“घिरिङको लाइफलाइन : कृषि र पशुपालन”

गाउँपालिका अध्यक्ष : होमबहादुर थापा

भिरालो भू-धरातलीय स्वरुपले बनेको यस गाउँ ३०० मिटरदेखि १००० मिटरसम्मको उचाईमा फैलिएको छ । गाउँपालिकाको मुख्य लाइफलाइन भनेकै कृषि र पशुपालन हो । अत्रौली पुट्टार सिंचाई आयोजनाबाट सिंचित यहाँको अत्रौली, पुट्टार, वैडी, गजरकोट लगायतका फाँटमा व्यवसायिक कृषि खेती सञ्चालन गरी कृषि पर्यटनको आकर्षक गन्तव्य बनाउन सकिन्छ । त्यस्तै, यही गाउँपालिकासंगै बगेको कालिगण्डकीमा व्यवसायिक रुपमा र्‍याफ्टिङ्ग समेत सञ्चालन गर्न सकिन्छ भने यहाँ धार्मिक पर्यटनका गतिविधिको समेत सम्भावना रहेको छ । घिरिङकोट भरैव मन्दिर, थानीदेवी मन्दिर, राजभँयुर, तृष्णाघाट, वलिघाट आदि धार्मिकस्थल छन भने मगर समुदायको सोरठी, कौडा नृत्य, झाउरे नाच, ल्होछार, नेवर समुदायको लाखेनाच, चुड्का नाच, कुमाल समुदायको सोरठी नृत्य, ब्राम्हण तथा क्षेत्री समुदायको भजन, चुड्का, वालन, गुरुङ समुदायको सोरठी, कौडा नृत्य, झाउरे नाच, ल्होछार लगायतका साँस्कृतिले भरिपूर्ण यस गाउँपालिकाले परम्परागत साँस्कृतिकका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न सकने सम्भावना छ ।

अधिकांश भू-भाग वनजंगल रहेको गाउँपालिका प्राकृतिक रुपमा पनि मनोरम छ । डाँडाजोर प्राकृतिक पुल, कालीगण्डकी नदीको मनोरमदृष्य, ग्रामीण पर्यटनको सम्भावना बोकेका उवाक्थोक, नेवापानी, च्याचुल, मोचावारी, आरनकोट, घुलिछाप, घुमाउने ताल, भ्यू टावर, चाले ताल, गजरकोट भ्यूटावर, च्याचूल भ्यूटावार, चन्हकोट जस्ता सम्पादाको प्रवर्द्धन र आवश्यक पूर्वाधार तयार गरी युवालाई रोजगारीसंग जोड्ने योजनाका साथ अगाडि बढिएको गाउँपालिकाका अध्यक्ष होमबहादुर थापा बताउँछन् ।

गाउँपालिकाले युवाहरुलाई व्यवसायीक कृषि तर्फ आकर्षित गरी स्वरोजगार बनाउनका लागि ६० प्रतिशतसम्म आनुदानको व्यवस्था गरेको छ । उन्नत जातका विउविजन, खोरगोठ सुधार र भकारो सुधार जस्ता कार्यक्रमलाई अनुदान समेत उपलब्ध गरी युवालाई व्यवसायिक बन्न प्रेरित गर्दै आएको अध्यक्ष थापा बताउँछन् । ‘कृषि क्षेत्रलाई आधुनिक र प्रविधियुक्त बनाउँदै लागत घर्टाई उत्पादन वृद्धि गर्ने उद्देश्यले कृषहरुलाई अनुदानमा आधुनिक कृषि औजारहरु समेत उपलब्ध गराउँदै आइएको छ’, उनले भने, ‘कृषकहरुले सञ्चालन गर्दै आएका कृषि औजारहरु बिग्रिए, भत्किएमा मर्मत सुधार गरी पुनः प्रयोगमा ल्याउनका लागि स्थानीय युवाहरुलाई स्वरोजगार मुलक कार्यक्रम अन्तर्गत हाते ट्याक्टर मर्मतको तालिम समेत सञ्चालन गरिएको छ ।’ उत्पादन वृद्धि गराउने उद्देश्यका साथ गाउँपालिकाले उत्पादनामा आधारित रही अनुदानको व्यवस्था गरेको छ । लघुउद्यमशिल विकास कार्यक्रम अन्तर्गत वडावडाबाट विभिन्न सीप र आयमुलक कार्यक्रमहरु सञ्चालन गर्दै आइएको छ । तालिम पश्चात सिलाईबुनाई, मुडाबुन्ने, अचार बनाउने जस्ता उद्यम गरी आर्थिक उपार्जन गर्न समेत सफल भएको अध्यक्ष थापाले बताए । उनले भने, ‘सकेसम्म युवाहरु आफ्नै थातथलोमा केही न केही उद्यमसंग जोडिएर बसुन भन्ने हाम्रो चाहना हो । कृषि र पशुपालननै हाम्रो आर्थिक समृद्धिको मुख्य आधार भएको हुँदा यस तर्फयुवालाई आकर्षित गर्नका लागि कृषि ऋण समेत उपलब्ध गराउने व्यवस्था गाउँपालिकाले मिलएको छ ।’

‘कृषि, पशुपालनका साथै धार्मिक र साँस्कृतिक पर्यटन मार्फत समृद्धि हाँसिल गर्ने गरी गाउँपालिका अगाडि बढेको छ’, उनले भने, ‘मुख्य त हामीले विकासको पहिलो खुड्किलो सडकलाई लिएका छौं । सबै वडाका गाउँबस्तिसम्म सडकको पहुँच विस्तार गरी स्थानीय स्तरमा उत्पादित उपजको बजारीकरणदेखि सहज यातायातको व्यवस्थापन गर्ने हाम्रो योजना रहेको छ ।’ घिरिङ गाउँपालिकाका लगभग सबै घरमा अहिले विद्युत सेवा पुर्‍याएर उज्यालो घिरिङ बनाइएको छ । आर्थिक र सामाजिक विकासका लागि गाउँपालिकाले आफ्नो क्षमताले भ्याएसम्मको नीति तथा कार्यक्रम बनाएर अगाडि बढेको छ । गाउँपालिकाले सडकलाई ए लेवल, बि लेवल र सि लेवलमा वर्गीकरण गरी सडक विस्तार तथा स्तरोन्नती गर्ने कार्यलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ । गाउँपालिकाको ए लेवलको बाटोमा कृष्ण मोटरमार्ग, गल्याङदेखि गाइघाटसम्म राष्ट्रिय वैकल्पिक राजमार्गको रुपमा र गण्डकी प्रदेशदेखि मधेस जाने बाटोको काम अगाडी बढेको छ । वि लेवलमा एउटा पालिकाबाट अर्को पालिकामा पुग्ने बाटोहरुमा स्तरवृद्धिका काम भएका छन् ।

यस्तै, गाउँपालिकाले एक घर एक धारा अभियान तीव्र रुपमा अगाडी बढाइरहेको छ । गाउँपालिकाबाट गर्न सकिने गाउँपालिकाबाटै र प्रदेश र संघबाट खानेपानीको अभियानलाई तीब्रता दिइरहेको छ । प्रदेशको गौरवकै योजनाका रुपमा रहेको बैडी अत्रोलि पुट्टार सिंचाई आयोजनाबाट स्थानीय कृषकहरु व्यवसायिकता तर्फउन्मुख भएका छन् । सिंचाइको व्यवस्था भएसंगै आलु, मौसमि तथा वेमौसमि तरकारी खेतीलाई ब्लकका रुमपा अगाडि बढाइएको छ । कृषकले उत्पादन गरेको उपजलाई सहज रुपमा बजारीकरण तथा भण्डारण गरी बेसिजनमा बिक्री वितरण गर्ने व्यवस्था मिलाउन सित भण्डार निर्माण कार्य पनि भइरहेको अध्यक्ष थापाले बताए ।

कृषिमा प्रविधिको प्रयोग गर्ने निती अनुसार गाउँपालिकाले कृषकहरुलाई आधुनिक कृषि औजार अनुदानमा वितरण गर्ने, विदेशबाट फर्किएका युवालाई गाउँमै काम गर्ने वातावरण बनाउनका लागि आवश्यक सहयोग गर्ने नीति बनाएको छ । कम्तिमा एक रोपनी क्षेत्रफलमा लसुन, प्याज लगायो भने प्रतिरोपनी ५ हजारको दरले अनुदान दिने, २ रोपनी क्षेत्रमा बेसार खेती गर्ने कृषकलाई प्रतिरोपनी ५ हजारको दरले अनुदान दिने र कम्तिमा ४ रोपनी क्षेत्रफलमा अदुवा खेती गर्ने कृषकलाई प्रतिरोपनी ५ हजार रुपैयाँका दरले अनुदान दिने व्यवस्था गाउँपालिकाले गरेको अध्यक्ष थापाले बताए ।

उपाध्यक्ष : राधादेवी अधिकारी

गाउँपालिकाले गत वर्ष पूर्वाधार विकासलाई प्रथमिकता दिएको थियो भने अबका दिनमा युवालाई आफ्नै थातथलोमा स्वरोजगर बनाउने गरी कार्यक्रमहरु अगाडि बढाएको उपाध्यक्ष राधादेवी अधिकारीले बताइन् । सडक नै विकासको पहिलो सूचक मानिएको र गाउँपालिका बासिन्दाले पनि सडक नै चाहियो भन्ने माग बढि भएकाले सडक विस्तारका काम पनि भइरहेका छन् । अध्यारो घिरिङलाई उज्यालो घिरिङ बनाउने काम पुरा भएसंगै हामीले सबैको पहुँचमा सहज रुपमा खानेपानी पुर्‍याउनुपर्छ भन्ने मान्यताका साथ अहिले एक घर एक धारा कार्यक्रमलाई अन्तिममा पुर्‍याएको उनले बताइन् ।

‘कृषि, स्वास्थ्य, शिक्षा तथा सीपमुलक तालिम पनि गाउँपालिकाको प्राथमिकतामा छ । स्थानीय स्तरमै स्वरोजगार बनाउने गरी विशेष गरी लक्षित वर्गको कार्यक्रम अन्तर्गत महिलाहरुलाई विभिन्न सीप मुलक तालिम प्रदान गर्ने गरिएको छ’, उनले भनिन्, ‘गाउँपालिकाले सञ्चालन गरेको तालिममा सहभागि त हुने तर, सिकेको सीपलाई व्यवहारमा उतार्ने काम एकदमै कम भएकाले प्रतिफल देखिन सकेको छैन । यो चिन्ताको विषय हो ।’ व्यवसायिक कृषि पेशा तर्फ आकर्षित गर्न गाउँपालिकाले उत्पादनमा आधारित अनुदानका कार्यक्रम पनि अगाडि बढाएको छ । नेतृत्व र क्षमता विकासका साथै आर्थिक शसक्तिकरणका लागि सीपमुलक तालिम सञ्चालन गरिएको छ । उपाध्यक्ष अधिकारीले भनिन्, ‘ग्रामीण क्षेत्र र जनजाति समुदाय भएकाले महिला दिदीबहिनीहरु अगाडी आएर आफ्नो कुरा राख्न, घरबाट बाहिर हिड्न आप्ठ्यारो मान्नु हुन्थ्यो । अहिले विभिन्न तालिम, सचेतना मुलक कार्यक्रमले महिलाहरुमा आत्मनिर्भता बढेको छ । आफ्ना समस्याहरु खुलेर भन्न सक्ने बन्नु भएको छ ।’

प्रमुख प्रशासकीय अधिकृत : कृष्ण प्रसाद ढकाल

युवालाई आफ्नै थातथलोमा स्वरोजगार बनाउनु नै अहिलेको आवश्यकता र प्राथमिकता हो । युवा वर्गलाई वैदेशिक रोजगारीमा जानबाट रोक्नका लागि उनिहरुको चाहना र भूगोल सुहाउँदो उद्यमलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकाल बताउँछन् । ‘गाउँपालिकाले अहिले युवालाई कृषि क्षेत्रमा जोड्ने गरी कार्यक्रमहरु अगाडि ल्याएको छ’, उनले भने, ‘कृषि क्षेत्रलाई आधुनिक र प्रविधियुक्त बनाउनका लागि हाते ट्याक्टर वितरण, आलुको विउ लगाउने मेशिन खरिद गरी युवालाई कृषि पेशामा जोड्दै लगिएको छ ।’

गाउँपालिकाले स्वस्थ र अनुशासित युवा उत्पादनका लागि खेलकुद क्षेत्रको विकासमा पनि जोड दिइएको छ । खेलका माध्यमबाट पनि रोजगारीको वातावरण सृजना हुने हुँदा गाउँपालिकाले विद्यालय तहदेखिनै खेल क्षेत्रमा जोड्ने गरी काम अगाडि बढाएको उनले बताए । प्रमुख प्रशासकीय अधिकृत ढकालले भने, ‘यहाँको हावापानी, भुगोल अनुसार कृषि र पशुपालन नै प्रमुख पाटो हो । यस क्षेत्रलाई व्यवसायिक बनाई पालिकाबासिको जीवनस्तर उकास्ने खालका कार्यक्रम गाउँपालिकाको प्राथमिकतामा रहेको छ । पालिकाले वेमौसमी तरकारी खेती, टनेल खेती, आधुनिक कृषि औजार, व्यवसायिक कृषि पेशामा युवालाई आकर्षित गर्ने लगायतका कार्यक्रममा अनुदानको व्यवस्था गरेको छ ।’

यस्तै, बसाइसराइका कारण पनि गाउँबस्ति उजाडिदै गएका छन् भने उर्वर भूमि पनि बाझिने क्रम बढेको छ । युवा जनशक्ति अभावमा बाँझिदै गएका उर्वर भूमिलाई पुनः कसरी हरभर बनाउन सकिन्छ भनि पालिकाले नीति तथा कार्यक्रम बनाउने तयारी गरेको छ । उनले भने, ‘बाँझो रहेको जमिनलाई उपयोग गर्ने वातावरण बनाउने अथाव बाँझो राख्ने व्यक्तिलाई जरिवना गर्ने नीति ल्याउन लागिएको छ । त्यही नीतिमा टेकेर यहाँको हावापानी र भूगोल सुहाउँदो खेतीको विकास गर्ने, सुन्तला, अदुवा खेती र बेमौसमी तरकारी खेती प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने, सिंचाईको व्यवस्था मिलाउने, उत्पादनमा आधारित भई कृषकलाई सम्मान समेत गर्ने योजना बनाइएको छ ।’ ग्रामीण क्षेत्रमा रहेको यस गाउँपालिकाकाका अधिकांश सडकहरु कच्चि रहेको हुँदा यसको स्तरोन्नती गरी बाह्रै महिना सञ्चालन हुने बनाउन आवश्यक छ । वर्षायामसंगै बाढीपहिरो जाँदा बाटो अवरुद्ध हुने समस्याले पालिका बासिले निकै सास्ती खेप्नु पर्छ । गाउँपालिकाले सडकको स्तरोन्नती गर्न तर्फ पनि ध्यान दिएको उनले बताए ।

गाउँपालिकाले युवा लक्षित कार्यक्रम, कृषि क्षेत्रको प्रवर्द्धनका लागि उत्पादनमा आधारित अनुदान कार्यक्रम, पशुपालन प्रवर्द्धनका कार्यक्रमलाई पनि प्राथमिकताका साथ अगाडि बढाएको छ । उत्पादित उपजको बजारीकरणका विषयमा पनि सरोकारवालाहरुसंग छलफल तथा आवश्यक व्यस्थापनका कममा गाउँपालिकाले योजना बनाएको छ । घिरिङ बजारी पहुँचबाट टाढा छ तर पनि हामी जहाँ छौ त्यहीबाट सुधारको अभियान सुरु गर्नुपर्छ भन्ने सोचका साथ कार्यक्रम अगाडि बढाइएको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए।

यस्तै, गाउँपालिकाको आन्तरिक आय कम्जोर छ जनताको माग र आकांक्ष धेरै छन् । संघ र प्रदेशले दिएको बजेटबाट नीति तथा कार्यक्रम बनाएर अगाडि बढ्दा धेरै समस्याहरु झेल्नुपरेको छ । संघ र प्रदेशबाट तोकिएर आएको बजेटबाट काम सम्पादन गर्दा समयमै रकम निकासा नहुँदा विविध खालका समस्याहरु झेल्नुपरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker