भागबण्ड नमिल्दा तनहुँमा गठबन्धन जटिल मोडमा
कांग्रेसद्वारा ७ पालिका, माओवादीले ४ पालिकाको प्रमुख र समाजवादीले ४ प्रमुख र ५ पालिकामा उपप्रमुख दाबी
भञ्ज्याङ समाचारदाता/दमौली
स्थानीय तहको निर्वाचनको मिति नजिकिएसंगै तनहुँमा सत्ता गठबन्धनलाई तालमेल गरी अगाडि बढ्ने विषय जटिल बन्दै गएको छ । सत्तारुढ दलबीच स्थानीय तहको सिट भागबण्डा नमिल्दा तनहुँमा गठबन्धन जटिल र बोझिलो बन्दै गएको हो।
जिल्लाको ४ नगरपालिका र ६ गाउँपालिकाको ८५ वटा वडासम्मै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी तनहुँबीच नेतृत्वको भागबण्ड गरी निर्वाचनमा जान पटक-पटक बैठक बस्ने गरेपनि बैठक निष्कर्षबिहिन बन्दै आएको छ ।
नेपाली कांग्रेस तनहुँको पार्टी कार्यालयमा सोमबार गठबन्धनको बैठक बसेपनि सिट बाँडफाँडको विषयमा सहमति नजुट्दा बैठक निष्कर्षबिहिन भएको कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले बताए ।
‘बैठक निष्कर्षविहिन भएपनि यसलाई निरन्तरता दिने सहमति भएको छ’, सचिव खनालले भने, ‘कांग्रेसले अघिल्लो निर्वाचनमा जितेको पालिका सहित थप एक पालिकाको प्रमुख नेतृत्व दाबी गरेको छ । गठबन्धनका दलहरुले पनि आ-आफ्नो माग राख्नु भएकाले बैठक निष्कर्षबिहिन बनेको हो ।’
‘गठबन्धनका दलहरु बीच सिट बाढफाँडको विषय जटिल र बोझिलो बन्दै गएको छ’, सचिव खनालले भने ‘गठबन्धनको मर्म विपरित आफ्नो हैसियत भन्दा बढि सिट मागिएको हुँदा समस्या आएको हो । अबको बैठकले यो समस्या समाधान गर्न सक्छ होला !’
वि.सं. २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले देवघाट गाउँपालिकामा उपाध्यक्ष, आँबुखैरेनी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, भानु नगरपालिकामा प्रमुख, उपप्रमुख, व्यास नगरपालिकामा प्रमुख, उपप्रमुख, म्याग्दे गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, शुक्लागण्डकी नगरपालिकामा प्रमुख, ऋषिङ गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष जितेको छ ।
गठबन्धनमा कांग्रेसले यी पालिका सहित थप भिमाद नगरपालिकाको प्रमुखको सिट पनि पाउनुपर्ने दाबी गर्दै आएको छ । उक्त निर्वाचनमा माओवादीले बन्दिपुर गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष जितेको छ ।
बैठकमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले माग गरेअनुसारका पालिका दिन नसकिने कांग्रेसले बताउँदै आएको छ । कांग्रेस तनहुँले आफूले जितेका पालिकाको नेतृत्व आफैसँग सुरक्षित राखेर अन्यमा छलफल गर्न सकिने बताएको छ ।
यस्तै, नेकपा माओवादी केन्द्रले बन्दिपुर, आँबुखैरेनी गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाको प्रमुख माग गरेको नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका सह-सचिव अतेन्द्रकेशरी न्यौपानले बताए । उनले भने ‘घिरिङ र देवघाट गाउँपालिका मध्ये एक पालिकाको अध्यक्ष तथा भानु र भिमाद नगरपालिकाको उपप्रमुख पद हामीले दाबी गरेका छौ ।’
उनले भने, ‘बैठकमा सबैले आ-आफ्नै हिसावले दाबेदारी गर्ने कुरा भइरहेको छ । गठबन्धनमा प्रतिवद्ध रहने सहमति पनि भएको छ तर, व्यवहारिक रुपमा कार्यान्वयनको चरणमा पुग्न सकिएको छैन ।’
त्यस्तै, नेकपा एकीकृत समाजवादीले भिमाद, शुक्लागण्डकी र भानु नगरपालिकाको प्रमुख पद दाबी गरिएको पार्टीका सचिव श्रीराम कार्कीले बताए । उनले भने, ‘सोमबारको बैठकले कुनै निष्कर्ष निकाल्न सकेन । हामीले तीन नगरपालिकाको प्रमुख सहित व्यास नगरपालिका, ऋषिङ, देवघाट, म्याग्दे र घिरिङ गाउँपालिकाको उपप्रमुख, उपाध्यक्षको सिटमा हाम्रो दाबी छ।’
उनका अनुसार समाजवादीले जिल्लाका १० वटै पालिकाको वडा तहसम्म संरचना भएका ठाउँमा प्रत्येक वडामा प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने समेत माग गरेको छ । यस्तै, गठबन्धनमा भागबण्ड नमिल्दा बैठक निष्कर्षमा पग्न नसकेको बताउँदै सचिव कार्कीले भने, ‘यदि गठबन्धन नभएमा मिल्ने अन्य दललाई लिएर जाने, त्यो पनि नभए एकल रुपमा भएपनि निर्वाचनमा जाने हामीले आन्तरिक तयारी गरिसकेका छौ ।’










