पानी पार्ने प्रणाली पश्चिम सर्दै, तनहुँसहित ३८ जिल्लामा बाढीको उच्च जोखिम

बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले नेपालका अधिकांश जिल्लामा झरी परिरहेको छ । लगातारको झरीले खोला तथा नदीहरुमा बहाव बढेको छ भने पहिरोले विभिन्न स्थानमा राजमार्ग अवरुद्ध भएको छ ।
मौसमविदहरुका अनुसार यो प्रणाली अब नेपालको पूर्वी भागबाट क्रमश: पश्चिमतिर सर्दै गएको छ । यससँगै अब पश्चिमतिर वर्षाको मात्रा बढ्ने पूर्वानुमान छ ।
‘भोलि शनिबारको दिन पूर्वी क्षेत्रहरुमा पानीको मात्रा केही कम हुने सम्भावना छ,’ मौसमविद रोजन लामिछानेले भने, ‘पश्चिमी भूभागहरुमा आज रातिदेखि पानी पर्ने क्रम बढ्दै जाने देखिन्छ ।’
त्यसो त गत लुम्बिनी र गण्डकीका जिल्लाहरुमा बुधबारदेखि नै पानी परिरहेको छ । मौसमविदहरुले अब सुदूरपश्चिमसम्मै पानी पर्ने क्रम थप बढ्ने पूर्वानुमान गरेका हुन् ।
नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको जोखिम नक्सामा बागमती प्रदेशदेखि पूर्वी भागका जिल्लाहरुमा पहेँलो रंगले र गण्डकीदेखि पश्चिमतिरका उच्च पहाडी तथा हिमाली भेगका जिल्लाहरुमा रातो रंगले संकेत गरेको छ ।
पहेँलो रंगको अर्थ सतर्क हुँदै मौसमी अवस्थाबारे अध्यावधिक हुनुपर्ने भनिएको हो भने रातो रंगको अर्थ बाढीपहिरोको जोखिम हुने हुँदा प्रतिकार्य गर्नुपर्ने हुनसक्छ भनिएको हो ।

३८ जिल्लामा बाढीको उच्च जोखिम
निरन्तरको झरीका कारण मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले पनि आगामी दुई दिन देशका विभिन्न जिल्लाका साना नदी तथा खोलामा बहाव बढ्ने र आकस्मिक बाढी आउन सक्ने पूर्वानुमान गरेको छ ।
बाढी पूर्वानुमान महाशाखाले आज असोज ९ गते गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली र कन्चनपुरमा बाढीको उच्च जोखिम रहेको जनाएको छ ।
भोलि असोज १० गते बाढीको उच्च जोखिम क्षेत्र थप बढ्ने छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार भोलि नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मी, स्याङ्जा, तनहुँ, गोरखा, लमजुङ, कास्की, मनाङ, पर्वत, बागलुङ, प्युठान, रोल्पा, सल्यान, दाङ, बाँके, बर्दिया, सुर्खेत, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुरमा समेत बाढीको उच्च जोखिम छ ।
आइतबारदेखि पनि सातै प्रदेश भई बहने साना नदीहरुमा आकस्मिक बहाव बढ्न सक्ने महाशाखाले जनाएको छ ।
मौसम विज्ञान विभागले सप्तकोशीमा बाढी बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरुमा पर्सिसम्म उच्च सतर्कता अपनाउन अनुरोध समेत गरेको छ ।









