हर्षपुरको रोमहर्षण

राजेन्द्रमान डंगोल

नियात्रा

सम्वत २०७७ चैत ११ गते ।

‘काठमाडौँस्थित लैनचौरको डाइनेस्टी रेस्टुरेन्ट हाम्रो स्टार्टिङ प्वाइन्ट । ब्रेकफास्ट गरेर बिहान सात बजेसम्ममा यात्रा सुरु गरिसक्नुपर्छ । नत्र हर्षपुर पुग्न ढिला हुन्छ । दमौलीको व्यास गुफा घुमाउने योजना पनि बनाएको छु । साढे छ बजे नै आइपुग्नू है !’

अघिल्लो साँझ विनयपूर्ण आग्रह गरेका थिए आयोजक संस्था ‘तनहुँ पर्यटन प्रवद्र्धन समाज’का अध्यक्ष गुप्त भण्डारीले । उनकै मुताविक बेलैमा पुगिसकेको थिएँ । तर सात बज्दासम्म सातजना मात्र आइपुगेका थिए ।

‘आफूमात्रै हस्याँङ र फस्याँङ गर्दै आइपुगेर के गर्नु ? अरू नआइपुगेपछि ! सबैजना आइपुग्दा हिँड्ने बेला आठ बज्ने त होला नि !’, भनिरहेको थियो मनले । आखिर भयो पनि त्यस्तै । समयको महत्वलाई बुझ्न नसक्नु हामी नेपाली विशेषता !

हर्षपुर डाँडागाउँको होम–स्टे अवलोकनका लागि तनहुँतर्फ लाग्ने सिलसिलामा थियौँ हामी ।

‘यात्रा सफल रहोस् !’, पूर्वमन्त्री शंकर भण्डारीले हामी सहभागीलाई टीका र खादा लगाइदिँदै भने । उनी तनहुँका काँग्रेसी नेता । हामीलाई विदाइ गर्न त्यहाँसम्म आइपुगेका थिए । मैले पहिलो पटक उनलाई अघिल्लो महिना कीर्तिपुरमा सम्पन्न ‘तनहुँ पर्यटन प्रबद्र्धन समाज’कै छैटौँ वार्षिक साधारणसभाको अवसरमा प्रमुख अतिथिको आसनमा देखेको हुँ । विनोदप्रिय मुखाकृति । सुगठित शरीर । आकर्षक देखिन्थ्यो उनको व्यक्तित्व । जति शालीन, सरल र मृदुल देखिन्छन् पूर्वमन्त्री भण्डारी, त्यति नै निष्ठा, समानुभूति, उत्तरदायी भावना, लचिलोपन र सकारात्मकता जस्ता विशेषताहरू रहेछन् उनमा । नेपालको नेतामा पनि यो गुण ? अचम्मित भएथेँ म ।

कोभिड–१९ को अर्थमा पर्यटन व्यवसायमा प्रतिकूल असर पर्नेगरी राज्यले निर्मम ढङ्गले लगाएको लगाम खुकुलो पार्न पर्यटन व्यवसायीले त्यो मञ्चमा उठाएका मागहरूलाई सम्बोधन गर्न-गराउन आफ्नो तर्फबाट तत्कालै कार्यबाहीमा उत्रिए उनी । माग पुरा हुनु/नहुनु अर्कै कुरा तर व्यवसायीका दुखेसोहरू सुन्नेबित्तिकै जनाएको प्रतिकृया देख्दा उनी साँच्चै एउटा आदर्श नेता भएको अनुभूत गरेथेँ मैले । सायद यस्तै महसुस गरेका थिए होलान्, टानका निवर्तमान अध्यक्ष नवराज दाहालले पनि ।

र, त पूर्वमन्त्रीको प्रशंसा गर्ने क्रममा उनी भन्दै थिए, ‘म काँग्रेस हुन त सकिनँ तर तपाईं ‘काँग्रेस’ भएर पनि हामीलाई जे कुराको अनुभूति गराउनु भयो, त्यसका लागि हामी तपाईंप्रति कृतज्ञ छौँ ।’

मान्छेमा विचार फरक हुन सक्ला तर राम्रो कामलाई ‘राम्रो’ भनेर मुक्तकण्ठले प्रशंसा गर्न सक्नुपर्छ हामीले । कम्तीमा एउटा पर्यटन व्यवसायीले त्यो साहस गरे ।

