तनहुँमा चितुवा आतंक हटेन

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँमा मानव र वन्यजन्तु बिचको द्वन्द्व हट्न सकेको छैन । करिव चार वर्ष अगाडिदेखि देखिएको यो समस्या हट्न नसक्दा सर्वसाधारणले त्रासपूर्ण वातावरणमा बस्नुपरेको छ । जंगली जनावर चितुवा मानवबस्तिमा आई बालबालिकालाई आक्रमण गरी ज्यानै लिन थालेपछि रोकथामका लागि विभिन्न उपायहरु अप्नाइए पनि अझै द्वन्द्व न्युनिकरण हुन सकेको छैन । २०७४ फागुन १ गते जिल्लाको भानु नगरपालिका-३ दोरदोरका ६ व्र्षीय विशाल श्रेष्ठलाई चितुवाले आक्रमण गरी ज्यान लिएको थियो । यससंगै चितुवाको आतंक सुरु भएको तनहुँमा करिव ४ वर्षको अवधिमा ११ जना बालबालिकाले चितुवाकै आक्रमणमा परी ज्यान गुमाएका छन् भने दर्जनौं बालबालिका घाइते भएका छन् ।

भानु नगरपालिकाबाट सुरु भएको चितुवा आतंक जिल्लाका अन्य पालिकाहरु आँबुखैरेनी, बन्दिपुर गाउँपालिका, व्यास, शुक्लागण्डकी नगरपालिकामा पनि बढ्यो । पछिल्लो समय बन्दिपुर गाउँपालिकाको वडा नम्बर १ र ५ क्षेत्रमा चितुवा यत्रतत्र देखिदा जनजीवन त्रसित बन्दै गएको छ । गत असोज २५ गते साँझको समयमा चितुवाको आक्रमणबाट बन्दिपुर-५ बाहुनभञ्ज्याङकी ९ वर्षीया स्वीकृति थापामगरले ज्यान गुमाउनु पर्‍यो ।

यो घटनासंगै पुनः जिल्लामा चितुवा आतंक फैलने हो कि ? भन्ने त्रास बढ्दो छ । मानवबस्तिमै आएर बालबालिकमाथी आक्रमण गर्न थालेपछि स्थानीयहरु त्रासित बनेका छन् । बिहान बेलुका घर बाहिर निस्कन समेत डरलग्ने स्थानीय लक्ष्मि गुरुङले बताइन् । ‘काम नै विहान बेलुका हुन्छ, घरमै बसिरहन पनि नमिल्ने’, उनले भनिन्, ‘बालबालिका मात्र नभई मलाई पनि एक्लै हिड्न डर लाग्छ ।’ दिनचर्या डराएरै गुजार्नुपरेको उनी बताउँछिन् । उनले भनिन्, ‘दिउँसै सडकमै बच्चासहित चितुवा देखा पर्छन् । नजिकैको पसल एक्लै जानपनि डर लाग्छ ।’

यस्तै, अवस्था सामान्य रहेतापनि चितुवाको त्रास कायमै रहेको भानु नगरपालिका-२ की सिता अधिकारी बताउँछिन् । उनले भनिन्, ‘चितुवाको कारण भानुले धेरै धनजनको क्षति व्यहोर्नु परेको छ । अहिले हामी सचेत भएका छौं र अझै पनि साँझ विहान एक्लै घरबहिरा निस्कदैनौं ।’ नगरपालिका र डिभिजन वन कार्यालयद्वारा अप्नाउन लगाइएका सावधानीका उपायहरुको पालना गर्दै आएको उनी बताउँछिन् । ‘करिव २ वर्ष जति भयो हाम्रो भानुमा चितुवाको आतंकबाट कुनै मानवीय क्षति भएको छैनन’, उनले भनिन्, ‘छिमेकी पालिकामा चितुवाले बालबालिकाको ज्यान लियो भन्ने समाचार सुन्दा अझै हामीपनि ढुक्क भएर बस्न सकेका छैनौं ।’

करिव ४ वर्षको अवधिमा चितुवाको आक्रमणबाट जिल्लाको भानुमा ६, शुक्लागण्डकी नगरपालिकामा २, बन्दिपुरमा २ र आँबुखैरेनी गाउँपालिकामा १ गरी ११ जना बालबालिकाको ज्यान गएको छ । यो समय बच्चा जन्माएर चितुवा आहारा खोज्न हिड्ने समय भएकाले सबैलाई सचेत रहन डिभिजन वन कार्यालयका वन अधिकृत कोमलराज काफ्लेले बताए । उनले भने, ‘वन्यजन्तुका आहारा सबै मानवीय गतिविधिका कारण नाश भएका छन्, त्यसैले उनीहरु मानव बस्तिमा आई आहारा खोज्ने क्रम बढेको छ र यही क्रममा आफुभन्दा साना प्राणी -बालबालिका) माथि आक्रमण गरेको अध्ययनले देखाएको छ ।’

पछिल्लो समय बन्दिपुरको वडा नम्बर १ र ५ का क्षेत्रमा चितुवा देखा परेको सव-डिभिजन वन कार्यालय बन्दिपुरका प्रमुख सुरेश भुजेलले बताए । उनले भने, ‘स्थानीयलाई साँझविहान सचेत भएर हिड्न र बालबालिकालाई एक्लै नछोड्न आग्रह गरिएको छ ।’ यो वर्षको दशै-तिहारको समयमा चितुवाले ५ वटा घरपालुवा जनवारलाई आक्रमण गरेको उनले बताए । जिल्लाका वन क्षेत्रमा आवश्यकभन्दा बढि चितुवाको संख्या रहेको आशंक गरिएको र सम्पुर्ण जिल्लाबासिलाई सचेत रहन डिभिजन वन कार्यालय तनहुँले अनुरोध गरेका छ ।

वन्यजन्तुलाई वनमै पोखरी

मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरणका लागि डिभिजन वन कार्यालय तनहुँले जिल्लाका सामुदायिक वन क्षेत्रमा १७ वटा पोखरी निर्माण गरेको छ । वन्यजन्तुलाई वनमै पानीको व्यवस्थापन गर्ने उद्देश्यले जिल्लाको भानुमा १२, देवघाट गाउँपालिकामा एक, बन्दीपुर र म्याग्दे गाउ“पालिकामा २/२ वटा पोखरी बनाइएको छ । यसका लागि कार्यालयले १४ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ ।

‘पानी र आहाराको खोजीमा वन्यजन्तु विशेष गरी चितुवा मानव बस्तीमा आएर आक्रमण गरी ज्यानै लिन थालेपछि यसको न्यूनीकरणका लागि पोखरी निर्माण गरिएको हो’, डिभिजन वन अधिकृत काफ्लेले भने, ‘वनमै पोखरी बनेपछि मृग, हरिण, चितुवा, खरायो, चराचुरुंगी लगायतलाई पानी र आहाराको पनि व्यवस्थापन हुन्छ ।’ ‘वनमै पोखरी निर्माण गर्दा मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरणका लागि मात्रै नभई पर्यावरणीय हिसाबले पनि महत्त्वपूर्ण छ,’ उनले भने, ‘पोखरीमा अन्य वन्यजन्तुजस्तै चराचुरुंगी पनि आउँछन् । चराले बिस्ट्याउँदा त्यस ठाउँमा फलफूलका बिरुवा उम्रन्छन् ।’

चितुवा समात्न पराम्परागत काठको खोर

जिल्लामा चितुवा आतंक बढ्दै गएपछि रोकथामका लागि प्रभावित क्षेत्रमा पराम्परागत काठको खोर निर्माण गरिएको थियो । काठको खोरमा थापिएको पासोमा पारेर ११ वटा चितुवा नियन्त्रणमा लिई अन्यत्र पठाइएको थियो । चितुवा नियन्त्रणका लागि भानुमा १२, आँबुखैरेनीमा ४, बन्दीपुर र शुक्लागण्डकीमा एक/एक वटा काठको परम्परागत खोरको पासो थापिएका थिए । विशेषगरी वनजंगल वरपरका मानव बस्तीमा चितुवा आएर आक्रमण गर्ने हुँदा घर छेउछाउमा झाडी पन्छाउन, घरअगाडि र करेसामा खेतीपाती गर्न कार्यालयले आग्रह गरेको छ।

चितुवाको आक्रमणमा परेकालाई राहत

चितुवाको आक्रमणबाट घाइतेको अवस्था हेरी २० हजारदेखि २ लाख रुपैयाँसम्म क्षतिपूर्तिस्वरूप राहत रकम उपलब्ध गराउने कार्यालयले जनाएको छ । यस्तै, चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारको सदस्यलाई राहत स्वारुप १० लाख रुपैयाँ सरकारले उपलब्ध गराउने गरेको डिभिजन वन कार्यालयका प्रशासन शाखा अधिकृत पुष्प खनालले बताए । चितुवाको आक्रमणबाट मृत्यु भएकालाई हालसम्म १ करोड १५ लाख बढि रकम हस्तान्तरण भएको उनले जनाए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker