दमौलीको आदिकवि भानुभक्त क्याम्पसको अध्यक्षमा श्रेष्ठ निर्विरोध निर्वाचित
भञ्ज्याङ न्यूज

तनहुँको दमौली स्थित आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिको अध्यक्षमा बुद्धिमान श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष ब्रम्हदत्त तिमल्सेनाको अध्यक्षतामा शुक्रबार क्याम्पसमा बसेको बैठकले क्याम्पस सञ्चालक समितिको अध्यक्ष पदमा श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको हो ।
क्याम्पस नियमावलीमा साधारण सभाबाट निर्वाचित १६ जना सदस्य र क्याम्पस सञ्चालक समितिका निवर्तमान अध्यक्ष मध्येबाट क्याम्पस सञ्चालक समिति अध्यक्ष छनौट गर्ने व्यवस्था रहेको छ ।
सोही व्यवस्था अनुसार बसेको बैठकले क्याम्पस सञ्चालक समिति सदस्यहरुमा गोपाल सुर्खाली व्यास-११, ताराराम श्रेष्ठ व्यास-०२, र गजेन्द्र पन्थ व्यास-१३ लाई सदस्य पदमा मनोनयन गरेको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बताए ।
यस्तै, बैठकले क्याम्पसको ११औं साधारण सभाबाट निर्वाचित सम्पूर्ण क्याम्पस सञ्चालक समिति सदस्य, पुस्तकालय सदस्य र आन्तरिक लेखा समिति सदस्यहरुलाई स्वागत गर्दै ३६औं वार्षिकोत्सव एवं ११ औं साधारण सभा सम्पन्न गर्न सहयोग गर्ने सबै प्रति धन्यवाद ज्ञापन गरेको छ ।
क्याम्पसको स्नातक तह विद्यार्थी भर्ना अभियान २०७९ लाई सफल पार्न क्याम्पस सञ्चालक समितिका तर्फाट प्रचार प्रसार गर्ने पनि बैठकले निर्णय गरेको क्याम्पस प्रमुख हड्खलेले बताए ।










