५० श्ययाको आइसोलेशन कक्षा जिपीलाई हस्तान्तरण
भञ्ज्याङ समाचारदाता (दुलेगौंडा)
तनहुँको शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारास्थित जिपी कोइाराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र हाताभित्र निर्माण गरिएको आइसोलेशन कक्ष भवन केन्द्रलाई हस्तान्तरण गरिएको छ । नेपाली राजनीतिका शिखर पुरुष पूर्वप्रधानमन्त्री स्व गिरीजाप्रसाद कोइरालाको ११औँ स्मृति दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा उक्त भवन उपचार केन्द्रलाई हस्तान्तरण गरिएको हो ।
जिल्लाका दशवटै स्थानीय तहको लागत सहभागितामा निर्माण गरिएको भवनको साँचो व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ, उपप्रमुख सविता रसाइली, भीमाद नगरपालिकाका उपप्रमुख शारदा खनाल, प्रमुख जिल्ला अधिकारी सागर आचार्यले अस्पताल सञ्चालक समितिका सदस्य राम भण्डारीलाई हस्तान्तरण गरेका थिए । लगत्तै अस्पताल सञ्चालक समितिका सदस्य भण्डारीले उक्त साँचो कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।
कोरोना महामारीका बेला संक्रमितलाई उपचारको व्यवस्था मिलाउन उक्त भवन निर्माण शुरु गरिएको थियो । भवन निर्माण केही समय अगाडि नै सम्पन्न भए पनि कोइरालाको स्मृति दिवसका अवसरमा हस्तान्तरण गर्ने योजना बनेको थियो ।
करिब ७२ लाख रुपैयाँको लागतमा उपभोक्ता समितिमार्फ निर्माण सम्पन्न गरिएको भवनमा शुक्लागण्डकी नगरपालिकाले १४ प्रतिशत, व्यास, भीमाद र भानु नगरपालिकाले १२/१२ प्रतिशत लागत सहभागिता रहेको छ ।
त्यस्तै देवघाट गाउँपालिकाले पाँच प्रतिशत, घिरिङ, म्याग्दे, ऋषिङ, आँबुखैरेनी र बन्दीपुर गाउँपालिकाले नौ/नौ प्रतिशत लागत सहभागिता मा ५० श्यया क्षमताको निर्माण गरिएको अस्पतालका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी गराए ।
उक्त हस्तान्तरण कार्यक्रममा शुक्लागण्डकी नगर प्रमुख किसान गुरुङले सहमति, सहकार्य र सहअस्तित्वबाट सोचेको लक्ष्य पूरा गर्न सकिने जनाउँदै तनहुँका स्थानीय तहबीच सदैव उक्त सहकार्य हुनुपर्नेमा जोड दिए । ‘एउटा पालिकाको प्रयासले मात्रै भवन बनाउन सम्भव थिएन, सबै पालिकाको सहकार्यमा भवन निर्माण गर्न सक्यौं”, उनले भने, ‘यस्तो सहकार्य भविष्यमा पनि भइरहनेछ।’
व्यासका नगर प्रमुख वैकुण्ठ न्यौपानेले कोभिड संकटमा जिपी कोइराला उपचार केन्द्रले पुर्याएको योगदानले यसको गरिमा थप उँचो भएको बताए । उपचार केन्द्रको सुधार, स्तरीकरणमा पनि स्थानीय तहको सदैव सहयोग रहने उल्लेख गर्दै न्यौपानेले भने, ‘शुरुमा कुनै पनि अस्पताल कोभिड बिरामी राख्न तयार भएनन्, तर जिपीले देखाएको सक्रियताले कोभिड बिरामीको उपचार गर्न सहज भयो ।’
प्रमुख जिल्ला अधिकारी सागर आचार्यले भवन अभावमा नियमित सेवा बन्द गरेर पनि उपचार केन्द्रले कोभिड संक्रमितको उपचारमा देखाएको तत्परता सराहनीय रहेको बताए । उपचार केन्द्रका सञ्चालक समिति सदस्य भण्डारीले भौतिक पूर्वाधारको अभावमा पनि उपचार केन्द्रले कोभिड बिरामीको उपचारमा सम्भव भएसम्मका सबै उपचार गरेको बताए । ‘अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय सेवा प्रवाहका लागि जिपी सदैव प्रतिबद्ध छ’, उनले भने, ‘त्यसका लागि स्थानीय तहसँग सहकार्य गरेर अगाडी बढ्छौँ ।’
कार्यक्रममा सहभागीले स्व कोइरालाको योगदान भुल्न नहुनेमा जोड दिएका थिए । शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउन कोइरालाले पुर्याएको योगदान चीरस्थायी भएर रहिरहने वक्ताहरूको जोड दिएका थिए ।
शुक्लागण्डकी नगरपालिकाले १४ लाख, व्यास, भानु, भीमाद नगरपालिकाले १२/१२ लाख रुपैयाँ, म्याग्दे, आँबुखैरेनी, बन्दीपुर, ऋषिङ र घिरिङ गाउँपालिकाले ९/९ लाख रुपैयाँ र देवघाट गाउँपालिकाले पाँच लाख रुपैयाँ लागत सहभागिता रहने निर्णय गरिएको थियो । उक्त निर्णय अनुसार व्यास, भिमाद, घिरिङ, आँवुखैरेनीले निर्णयानुसारको रकम उपलब्ध गराएका छन् भने म्याग्देले ३ लाख, देवघाटले ३ लाख ४५ हजार रुपैयाँ मात्र उपलब्ध गराएका र शुक्लागण्डकीले सम्पूर्ण बजेट व्यहोरेर भवन निर्माण कार्य सम्पन्न गरेको नगरपालिकाका सुचना अधिकारी लक्ष्मण लम्सालले जानकारी दिए । अन्य पालिकाहरुबाट पनि बजेट आउने क्रममा रहेको बताए ।










