पवित्राका एसईई टपर विद्यार्थीलाई शिक्षकद्वारा नगद प्रोत्साहन पुरस्कार प्रदान

बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालास्थित पवित्रा माध्यमिक विद्यालयका एक शिक्षकले एसईई परीक्षामा गणित विषयमा ए प्लस (A+) ग्रेड ल्याउने उत्कृष्ट विद्यार्थीलाई नगद पुरस्कार प्रदान गरेका छन् ।
विद्यालयका शिक्षक तथा सूचना अधिकारी विजय आचार्यले एसईई २०८१ मा ४ जिपिए सहित ए प्लस ग्रेड हासिल गरेका ९ जना विद्यार्थीलाई प्रोत्साहन स्वरूप प्रति विद्यार्थी एक हजारका दरले कुल नौ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरेका छन् । शिक्षक आचार्यले भने, ‘विद्यार्थीको आत्मबल अभिवृद्धि र मेहनतप्रतिको सम्मानका लागि व्यक्तिगत रूपमा यो पहल गरेको हुँ ।’
यस वर्ष पवित्रा विद्यालयले सामुदायिक विद्यालयतर्फबाट उत्कृष्ट नतिजा निकाल्दै बन्दीपुर गाउँपालिकाभरि नै शीर्ष स्थान हासिल गर्न सफल भएको छ । विद्यालयकी छात्रा आयुषा श्रेष्ठले ४.० जिपिए ल्याएर पालिका टपर बन्ने गौरव हासिल गरेकी छन् ।
विद्यालयका अनुसार परीक्षामा सहभागी १११ जनामध्ये ५४ जना विद्यार्थी उत्तीर्ण भएका छन्। विद्यालय परिवारले उत्तीर्ण सम्पूर्ण विद्यार्थीलाई बधाई ज्ञापन गर्दै उज्ज्वल भविष्यको शुभकामना दिएको छ ।










