बेवारिसे र बूढो गाईको संरक्षण गर्न गौ संरक्षण केन्द्र सञ्चालन

भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिका-१० स्थित मादी नदी किनारमा गाईका भीड चरिरहेका देखिन्छन् । झट्ट हेर्दा यति धेरै गाई कसले पाल्यो भन्ने मनमा उब्जिन्छ । मादी नदी किनार भतेरीमा गाई संरक्षण केन्द्र बनाइएको छ । गाई संरक्षण केन्द्रमा एक सय गाई छन् ।

छाडा चौपाया व्यवस्थापन गर्ने उद्देश्यसहित यहाँ व्यास नगरपालिकाको सक्रियतामा संरक्षण केन्द्र सञ्चालन गरिएको छ। केन्द्रमा व्यास नगरपालिका भित्रका विभिन्न ठाउँहरूबाट ल्याउने गरिएको केन्द्रका अध्यक्ष प्रजापति सापकोटाले जानकारी दिनुभयो ।

“केन्द्रमा व्यास नगरपालिकाभित्रका गाई संरक्षण गर्दै आएका छौं, केहीले झुक्याएर अन्यत्रबाट पनि ल्याएका होलान्, त्यो अब थाहा हुने कुरा पनि भएन”, सापकोटाले भन्नुभयो । केन्द्रमा रहेका गाईलाई खुवाउन परालको व्यवस्थापन नगरपालिकाले गर्दै आएको छ । केन्द्रमा तीन कर्मचारी खटाइएको छ । उनीहरूको पारिश्रमिकको व्यवस्था पनि नगरपालिकाले गर्दै आएको छ ।

तीन जनामध्ये एक जनाले घाँस काट्ने काम गर्दै आएका छन् भने दुइ जनाले केन्द्रभित्रै काम गर्ने गरेका छन् । केन्द्रमा गाई ल्याउँदा एउटा गाईको रु दुइ हजार शुल्क लिने गरिएको छ । केन्द्रमा सङ्कलन भएको रकम थप पराल खरिदका लागि खर्च गर्ने गरिएको छ ।

बर्खाका बेला गाईलाई घाँसे मैदानमा चराउने गरिएको छ । “मादी नदी किनारमा हरियो घाँसे मैदान छ, त्यही मैदानमा गाई चराउने गरिएको छ”, सापकोटा भन्नुहुन्छ, “हिउँदमा पराल खरिद गर्र्छौ ।” केन्द्रमा दूध दिन छाडेका, थुनेलो भएका, बूढा भएका र बेवारिसे भएका गाई ल्याउने गरिएको छ ।

“बूढा भएका गाई मरे केन्द्र नजिक ५० मिटर तल रहेको खाल्डो नजिक राखिदिने गरेका छौँ, मरेको गाई खान गिद्ध आउने गरेका छन्”, उहाँले भन्नुभयो, “एउटा गाई एक दिनभरमा गिद्धले खाइसक्छ, हड्डी खाल्डोमा हालेर पुर्ने गरेका छौँ ।”

दुइ सय रोपनी क्षेत्रफलमा फैलिएको केन्द्रका कारण यहाँ आसपास गिद्ध देखिन थालेका छन् । केन्द्रका कारण विगत केही वर्षयता लोप हुँदै गएको गिद्ध यहाँ आउने गरेका छन् । “गिद्ध देख्नै रहर भइसकेको थियो, अहिलेका युवापुस्ताले त गिद्धका बारेमा जान्ने अवसर पनि पाउँदैनथे होला”, उहाँले भन्नुभयो, “एउटा गाई मरेका बेला यहाँ दुइ सयभन्दा बढी गिद्ध आउँछन् ।” केन्द्र आसपास सात किसिमका गिद्ध देखिन्छन् ।

जिल्लाकै शुक्लागण्डकी नगरपालिकाले पनि छाडा चौपाया व्यवस्थापनमा लागि केन्द्र सञ्चालन गर्दै आएको छ। नगरपालिका क्षेत्रभित्र जथाभावीरूपमा चौपाया छाड्दा दुर्घटनाको जोखिम बढेपछि नगरपालिकाले केन्द्र सञ्चालन गरेको हो ।

शुक्लागण्डकी नगरपालिका-९ घारीमा रु १७ लाखको लागतमा केन्द्र बनाएर गाई संरक्षण गर्दै आइएको छ । संरक्षण केन्द्र सञ्चालनका लागि गीता महतको संयोजकत्वमा गौ संरक्षण समिति गठन गरिएको छ । दूध दिन छाडेपछि कृषकले जथाभावी गाईवस्तु छाडिदिने गरेको र पोखरा महानगरपालिकाबाट गाईवस्तु शुक्लागण्डकीमा भित्रिन थालेको थियो ।

स्थानीय तहको निर्वाचनपछि छाडा चौपायाको विषयलाई तत्काल समाधान गर्न स्थानीयवासीले नगरपालिकालाई पटक-पटक आग्रह गर्दै आएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker