म्याग्दे गाउँपालिकाले आयोजना गरेको गुडिया तथा सजावटको तालिम सम्पन्न
भञ्ज्याङ समाचारदाता (म्याग्दे)

तनहुँको म्याग्दे गाउँपालिकाले आयोजना गरेको १० दिने गुडिया तथा सजावटका सामान निर्माण तालिम सम्पन्न भएको छ । गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्तर्गत गरिएको सीप विकास तालिमको १० दिने गुडिया तथा सजावटका सामाग्री निर्माण तालिम शनिबार समापन भएको हो ।
३४ जनाको सहभागिता रहेको उक्त तालिमबाट महिलाहरुको आर्थिक स्थिति उकास्न मद्दत गर्ने समापन कार्यक्रमको प्रमुख अतिथि एवं म्याग्दे गाउँपालीकाका अध्यक्ष मायादेवी रानाले बताइन्। उनले भनिन्, ‘सीप सिकेर मात्र हुदैन यसलाई ब्यबहारमा उतादै व्यवसायिकतर्फ लग्न सके आर्थिक उपलब्धिका साथै महिलाहरुलाई उत्मनिर्भर बनाउन मद्दत गर्छ ।’ गाउँपालिका भित्रका महिला दिदीबहिनीहरूलाई आत्मनिर्भर बनाउन तालिम उपयोगी हुने उनको भनाई थियो।
गाउँपालिकाले आयोजना गरेका तालिममा महिलाहरुको उत्साहजनक सहभागिता रहेको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे बताए । उनले भने, ‘तालिममा जुन उत्साहका साथ सहभागी भएर महिला दिदी बहिनीहरुको सीप सिक्नुभयो, त्यहि उत्साह सहित भोलिका दिनमा निरन्तर दिई ब्यबहारमा उतार्न सके तालिमको सहि रुपमा सदुपयोग हुनेछ ।’
‘ठुलो लागानीनै गरेर बस्न आवश्यक छैन’, उनले भने, ‘यस्ता सीपका मध्यमबाट अब घरमै बसेर पनि केही गरौँ भन्ने भावनाका साथ आफ्नै कोठामा बसेर पनि काम गर्न सकिन्छ ।’ म्याग्दे-४ का अध्यक्ष प्रेमबहादुर थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारी, कार्यपालिका सदस्य बद्रीका घिमिरे, उद्योग शाखा प्रमुख प्रदिप न्यौपाने लगायतको सहभागीता रहेको थियो । तालिममा नन्दकुमारी राइ र कविता नेपाली प्रशिक्षक रहेका थिए भने सविता श्रेष्ठले सहजिकरण गरेको उद्यम बिकास सहजकर्ता शुष्मा नागिलाले बताइन् ।
यस्तै, तालिम लिएपछि अबका दिनमा घरमै बसेर पनि दुइ चार पैसा कमाउन सकिने आशा जागेको म्याग्दे-४ की सुकला सुनारले बताइन् । उनले भनिन्, ‘१० दिन तालिममा सिकेको सीपले धेरै उपलब्धीहरु दिने विश्वास गरेकी छु ।’
तालिमबाट सिकेको सीपको सदुपयोग गर्दै ब्यबसाय सुरु गर्ने म्याग्दे-५ की कमला आलेले बताइन् । तालिममा सहभागी हुन पाउदा खुसी लागेको बताउदै उनले भनिन्, ‘गाउँपालिकाले साच्चिकै बेरोजगार र गृहणि महिलाहरूलाई केन्द्रित गरी तालिम आयोजना गरेर हामीलाई सक्षम बनाउन मद्दत गरेको छ ।’ यस्तै गाउँपालिकाका उद्योग शाखा प्रमुख प्रदिप न्यौपानेले आयआर्जन गर्न यस किसिमको तालिम निकै प्रभावकारी भएको बताए ।