०००

‘हर्षपुर–डाँडागाउँ होम–स्टे अवलोकन भ्रमण’ लेखिएको ब्यानर टाँगिएको छ बसको अगाडि । आयोजक टोलीलगायत टान, नारा, टीटीडीसी र जीटिनका प्रतिनिधि, पर्यटन व्यवसायी, पत्रकार र छविकार गरी अठ्ठाईस जना बोकेर पृथ्वी राजमार्गमा बतासझैँ बेगिलो गतिमा बत्तिरहेछ बस । बसको अग्रभागमा छन्, पर्यटन व्यवसायी बोधराज भण्डारी, टान कोषाध्यक्ष ऋतु ग्याम्दान र नारा कोषाध्यक्ष रीता अधिकारी । बसको ढोकासँगैको सिटमा बसेका थिए, पत्रकारद्वय संगीता भट्टराई र वर्षा सिवाकोटी । गतसाल माघको अन्त्यतिर उनीहरूसँगै मैले सिन्धुली यात्रा गरेको थिएँ । उनीहरू भएपछि त वातावरण नै रमाइलो ! पहिले सुरु हुन्छ अन्ताक्षरी गायन र त्यसपछि नाच । बसको चालसँगै लोक गीतको भाकामा कम्मर मर्काउन थाल्छन्, बोधराज भण्डारी र केशव श्रेष्ठ । उनीहरू अभिनेता, बाँकी हामी सबै दर्शक ।

मुग्लिनको मस्र्याङ्दी नदीको पुल पार गरेपछि सुरु हुन्छ तनहुँको भूगोल । पराशर ऋषि र महर्षी वेदव्यासको तपोभूमि । आदिकवि भानुभक्त आचार्यको जन्मस्थल । दक्षिण एसियाको सर्वाधिक ठूलो गुफा भएको ठाउँ । छिम्केश्वरी, मिर्लुङकोट, मानहुँकोट, डङ्कनजस्ता डाँडाहरू, सञ्जुर, तनहुँसुर र बन्दीपुुरजस्ता पुराना बस्तीहरू । अनेक चिनारी छन् तनहुँको ।

बसले आबुखैरेनी पु-याउँछ । सत्रसय फाँटमा पेटको थैलो भरेर कुलेलाम ठोकेको निमेषभरमै टुप्लुकिन्छ डुम्रेबजार ।

म दोस्रो पटक यात्रा गर्दै थिएँ तनहुँ । तीन वर्षअघि ‘त्रिशूली वाङ्मय प्रतिष्ठान’ले आयोजना गरेको रामकोट, तनहुँको दुईदिने साहित्य यात्रालाई ‘तनहुँ पर्यटन प्रवद्र्धन समाज’ले नै सहजिकरण गरेको थियो । गुप्त भण्डारी, आशुतोष प्रधान र शेखर थापाले ठूलै गुन लगाएका थिए ‘प्रतिष्ठान’लाई । ‘तनहुँ पर्यटन प्रवद्र्धन समाज’को नारा ‘साहित्यका लागि पर्यटन’ र ‘त्रिशूली वाङ्मय प्रतिष्ठान’को नारा ‘पर्यटनका लागि साहित्य’ । दुवै संस्थाका एउटै स्वार्थ– पर्यटन प्रवद्र्धन । नत्र साहित्य यात्राको माध्यमबाट पर्यटन प्रवद्र्धन हुनसक्छ भन्ने दह्रिलो दसी कहाँ नै पेश गर्न सक्थ्यौँ र हामीले !

बसमा हुँइकिँदै गर्दा उही यात्राको फ्ल्यासब्याकले एकाग्र हुन पुग्छु म–

२०७५ फागुन १७ गतेको दिन ।

उबेला डुम्रेबाट १,०३० मिटरको उचाइमा अवस्थित बन्दीपुर उक्लेका थिए रे कवि राजा महेन्द्र । डुम्रेबाट बस उकालिन थालेपछि गुन्गुनाएथेँ मैले उनकै गीत–

‘बन्दीपुरे उकाली लामो, मस्र्याङ्दी डुङ्गाले तरेर …’

आहा, ‘पहाडकी रानी’ उपमा पाएको त्यो सुन्दर नेवार बस्ती ! तेलिया इँटा र ढुङ्गा–माटाले बनेका भक्तपुरे शैलीका दायाँ–बायाँका घरहरू । बीचमा ढुँगा छापिएको । फेरि झ्याल–ढोकाहरू उत्तिकै कलात्मक । घरैपिच्छे मुकुराइरहेका बेगमकली । क्षितिजबाट मुस्कान फ्याँक्दारहेछन्– धौलागिरी, माछापुच्छे, अन्नपूर्णा, मनास्लु, गणेशहिमाल र लाङटाङ हिमालहरूले ।

बन्दीपुरे नेवारी संस्कृतिको सुवास लिँदै प्राकृतिक दृश्यपान गरिरहेका थिए स्वदेशी÷विदेशी पर्यटकहरू । बन्दीपुरको आँगनमा केहीबेर टहल्लिएका थियौँ हामी एकतीस जना कवि, साहित्यकार, पत्रकार र व्यवसायीहरूको जमात ।

बन्दीपुरबाटै रामकोटका लागि बाटो सोझ्यायौँ हामीले । तीन बजिसकेको थियो आशुतोष प्रधानको ‘बन्दीपुर अग्र्यानिक होम’मा लन्च गरेर पाइला उठाउँदा ।

हामी डङ्कने डाँडाको छेउमा पुग्दा पश्चिमाचल पुगिसकेका थियो घाम । डङ्कनेकै सियाँलमा परेको छ, फराकिला टारहरू टेकेर उभिएको रामकोट । मगर जातिको एकलौटी बस्ती हो, रामकोट । चिटिक्क परेका स–साना परम्परागत घरहरू । ढुङ्गाको छानो । बार्दलीले बढाएको छ घरहरूको सौन्दर्य । आँगनको डिलमा उभ्याइएको छ मकैको सुली । छानाभरिभरि लडिरहेका छन्, पाकेका फर्सी र कुभिण्डो । यिनै हुन्, रामकोटको चिनारी । ख्याल सुन्दर छैन नेपाली पहिचान बोकेको रामकोट ।

बिहीसरा, आइतमाया, सोमसरी, मङ्गली, बुधी, शुकमाया र शनिसराहरूले स्वागत गरेर सुकुल र गुन्द्री ओछ्याइएको आँगनमा पु¥याएथे हामीलाई । कति न्यानो आतिथ्य ! टुसुक्क बस्न नपाउँदै ल्याएका थिए, सेलरोटी दही, मही र फलफूल । कोदोको तेलको पनि व्यवस्था थियो । दुई घण्टाको हिँडाइले दुखेको शरिरलाई एक गिलासले मलमपट्टी लगाउँदा पुनर्जागृत भएथेँ । र त, रामकोटमा पर्ने शितको आवेगलाई मत्थर पार्न सकेको थिएँ मैले ।

मेरा आँखाले रामकोटबाट सुर्यास्तको सुन्दर दृश्यसँगै हिमालहरू हेर्न पाए । कहाँ बिर्सेको छु र मेरो जिब्रोले फड्कारेको रामकोटको स्वादिलो होम–स्टे ! रामकोटको सुरिलो कौरा, चुड्का र झ्याउरेको प्रस्तुति अझै आँखा अगाडि आइरहेछ । साहित्यकारहरूले रामकोटको प्रकृति र संस्कृतिको गहिराईसम्मै डुबुल्की मारे ।

मैले रामकोटमै सिकेको थिएँ, ‘नमस्ते’लाई ‘झोर्ले’ भन्न । त्यही सिकेको थिएँ ‘पानी’लाई ‘दी’ भन्न । ‘घाम’लाई ‘नाखान‘ र ‘जाडो’लाई ‘जुहुचो’ भन्न । भोलिपल्ट डङ्कनेको सियाँललाई घामको उज्यालोले ननिल्दै कविता गोष्ठी गरेर फर्केका थियौँ हामी ।

०००

घडीको सुईसँगसँगै घुमिरहेछ बसको चक्का । समयको रफ्तारमा गुडिरहेका छौँ हामी । समयको रफ्तारसँगै तँछाड–मछाड गर्दै गुडिरहेका छन् राजमार्गमा दोहीलत्ता गाडीहरू । अघिल्लो यात्राको यादमा डुबुल्की मार्दै गर्दा छिर्केनी भन्ज्याङ र कमलबारी काटिसकेको हुन्छ ।

‘भानुघाँसी स्मारक पार्क’ पुगेर रोकिन्छ बस । १५० किलोमिटर पार गरेका थियौँ हामीले ।

