पत्रकार मियाँको निधन

दमौली : भञ्ज्याङ पब्लिकेशन प्रा.लि.द्वारा प्रकाशित भञ्ज्याङ दैनिक पत्रिकाका पूर्व सम्पादक एवं प्रेस युनियन तनहुँका अध्यक्ष शेष मोहम्मद हनिफ (गोरा) मियाँको बुधबार असामयिक निधन भएको छ ।
नेपाल पत्रकार महासंघ तनहुँका पूर्व सल्लाहकार समेत रहेका मियाँ मंगलबार दिउँसो आफ्नै निवासमा अचेत अवस्थामा लड्का थिए । उनलाई तत्काल दमौलीस्थित रत्नहरि अस्पतालमा प्राथमिक उपचार पश्चात् मणिपाल शिक्षण अस्पताल, पोखरा लगिएको थियो । उपचारका क्रममा स्वास्थ्य अवस्थामा सुधार नआएपछि बुधबार दिउँसो घर ल्याइएकामा साँझ आफ्नै निवासमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
स्व. मियाँ लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहँदै प्रेस स्वतन्त्रता, पेशागत हकहित र सामाजिक उत्तरदायित्वका पक्षमा दृढ रूपमा लागि रहेका थिए । उनको निधनले तनहुँको पत्रकारिता क्षेत्रले एक जुझारु, निडर र समर्पित नेतृत्व गुमाएको र अपूरणीय क्षति पुगेको नेपाल पत्रकार महासंघ तनहुँले जनाएको छ ।
स्व. मियाँका श्रीमती, दुई छोरा र एक छोरी रहेका छन् ।










