झाँगाझोली पर्यटकको रोजाइमा

शुक्लागण्डकी : शुक्लागण्डकी नगरपालिका–६ मा रहेको झाँगाझोली पछिल्लो समय गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । पृथ्वी राजमार्गअन्तर्गत खैरेनीटारबाट करिब दुई किलोमिटर दूरीमा रहेको यस क्षेत्र आन्तरिक पर्यटकहरूको प्रमुख रोजाइ बन्न थालेको हो ।

दैनिकजसो टेम्पो, ट्याक्सी, माइक्रो, मिनीबस तथा मोटरसाइकल–स्कुटरमार्फत पर्यटकहरू झाँगाझोली पुग्ने गरेका छन् । शैक्षिक, धार्मिक तथा प्राकृतिक पर्यटनको केन्द्रका रूपमा विकास हुँदै गएको झाँगाझोलीमा मासिक औसत १० हजारभन्दा बढी आन्तरिक पर्यटक आउने गरेको स्थानीयले बताएका छन् ।

यहाँ व्यवस्थित रूपमा निर्माण गरिएको गौरादेवी नेचुरल हर्बल पार्क, लोपोन्मुख सामग्रीहरूको संग्रहालय ‘शशिधर प्रदर्शनीमार्ग’, बुद्ध पार्क, पुष्प वाटिका, सुन्दर बगैँचा तथा रुद्रकुण्ड प्रमुख आकर्षणका रूपमा रहेका छन् । बालबालिकाका लागि चिल्ड्रेन पार्क, युवायुवती तथा वयस्कका लागि पिङ तथा ज्येष्ठ नागरिकका लागि धार्मिक मठमन्दिरले झाँगाझोलीलाई सबै उमेर समूहका लागि उपयुक्त गन्तव्य बनाएको छ ।

घना जंगल र हरियालीले घेरिएको झाँगाझोलीमा पुग्ने पर्यटकहरूले प्राकृतिक सौन्दर्यसँगै शान्त वातावरणको आनन्द लिन सक्ने गरेका छन् । वनस्पति, जडीबुटी, फलफूल, नर्सरी तथा चराचुरुङ्गी अध्ययन–अनुसन्धानका लागि समेत यो क्षेत्र उपयुक्त गन्तव्य बन्दै गएको स्थानीयको भनाइ छ ।

झाँगाझोलीस्थित भिलेज रिसोर्टले पर्यटकहरूका लागि सुपथ मूल्यमा आरामदायी आवासको व्यवस्था गरेको छ । हाल रिसोर्टले १० वटा कोठामार्फत सेवा प्रदान गरिरहेको जनाएको छ । स्थानीय परिकारका रूपमा लोकल कुखुरा, लोकल माछा तथा कालिज विशेष आकर्षण बनेका छन् ।

पर्यटन प्रवर्द्धकहरूका अनुसार पारिवारिक वातावरणमा रात्रीकालीन बसाइले पर्यटकलाई अविस्मरणीय अनुभूति दिलाउने गरेको छ । स्थानीय तह, पर्यटन व्यवसायी तथा समुदायको सक्रियताले झाँगाझोलीलाई प्रदेशकै नमुना पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुगेको बताइएको छ ।











