माहेन्द्री माविमा पूर्व विद्यार्थीहरूको सुन्दर मिलन, विद्यालयलाई तीन कम्प्युटर हस्तान्तरण

तनहुँको व्यास नगरपालिका–९ झिनुवाटारस्थित श्री माहेन्द्री माध्यमिक विद्यालयको माध्यमिक प्रथम ब्याच (२०४०) द्वारा आयोजित ‘सुन्दर मिलन कार्यक्रम’ शुक्रबार सम्पन्न भएको छ।
पूर्व विद्यार्थी तथा आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समिति अध्यक्ष केशबहादुर सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी तथा प्रधानाध्यापक शिवचन्द्र आचार्यले सञ्चालन गर्नुभएको थियो।
कार्यक्रममा पूर्व सहायक प्रमुख जिल्ला अधिकारी जीतबहादुर भण्डारी, शिक्षा विकास तथा समन्वय इकाइ तनहुँका पूर्व प्रमुख उद्धवराज कट्टेल, नेपाली सेनाका पूर्व उपरथी प्रेमध्वज अधिकारी, व्यास–९ का वडाध्यक्ष सुरेश थापा तथा पूर्व विद्यार्थी समाजका अध्यक्ष गोविन्द पौडेललगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
सो अवसरमा विद्यालयमा महत्वपूर्ण योगदान पुर्याएका तत्कालीन शिक्षकहरूलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो भने विद्यालयको विकासमा योगदान दिएका कृष्णबहादुर भण्डारीलाई नगदसहित सम्मान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा २०४० ब्याचका स्वर्गीय चार जना साथीहरूको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो। नेपालगञ्ज, चितवन, पोखरा, काठमाडौं लगायतका विभिन्न स्थान तथा विदेशमा रहेका सोही ब्याचका पूर्व विद्यार्थीहरू कार्यक्रममा सहभागी भएका थिए।
पूर्व विद्यार्थीहरूको पहलमा विद्यालयलाई तीन थान कम्प्युटर उपहारस्वरूप हस्तान्तरण गरिएको छ। विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा प्रविधिमैत्री शिक्षण सिकाइमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
विद्यालयप्रति पूर्व विद्यार्थीहरूको निरन्तर सहयोग र अपनत्वको उदाहरणका रूपमा यसअघि एसएलसी ब्याच २०४९ ले समेत यस्तै रचनात्मक कार्यहरू गर्दै आएको स्मरण कार्यक्रममा गरिएको थियो। सहभागीहरूले यस्ता मिलन कार्यक्रमले पुराना सम्बन्धलाई पुनर्ताजगी दिनुका साथै विद्यालयको विकासमा समेत सकारात्मक योगदान पुग्ने धारणा व्यक्त गरेका थिए।










