बन्दीपुरमा तीन दिने तीज विशेष सांस्कृतिक महोत्सव गरिने

डुम्रे : ‘नेपाली संस्कृति हाम्रो पहिचान हो, यसको संरक्षण र संवर्द्धन हाम्रो साझा दायित्व’ भन्ने मूल नाराका साथ तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा तीन दिने ‘तीज विशेष सांस्कृतिक महोत्सव २०८३’ आयोजना गरिएको छ ।
आदियोगी प्रज्ञा धामको आयोजनामा आगामी भदौ २७, २८ र २९ गते बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर केवलकारको बटम स्टेशनमा महोत्सव सञ्चालन गर्न लागिएको हो । करिब ३५ लाख रुपैयाँको अनुमानित लागतमा आयोजना हुने महोत्सवमार्फत नेपाली मौलिक कला, संस्कृति, परम्परा तथा तीज पर्वको गरिमा संरक्षण गर्दै राष्ट्रियस्तरमा सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।
महोत्सवको प्रमुख आकर्षण राष्ट्रियस्तरीय तीज सांस्कृतिक प्रतियोगिता रहनेछ । दुई चरणमा सञ्चालन हुने प्रतियोगिताको पहिलो चरणबाट उत्कृष्ट ६ टोली छनोट गरी भदौ २९ गते फाइनल प्रतिस्पर्धा गराइनेछ। प्रतियोगितामा प्रथम हुने समूहले ३ लाख २ हजार रुपैयाँ, द्वितीयले २ लाख ३ हजार रुपैयाँ र तृतीयले १ लाख ४ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, तीन वटा सान्त्वना टोलीलाई प्रतिटिम १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ। अन्य स्थानमा आयोजना भएका प्रतियोगितामा प्रथम तथा द्वितीय स्थान हासिल गरेर आएका टोलीलाई समेत प्रोत्साहनस्वरूप १० हजार रुपैयाँ प्रदान गरिनेछ ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले भदौ २५ गतेसम्म दर्ता गर्नुपर्नेछ । प्रतियोगी टोलीका लागि दर्ता तथा केवलकार यात्रा पूर्ण रूपमा निःशुल्क गरिएको आयोजकले जनाएको छ ।
महोत्सवमा तीज सांस्कृतिक प्रतियोगितासँगै ख्यातिप्राप्त कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति, लाखे नाच, विभिन्न सांस्कृतिक नृत्य, एकल गायन तथा तीज दोहोरीलगायतका कार्यक्रम सञ्चालन हुनेछन् । यसले महोत्सवलाई मनोरञ्जनसँगै नेपाली मौलिक संस्कृति र लोककलाको प्रदर्शनीका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।
महोत्सवमा प्रवेशका लागि भदौ २७ गते १०० रुपैयाँ, २८ गते १५० रुपैयाँ र २९ गते २०० रुपैयाँ शुल्क तोकिएको छ । केवलकारको टिकट खरिद गर्ने दर्शकका लागि भने महोत्सव प्रवेश निःशुल्क हुनेछ । महोत्सवको अन्तिम दिन स्थानीय दर्शकलाई लक्षित गरी केवलकारको सहुलियत टिकटको व्यवस्था गरिने आयोजकले जनाएको छ ।
लक्ष्मीप्रसाद सापकोटा संरक्षक र कमला तिवारी संयोजक रहेको आयोजक समितिले महोत्सवलाई केवल मनोरञ्जनको कार्यक्रमका रूपमा मात्र नभई नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा पर्यटन प्रवर्द्धन गर्ने राष्ट्रिय अभियानका रूपमा अघि बढाउन खोजिएको जनाएको छ ।
यसैबीच, आदियोगी प्रज्ञा धामको दीर्घकालीन योजनाअन्तर्गत बन्दीपुरमा १०८ फिट अग्लो आदियोगी शिवको दिव्य प्रतिमा निर्माण भइरहेको छ । उक्त प्रतिमासहितको परियोजनाले बन्दीपुरलाई आध्यात्मिक तथा सांस्कृतिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न सहयोग पुग्ने आयोजकको अपेक्षा छ । महोत्सवले तीज पर्वको सांस्कृतिक महत्वलाई नयाँ पुस्तासम्म पु¥याउनुका साथै बन्दीपुरको पर्यटन प्रवर्द्धनमा समेत योगदान पु¥याउने विश्वास आयोजकले व्यक्त गरेको छ ।










