिक समृद्धिमा दीर्घकालीन योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker