बझाङको घटनामा दोषीलाई कारवाही गर्न तनहुँका दलितको माग
भञ्ज्याङ समाचारदाता/दमौली

बझाङको वित्थडचिर गाउँपालिका-७ स्यालढुंगाका दलित समुदायका पुड्के ओखेडाको घर भत्काउनेहरुको पहिचान गरी कारवाही प्रकृया अघि बढाउनु पर्ने माग गर्दै दलित संघमा आवद्ध तनहुँका दलितहरुले माग गरेका छन् ।
दलित संघ तनहुँको सोमबार दमौलीमा बसेको बैठकले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भईसक्दा समेत दलितमाथिको छुवाछुत र अभद्र व्यवहार गरिने क्रम नरोकिएको भन्दै सहभागी नेताहरुले आन्दोलनमा जानुको विकल्प नभएको बताएका छन् ।
‘छुवाछुत मुक्त राष्ट्र भनिएपनि समाजबाट अझै पनि छुवाछुत र जातिय विभेद हट्न सकेको छैन’, नेपाली कांग्रेस क्षेत्रीय सभापति समेत रहेका दलित नेता स्याम मौरतीले भने, ‘छुवाछुत जन्य व्यहार साँच्चै समाजको कलंक हो भन्ने कुरा अन्य समुदायका मानिसहरुले कहिले बुझ्न आवश्यक छ ।’
दलितहरुमाथि भएको ज्यादतीको विरोधमा सचेत समुदाय प्रतिकारमा उत्रनुपर्ने जिल्ला समन्वय समिति तनहुँका निवर्तमान जिल्ला सदस्य केशबहादुर सुनारले बताए ।










