चितुवा आक्रमणबाट घाइते बालकको उपचारका लागि आर्थिक सहयोग
भञ्ज्याङ समाचारदाता/बन्दिपुर

तनहुँको बन्दिपुर गाउँपालिका-१ बानियाटारमा बुधबार साँझ चितुवाको आक्रमणमा परी गम्भिर घाइते भएका तीन बर्षीय बालकको उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराइएको छ । घरको आँगनमा खेलिरहेको अवस्थामा चितुवाले आक्रमण गर्दा स्थानीय सुभाष परियारका तीन वर्षीय छोरा सुलभ गम्भिर घाइते भएका छन् ।
चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत घाइते बालकलाई बन्दिपुर गाउँपालिकाको कार्यालयले ३० हजार रुपैयाँ सहयोग गरेको छ । चितुवाको आक्रमणबाट घाँटी र शरीरको अन्य भागमा गम्भीर चोट लागेको छ ।
गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बालकको उपचार भैरहेको अस्पतालमा पुगेर बालककी आमा लक्ष्मीलाई उक्त रकम प्रदान गरिएको गाउँपालिका प्रवक्ता एवं वडा नं. १ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले बताए । बालकको उपचारको लागि विभिन्न व्यक्ति र संघसंस्थाले पनि आर्थिक सहयोग संकलन गरेका छन् ।
घाइते बालकको परिवारको आर्थिक अवस्था कम्जोर भएकाले उपचारका लागि स्थानीय गोजे सामुदायिक वनले पाँच हजार रुपैयाँ, उपल्लोफाँट युवा समाजले १० हजार रुपैयाँ, उपल्लोफाँट आमा समूहले ८ हजार रुपैयाँ, तल्लोटार टोलबाट ३६ हजार ७७५ रुपैयाँ, रिमाल्नी/भुडाटारबाट १० हजार ७० रुपैयाँ र गुरुङटार/स्याउलीबाट २७ हजार रुपैयाँ गरी ९६ हजार ८४५ रुपैयाँ आर्थिक संकलन गरिएको बताइएको छ ।










