बन्दिपुरको थानीमाई, गुरुन्चे, मुकुन्देश्वरी डाँडा पहिरोले छियाछिया, सडक सुचारु, विद्युत, सञ्चार, खानेपानी अवरुद्ध

भञ्ज्याङ न्यूज

पहाडकी रानी उपनामले परिचित तनहुँको पर्यटकीयस्थल बन्दिपुर अहिले प्राकृतिक रुपमै लकडाउनमा परेको छ । गत मंगलबारदेखि परेको वर्षासंगै आएको बाढीपहिरोले गाउँपालिकामा ठूलो क्षति पुर्‍याएको छ । गाउँपालिकाको कार्यालय बन्दिपुर तथा वडा कार्यालयहरुमा जाने मोटर मार्गहरु समेत पहिरोका कारण बन्द हुँदा अहिले प्राकृतिक रुपमै गाउँपालिका लकडाउनको अवस्थामा रहेको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताए ।

‘गाउँपालिकाको कार्यालय समेत म जान सकेको छैन । मोटर बाटो सबै पहिरोले भत्काएको छ, वडा कार्यालयहरुमा पनि जान सक्ने अवस्था छैन’, अध्यक्ष थापाले भने, ‘बन्दिपुरमा अहिले टेलिफोन, इन्टरनेट, विद्युत् र खानेपानी सेवा समेत अवरुद्ध भएको छ ।’

तीन दिनदेखि परेको अबिरल वर्षाले पहिरो जाँदा विद्युतका पोल ढाल्नुका साथै खानेपानीका मुहान र पानी संकलन ट्याङ्की समेत भत्काइदिएको छ । गाउँपालिकामा रहेका अग्ला अग्ला पहाडहरु पहिरोका कारण छियाछिया बनेका छन् । कृषकले थन्काउने बेला भएको चैते धान, मकै खेती तथा भखरै रोपेको धान खेतमा समेत बाढी पसेर ठूलो क्षति पुर्‍याएको छ ।

बन्दिपुर गाउँपालिका क्षेत्रका अधिकांश खेत बगरमा परिणत भएका छन् । पहिरोमा परी २ जनाको मृत्यु भएको छ, ७ जना घाइते भएका छन् । ठूलोमात्रमा भौतिक क्षति पुगेको गाउँपालिका अध्यक्ष थापाले बताए।

मुकुन्देश्वरी डाँडाबाट पहिरो खस्दा खानेपानीको मुहान तथा ट्याङ्की भत्काएर क्षति बनाएको बन्दिपुर निवासी नेपाली कांग्रेसका कोषाध्यक्ष रेशम गुरुङले बताए । बिगत चार दिनदेखि बन्द भएको बन्दिपुर पुग्ने मुख्य सडक डुम्रे-बन्दिपुर सडक खण्ड शनिबार साँझबाट आंशिक रुपमा सञ्चालनमा ल्याइएको छ ।

जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय तथा गाउँपालिका, स्थ्ानीय सामाजिक व्यक्तित्वहरुको संयुक्त पहलमा शुक्रबार दिउँसोदेखि सडकमा खसेको पहिरो हटाएर शनिबार साँझबाट सडकलाई आंशिक रुपमा सञ्चालनमा ल्याउन सकिएको कोषाध्यक्ष गुरुङले बताए ।

‘अत्याधिक वर्षाका कारण बन्दिपुर गाउँपालिका भित्र बाढीपहिरोले ठूलोमात्रमा जनधनको क्षति पुर्‍याएको छ । अहिले हामीले सडक सञ्जाललाई खुलाउँदै लगेका छौ’, उनले भने, ‘विद्युत, खानेपानी, सञ्चार पनि पूर्णरुपमा बन्द भएको छ । के कसरी सबै सेवा सहज बनाउन सकिन्छ भन्ने विषयमा गाउँपालिका तथा सामाजिक व्यक्तित्वहरुको पहलमा सम्बन्धित निकायलाई हारगुहार गरिरहेका छौं।’

यस्तै, करिब २० करोड रुपैयाँको लागतमा सम्पन्न भएको छापनाहाला खानेपानी ट्याङ्की पूर्ण क्षति बनाउँदा डुम्रे बजारबासीले खानेपानीको समस्या भोग्नुपरेको छ । ‘बाढीपहिरोले पुर्‍याएको क्षतिको तथ्याङ्क संकलन गर्न भ्याइसकेका छैनौं सबै वडावडालाई क्षतिको विवरण संकलन गर्न लगाएका छौं’, अध्यक्ष थापाले भने, ‘अहिले हामी बाढीपहिरोबाट प्रभावित भएका नागरिकहरुको सहज व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखि जुटेका छौ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker