घरमै सामाजिक सुरक्षा भत्ता वितरण
भञ्ज्याङ समाचारदाता/डुम्रे

तनहुँको बन्दिपुर गाउँपालिका वडा नं. १ ले घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । वडाले वृद्धवृद्धा तथा विरामी भई हिड्डुल गर्न नसक्ने अवस्थाका लाभग्राहीलाई घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरेको वडा अध्यक्ष शिवकुमार श्रेष्ठले बताए ।
वडा कार्यालयले मुक्तिनाथ विकास बैंक डुम्रे शाखासंग समन्वय गरी सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । घर आँगनमै आएर भत्ता दिएकोमा वृद्धवृद्धा तथा अशक्त लाभग्राहीहरु खुसी भएको वडा सदस्य रोशनी बराकोटी राउतले बताइन् ।

यस्तै, अन्य लाभग्राहीलाई भने आफन्तको सहयोगमा वडाबाट सिफारिश लिएर भत्ता बुझ्ने गरेको सदस्य रोशनीले बताइन्। चुनावमा असक्त अपाङ्गता भएकालाई घरमै गएर भत्ता वितरण गर्ने प्रतिवद्धता जनाएको र अहिले पुरा गर्न पाउँदा खुशी लागेको वडा अध्यक्ष श्रेष्ठले बताए ।
वडा कार्यालयले अर्को पटक सबै आसक्त अपाङ्गता र बिरामीहरुको सूची तयार गरी भत्ता समयमै घरघरमा उपलव्ध गराउने तयारी गरेको अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार बुधबार २२ जना अपाङ्गता भएका र ७ जना बिरामी भई हिड्डुल गर्न नसक्ने लाभग्राहीलाई भत्ता उपलब्ध गराइएको छ ।










