अन्तर्राष्ट्रिय नारी दिवस : कान्छीमायाले जितिन हाफ म्याराथन
भञ्ज्याङ समाचारदाता/दमौली
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा व्यास नगरपालिकाले दोश्रो महिला हाफ म्याराथन प्रतियोगिता गरेको छ । धार्मिक स्थल व्यास परासर क्षेत्र र ऐतिहासिक स्थल तनहुँसुरलाई खेलकुदका माध्यमबाट जोड्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ महिला हाफ म्याराथन प्रतियोगिता गरिएको हो ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा तनहुँको दमौली स्थित व्यासगुफादेखि व्यास-११ तनहुँसुरसम्मको २१ किलोमिटर दुरी १ घण्टा ५५ मिनेट १२ सेकेण्डमा पार गर्दै कान्छीमाया कोजुले हाफ म्याराथनको उपाधी जितेकी छन् । नेपालकी किर्तिमानी धाविका कोजु सशस्त्र प्रहरी बल (एपिएफ) की खेलाडी समेत हुन् ।
राष्ट्रिय स्तरका दौड प्रतियोगितामा सहभागी हुँदै आएपनि साना नानीहरुलाई हौषला प्रदान गर्न आफु यो दौड प्रतियोगितामा सहभागि भएको बताएकी छन् । विजेता कोजुले आगामि दिनमा पनि यस्ता दौडा प्रतियोगितालाई निरन्तरता दिन र महिला दिदीबहिनीहरुलाई सहभागिता जनाउन आग्रह गरेकी छन् ।

यस्तै, प्रतियोगितामा नेपाल प्रहरीकी रेखा बम विष्ट द्वितीय भएकी छन् । उनले उक्त दूरी २ घण्टा ४ मिनेट ४२ सेकेण्डमा पार गरेकी थिइन् । २ घण्टा ११ मिनेट २३ सेकेण्डमा उक्त दूरी पुरा गर्दै व्यास-१० निवासी नम्रता गुरुङ तृतीय हुन सफल भएकी छन् । तृतीय भएकी गुरुङ व्यास नगर खेलकुद विकास समितिकी सदस्य हुन् । गुरुङ गत वर्ष आयोजित म्याराथनमा चौथो भएकी थिइन् ।
५१ धावकको सहभागिता रहेको प्रतियोगितामा प्रथमलाई ४१ हजार ७८ रुपैयाँ, द्वितीयलाई ३१ हजार ७८ रुपैयाँ र तृतीयलाई २१ हजार ७८ रुपैयाँका साथमा प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो । गत वर्ष आयोजित प्रतियोगिताको उपाधि धादिङकी रसिला तामाङले जितेकी थिइन् । खोटाङकी प्रिया राइ द्वितीय र पोखराकी अनिता राइ तृतीय भएकी थिइन् ।
तनहुँसुरलाई ऐतिहासिक पर्यटकीयस्थल बनाउन पहल गरिएका छौ : वरिष्ठ नेता पौडेल
त्यस्तै, महिला हाफ म्याराथनको उद्घाटन तथा पुरस्कार वितरण गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँसुरलाई ऐतिहासिक पर्यटकीय गन्तव्यस्थल बनाउन पहल गरिएको बताएका छन् । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित महिला हाफ म्याराथन प्रतियोगिताले महिलाहरुको सहभागिलाई बल पुग्ने चर्चा गरे ।
नेता पौडेलले तनहुँसुर इतिहास बोकेको ठाउँ भएको र यसको विकासका लागि सबै लागिपरेको भन्दै व्यासगुफा र तनहुँसुरलाई जोड्न आयोजित हाफ म्याराथनले यसको महत्व उजागर गर्ने बताए ।
खेलको माध्यमबाट पर्यटन प्रबर्द्धनका लागि दौड प्रतियोगिता गरिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताएका छन् । म्यारथनले सम्पूर्ण महिलाहरुलाई हौसला मिल्ने चर्चा गर्दै उनले धार्मिक महत्व बोकेको व्यास परासर क्षेत्र र ऐतिहासिक महत्वको तनहुँसुरलाई खेलकुदका माध्यमबाट जोडेर विकास गर्ने मुख्य उद्देश्य रहेको जनाएका छन् ।
महिला पनि पुरुष सरह सक्षम छन् भन्ने सन्देश दिन महिला हाफ म्याराथन आयोजना गरिएको नगर उपप्रमुख मिरा जोशीले बताइन् । नेपालको जनआन्दोलनले स्थापित गरेका महिला अधिकारहरुलाई अझै सुनिश्चितता गर्दै व्यवहारिक बनाउनुपर्ने उनको भनाइ छ ।
सधै भाषणको कार्यक्रम भन्दा खेलकुदलाई पनि जोडेर महिला दिदीबहिनीहरु पनि पुरुष सरह धावक बन्न सक्छन्, दौडिएर देखाउन सक्छन् भन्ने सन्देश दिनका लागि महिला हाफ म्याराथन प्रतियोगिता गर्न थालिएको उपप्रमुख जोशीले बताइन् ।
दमौलीको व्यासगुफादेखि अनसनचौतारी, दुर्गामन्दिर, भोर्लेटारचोक, गणेशमानचोक, वनकार्यालय, सफासडक हुँदै पृथ्वीराजमार्गको तालघरे, बाराहीरानी मार्गको रानीगाउँ, दरैपधेरा, पराजुलीचोक, पराशर मार्गको बेलटारी, खड्गकाली मार्गको चिसापानी, अर्चलचौर, धरमपानी, गङ्गलथोक, पत्यारचोक, चण्डिथान, गद्धीचौतारा हुँदै व्यास-११ स्थित ऐतिहासिक तनहुँसुरदरवारसम्म दौड गरिएको थियो ।
यस्तै, तनहुँका स्थानीय तहहरुले मंगलबार हाफ म्याराथन, श्रीमान् बोकेर दौड्ने दौड प्रतियोगिता, सासु बुहारी सम्मान लगायतका विविधि कार्यक्रम गरी ११२औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएका छन् ।