बुल्दीखोलाको किनारमा छ, ‘भानुघाँसी स्मारक पार्क’ । सडकको छेउमा छ, प्रवेशद्वार । ग्राहकको पर्खाइमा छन्, प्रवेशद्वार छेउछाउका चिया पसलहरू ।

‘दाइ ! चिया खाने होइन ?’ बसबाट ओर्लेका यात्रुहरूलाई सोध्छिन् चियावाली ।

बेसारे भाषा ! नखाउँ भने पनि खाउँखाउँ लाग्ने । तर, भर्खरै खाएको भात नघट्दै घाँटीबाट के छिथ्र्यो र चिया ! बरु अलिकति पानी पो माग्यो आँतले ।

पार्कको छेउछेउमा उभिएका रूखहरूले मन्द गतिमा पात हल्लाइरहेका छन् । बीचमा सजाइएको छ, आदीकवि भानुभक्तको अर्ध कदको शालिक । हेराहेर हुन्छ शालिक र मेरोबीचमा । र, हठात् गुन्गुनाउन पुग्छु म–

‘भर् जन्म घाँस तिर मन् दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्रि घरको तर, बुद्धि कस्तो
मो भानुभक्त धनी भइकन आज यस्तो …’

भानुभक्त नेपालको प्राथमिककालका प्रतिनिधि कवि । नेपाली वाङ्मयका विराट पुरुष । तात्कालीन परिवेशमा नेपाली भाषा, साहित्य र संस्कृतिमात्र होइन, परम्परा, धर्म, दर्शन, चरित्र, कर्तव्य र देशप्रेमजस्ता भावनाको जगाउने अग्रज पनि थिए उनी ।

‘खोई त घाँसी कुवा ?’ नजिकै उभिएका जनार्दन अर्याललाई सोधेँ ।

‘मौलिक कुवा त २०२८ सालमा सडक खन्नेले मासिदिए क्यारे । पछि स्थानीयले अलि पर बनाउन लगाएका रे’, हातको औँलाले देखाउँदै उनले भने ।

एउटा प्रश्नको जवाफ पाए पनि अनेक प्रश्न उब्जिरहेका थिए मनमा । तर सोधिनँ मैले जनार्दनजीलाई, ‘भानुभक्तसँगै घाँसीको प्रतिमा किन भएन ? को थिए त भानुभक्तको यो ‘घाँसी’ कविताको ती पात्र ? कहाँका थिए कुवा खनाउँने ती घाँसी ? कतै काल्पनिक पात्र त थिएनन् ‘घाँसी’ ?’

मनले भन्यो, ‘कविले यी प्रश्नका उत्तर आफ्नो कवितामा कतै न कतै छाड्नुपथ्र्यो ।’

०००

नजिकिँदै छ हर्षपुर ।

‘रामकोटजस्तै मगरबस्ती हो हर्षपुर’, लामो समय मौन बसेका गुप्तजीले माझिलाङ गाउँ पुगेपछि मुख खोले ।

कस्तो संयोग ! तनहुँको दोस्रो यात्रा पनि मगर बस्तीमैै । हठात् केही सवाल उब्जन्छन् मेरो मनमा । कहाँ होला मगर जातिको उद्गम ? को थिए होलान् सबैभन्दा पहिले जन्मेको मगर ? के होला मगरको अर्थ ? यी सब कुराहरूमा म अनविज्ञ छु । तर, मलाई थाहा छ, मगर यो देशको गौरवशाली जाति हो । मगरविना नेपालको एकीकरण सम्भव थिएन । राष्ट्रनिमार्ताको सारथी पो थिए त अहिलेका मगरका पुर्खा । इतिहासले भन्छ, मगरकै छोरा थिए, पृथ्वीनारायण शाहका प्रथम सेनापति विराज बखती । कोतपर्वमा मारिने प्रमुख भारदार जनरल अभिमान सिँह पनि मगर नै थिए । मगर नै थिए, नेपालका प्रथम शहीद लखन थापा । मगर नै थिए, भिक्टोरिया क्रस पाउने पहिलो नेपाली कूलवीर थापा । तर, विडम्बना आजसम्म आइपुग्दा हामीले पृथ्वीनारायणलाई बिस्र्यौं, विराज बखतीलाई बिस्र्यौं र हामी आफैँलाई पनि बिर्संदैछौँ ।

०००

‘ओ माइ गड ! कति सुन्दर रहेछ हर्षपुर !’, हर्षपुर पुगेर बसबाट ओर्लनेबित्तिकै रीता अधिकारी र ऋतु ग्याम्दानको मुखारबिन्दबाट निस्कियो एउटै आवाज । मेरो चाहिँ मुखबाट ननिस्किएको मात्र हो । तर मनले भनिरहेथ्यो मनले त्यही कुरा ।

गन्तव्यमा पुग्दा मगनमस्त बन्न पुगेँ म । खुसी चाहिँ के भने थर्पु घुम्ती (बेलटार)देखि सात किलोमिटर यता बसले निरन्तर उडाएको धुलोबाट मुक्ति पाउनुमा थियो । धुलोको मुस्लोले पटकपटक फेल खुवाएथ्यो मेरो नजरको अनुमानलाई ।

‘लामो चौतारो’को आडमा रोकिएको थियो बस । अकासिँदा बर–पपिलको टुप्पाबाट सञ्चार भइरहेथ्यो अनौठो धून । मन्द गतिमा चल्मलाइरहेका पातहरूले ‘हर्षपुरमा स्वागत छ’ भनेझैँ भान हुन्थ्यो ।

चौतारोसँगै छ, सरस्वती प्राथमिक विद्यालय । चौतारोको अगाडि छ, फराकिलो चउर । चउरको बीच भागमा छ, लठ्ठे पिङ र पल्लो छेउमा छ रोटे (चर्खे) पिङ ।

सात सय पचास मिटर उचाइको भूगोलमा उठेका छन् अग्ला–होचा थुमहरू । त्यही थुममा बसेका छन् बस्ती । त्यसैको नाम हो, हर्षपुर । त्योभन्दा माथि डाँडागाउँ । तलतिर देखिन्छन्, दमौलीसम्मका विशाल फाँट ।

‘झोलालाई एकछिन आ–आफ्नै सिटमा राख्नु होला । गाउँलेहरू हामीलाई स्वागत गर्न यहीँ आउने अरे’, गुप्तजीले जानकारी गराए ।

झोलालाई यथास्थानमा राखेर छरियौँ हामी चउरमा ।

चर्खे पिङमा झुम्मिए बोधराज भण्डारी, भविश्वर शर्मा, नवराज दाहाल, अम्बीर गुरुङ, केशव श्रेष्ठ, शिवभक्त घिमिर, भुवन श्रेष्ठ र बद्री तिमिल्सिना लगायतका साथीहरू । दिलमाया गुरुङ, संगीता भट्टराई, वर्षा सिवाकोटी, ऋतु ग्याम्दान र रीता अधिकारीहरू पालैपालो मच्चिन थाले लठ्ठे पिङमा । कोही पिङ खेल्दै, केही खेलाउँदै । कोही थचक्क बसेका छन् चउरमा– स्वागतको अधिर प्रतिक्षा गर्दै ।

मगनमस्त बनेथे सबैसबै । हेर्नलायक थिए दुश्य, दश्य र दृश्यहरू ।

पिङ हाम्रो मौलिक संस्कृति । मनोरञ्जनको एउटा काइदा । विशेषगरी दशैँमा एकपटक धरती छोड्नै पर्छ भन्ने जनविश्वास छ । त्यसैले दशैँतिहारमा पिङ हाल्ने चलन थियो । गाउँघरका दाजुभाइ जुटेर पिङ हाल्ने संस्कृति थियो र अझै छ हाम्रो नुवाकोटमा । केटाकेटी र युवायुवतीको त कुरा छाडौँ, वद्धवृद्धाले समेत पिङ छुन्थे । कोही चर्खे पिङ, कोही लिङ्गे पिङ, कोही जाँते पिङमा झुम्मिन्थ्यौँ हामी । बालवयमा त खूब खेल्थेँ म । ख्याल मज्जा आउँदैनथ्यो सररर मच्चिँदा । एकपटकको दशैँमा पिङ खेल्दा गरालो खसेर झन्डै मरिनँ । त्यो दिनबाट पिङ छोएको छैन ।

सहयात्रीहरू आ–आफ्नै तालगाँठीमा हुँदा अनयासै एकान्त खोज्छ मेरो मनले । अचम्म लाग्छ, किनकिन मनले कहिलेकाहीँ एकान्त मिठो मान्छ । दुखाइ मिठो मान्छ । अँध्यारो मिठो मान्छ । चउरको एउटा छेउमा पु-याउँछु आफैँलाई र दृष्टिलाई फिँजाउँछु छबीसे, थर्पु बजार र बेलटार हुँदै दमौलीको व्यास गुफासम्म । चौतारामुनि बसेर भारतको राजस्थानबाट आएका युवक बाबाजीसँगै शिवबुटी तानेको सम्झेँ । साथीहरूको लहैलहैमा लागेर कहिल्यै नगरेको काम गरेको थिएँ मैले । पहिलो पटक भएर होला खूब ‘ट्रिप’ दिँदोरहेछ दुईसर्कोले पनि ।

हरिसिँह गुरुङले घुमाइदिएका थिए नेपालकै पुरातात्विक र धार्मिक महत्वको ठाउँ । कृष्णझुला पुल तरेर महर्षि परासर तपोभूमि एवम् परासरेश्वर महादेव मन्दिर पुगेका थियौँ हामी । पारी परासरेश्वर महादेव, वारी व्यास गुफा ।

शुक्लागण्डकी-सरस्वती (सेती) र यमुना (मादी)को सङ्गम तटमै अवस्थित छन् दुवै । सेती र मादीकै सङ्गममा परेको छ मानुङकोटको छायाँ ।

महर्षि वेदविद्याश्रमका शिक्षक रामप्रसाद पौड्यालले भनेका थिए, ‘व्यासको जन्म यहीँ भएको थियो रे ।’

पूर्वीय दर्शनमा अत्यन्त श्रद्धा र भक्तिपूर्वक लिइने नाम हो, महर्षि व्यास । उनी चार वेद अठार पुराणका रचयिता र अठ्ठाईसौँ श्रीकृष्ण द्वैपायन । परासर–सत्यवतीको छोरा थिए उनी । राजा शन्तनु–सत्यवतीसम्म जोडिएको छ यिनको जन्मकथा । चित्राङ्गद र विचित्रवीर्यको मृत्युले उत्तराधिकारीविहीन बन्न पुगेको हस्तिनापुरले यिनैको कारणले उत्तराधिकारी पाएको रोचक कथा छ महाभारतमा । भनिन्छ, ‘उति बेला महर्षि व्यासको नाम लिँदा मात्र पनि मानिसको हृदयभित्रको अशिक्षा र अज्ञानतारूपी अन्धकार हटेर जान्थ्यो रे ।’

‘ल जाउँ अब ! हर्षपुरबासी हामीलाई लिन आए’, शेखर थापाले भने ।

गाउँ नै उल्टेर आएका थिए हामीलाई स्वागत गर्न । सुन्दर देखिन्थे उनीहरू आफ्नो परम्परागत पोशाकमा । पुरुषहरूले शीरमा टोपी भाङ्ग्रा र भोटो–कछाड लगाएर पटुकी बाँधेका थिए भने कसैले अनौपचारिक पोशाकमै भाङ्ग्रा भिरेका थिए । मखमली चोली, छिट्को गुन्यू, टिकिस, पहेँलो पटुकी, गलामा पहेँलो पोतेको साथमा मुगामाला, शिरको शिरफूल, कानको ढुङ्ग्री, नाकको बुलाकीले शोभान्वित थिए हर्षपुरे दिदीबाहिनी ।

‘ओस्नी हिमाल हर्षपुर राहर
स्वागत जाट्ले फूल–टीका लाइडिआर …’

आफ्नै भाषाको गीतबाट स्वागतगानको उठान भयो ।

गीतको अर्थ थियो–
‘हेर्नू हिमाल हर्षपुर आएर
स्वागत गर्छौं फूल–टीका लाइदेर …’

न्यानो स्वागतको त्यो कोमल नादमा मगर मनको अभिव्यञ्जना सम्प्रेषण भयो मेरो हृदयभरि । चेतनमनकै आवाज थियो त्यो । मगर हृदयकै भाषा थियो त्यो । गन्तव्य प्रवद्र्धनको आशय र अपेक्षा थियो त्यो । अन्तर्वोधको त्यही पिँधबाट उठेर हर्षपुरको होम–स्टे अनुभूत गर्न आतुर भएथेँ म ।

गाइरहनु पर्ने, नाचिरहनु पर्ने, रमाइलो गरिरहनुपर्ने हाम्रा साथीहरू रानी मादलको ताल र झुर्माको धूनले जुरुक्कजुरुक्क उचाल्लिए । मगर लोकभाकाको तालमा र सुरु भयो छमछमी । केशव श्रेष्ठ, भीम लामा, प्रतीक जोशी, शिव पौड्याल, आशुतोष प्रधान, रीता, अधिकारी, वर्षा सिवाकोटी, बोधराज भण्डारी, रुद्रसिँह ठकुरीले कम्मर मर्काए । निकै बेर पो चल्यो त नाचगान ! शेखर थापा र ऋतु ग्याम्दनले जमाए उठक–बसक नाच । बाँकीले बजायौँ थपडी । नसोचेको रमाइलो भएथ्यो ।

हर्षपुरका दिदीबहिनीहरू (लिलामाया, बिहीसरा, विष्णु, शनीसरा र सरस्वती) लहरै उभिएका थिए हाम्रो स्वागतार्थ । पाहुनाको स्वागत गर्ने उनीहरूको तरिका नै भिन्दै । एउटाले बोकेको थालीमा छ, रातो टीका । अर्कीले बोकेकी छिन् घडा । फेरि अर्काको हातमा छ फूलका माला । टीका र माला लगाएका हामी पाहुना अघिअघि, उनीहरू पछिपछि ।

हामी पुग्यौँ दमन्त रानाको घरमा र बस्यौँ आँगनमा लहरै राखिएका थिए प्लास्टिकका कुर्सीहरूमा ।

स्वागतको दोस्रो चरणमा आइपुग्यो, भुटेको मकै, उसिनेको पिँडालु, साँदेको गुन्द्रुक, भटमास र खसीको भुटुन । बालवयको याद पो दिलायो मलाई । यस्तैयस्तै खाजा खान्थ्यौँ हामी । उबेलाको बाध्यता, अहिलेको रहर । भोकाएको पेटलाई के चाहियो र ! खाइयो मज्जैले ।

आगमन भयो म्याग्दे गाउँपालिका उपाध्यक्ष र केही वडा प्रमुखहरूको । कस्तो अचम्म ! उनीहरू आइपुग्नु र आकाशमा कालो बादल छाउनु एकैचोटी भयो । उनीहरूकै पालिकामा उनीहरू नै पुग्दा मौसमले साथ नदिनुलाई हाम्रै दुर्भाग्य ठानेँ मैले । सुन्दै थिएँ, गाउँपालिका अध्यक्ष पनि आउँदै छिन् रे ! तर मौसमले पर्खन दिएन । पानी पर्लाजस्तो पो भयो । मेरो मनले भनिरहेथ्यो, ‘पानी परे त राम्रै हुन्थ्यो । कम्तीमा हर्षपुर र डाँडागाउँका किसानहरूले मकै छर्न त पाउँथे ।’

हर्षपुरको चौधवटा होम–स्टेमा बाँडियौँ हामी ।

हतारहतार औपचारिक खालको अनौपचारिक कार्यक्रम भयो । यताबाट गएको तीन–चार जना र उताको उपाध्यक्षले भाषण गरेपछि कार्यक्रम सकियो । कस्तो अचम्म ! कार्यक्रम सकिँदा आकाशमा हटिसकेको थियो कालो बादल ।

‘अम्बीर गुरुङ र राजेन्द्रमान उहाँसँग जानूस् है !’, होम–स्टेवालासँग परिचय गराए गुप्तजीले ।

‘नाकुङ आरमिन ही आले ?’, सोधेँ ।

रामकोट जाँदा मैले यही सिकेको थिएँ ‘तपाईंको नाम के हो’ भनेर सोध्न । मिल्यो कि मिले कुन्नि थाहा थिएन मलाई !

‘ङऊ आरमिन केशु राना’, आफ्नो नाम बताए उनले । केशु राना उनको नाम ।

मैले उनलाई अभिवादन गरेँ ‘झोर्ले’ भनेर । यति त हो आफूले जानेको ।

उनकै पछि लाग्यौँ हामी दुई ।

साँझको भुकभुके उज्यालो बाँकी नै थियो हामी उनको घर पुग्दा । बीचको सतह अलिकति होचो भएकोले खोला वारिपारिजस्तै लाग्दोरहेछ दमन्त राना र केशु रानाको घर ।

तीन कोठाको चिटिक्क परेको घर रहेछ केशु रानाको । एउटामा भन्सा । अर्को एउटामा उनीहरू आफै सुत्ने र एउटा पाहुनाका लागि तयार पारिएको ।

उनकी श्रीमती विष्णुले स्वागत गरिन् हामीलाई । देखाइन् हामी सुत्ने कोठा । एउटा सानो छोरा रहेछ उनीहरूको । सानो परिवार, सुखी परिवार ।

केशु भन्छन्, ‘यही एउटा छोरो हो हाम्रो जीवन र भविश्य ।’

‘छ्वास्स लाउने होइन त राजेन्द्रजी ?’, अम्बिरको सोधनी हुन्छ ।

‘लाइदिउँन त ! के को ट्याकट्याक’, म जवाफ दिन्छु ।

अचम्मकै चिज रहेछ रक्सी । सम्झेपछि खाइहाल्नु पर्ने । एक गिलास रक्सी, खसीको मासुसँगै साँधेको न्यूरो र आलु ल्याइदिइन् केशुपत्नीले । पेटको जलनलाई मलम भइगो ।

फेरि ल्याइदिइन् मासु र भात । टन्नै खाइयो । अजिङ्गरजस्तो भएथेँ म ।

०००

‘धिना धा धि ना… धिनानाकी… नाकिधिना’, मादल बजेको आवाज आयो पारिबाट ।

गुप्तजीले भनेका थिए, ‘भरे नाचागान हुन्छ । होम–स्टेमा खाना खाएपछि यही आउनू !’

नेपाली संगीतको सबभन्दा सुरिलो ताल हो मादल । नेपालको महिमा र नेपाली समाजको रागिलो ऊर्जा हो मादल । पूर्वदेखि पश्चिमसम्म, तराईदेखि हिमालसम्मै एउटै लय र तालमा बज्ने मौलिक संगीतको नाम हो मादल । मादलले चिनाएको छ नेपालीलाई । युगौँ बितिसकेको छ नेपालीले हरेक समारोहमा मादलको ताल गुञ्जाउन थालेको ।

‘राजेन्द्रजीलाई थाहा छ ? मगर र गुरुङ नै त हो सबैभन्दा पहिले मादल बजाउने’, अम्बीरले बोले ।

‘मादल मगर र गुरुङले पहिले बजाएको भए पनि मादल बजाएरै संसारलाई चकित पार्ने चाहिँ को हो थाहा छ ?’, मैले सोधेँ ।

‘अह, थाहा छैन । को हुन् उनी ?’, उनको सोधाइ ।

‘हाम्रै न्हुच्छेबहादुर डङ्गोल !’, गौरवपूर्ण जवाफ दिएँ मैले ।

‘हिँड न त मादल बजाउन !’, मैले भने ।

लाग्यौँ हामी दमन्त रानाको घरतिर । हामी पुग्दा सुरु भइसकेको थियो चुड्का । पिढीको डिलमा बसेका छन् कम्मरमा मादल भिरेका र हातमा झुर्मा र खैँजडी लिएकाहरू । उनीहरूसँगै बसेका छन् गीत गाउनेहरू । चुड्काले पे्रमिल बनिसकेको थियो दमन्त रानाको आँगन । वर्षा र सङ्गीता पनि मगर पोशाक लगाएर नाचिरहेका थिए हर्षपुरेहरूकै चालढालमा । यसै पनि उज्याला मुखाकृति उनीहरूको । असाध्यै खुलेका थिए मखमली चोली, पहेँलो पटुकी र टिकिसमा । हर्षपुरको गमलामा फुलेको गुलाफको फूलझैँ देखिन्थे ती । बोधराजजीले मगरको पहिचान ग्रहण गरेका थिए, ज्यानमा भाङ्ग्रा र शिरमा कालो टोपी पहिरिएर । मगरगाउँमा, मगर पोशाक लगाएपछि मगरजस्तै देखिने । केशवजीको नाच्ने कला पनि बिछट्टै राम्रो ! कल्पनाको आकाशमा कावा खाइरहेका उनका पखेटाले छोप्न खोज्दै थिए यौवनपुस्पित देहलता । कस्तो अभिनय ! फेरि परदेशी न परे ! पाए किन नलाउनु चुड्काको प्रेमिल आँगनमा लाहुरे माया चाउरे पिरति ।

राम्रो रहेछ दिन । यतै रमाइलो त्यतै रमाइलो । पलपलमा रमाइलो । हर्षपुरमा झनै रमाइलो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker