बन्दीपुरको पर्यटन प्रवर्द्धन गराउन “भिजिट बन्दीपुर २०२५” घोषणा

बन्दीपुर : विश्व पर्यटन दिवसको अवसर पारेर तनहुँको पर्यटकीय नगरी बन्दीपुरलाई देश तथा विदेशमा परिचित गराउँदै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यल ‘भिजिट बन्दीपुर २०२५’ अभियान घोषणा गरिएको छ । बन्दीपुरमा शुक्रबार आयोजित कार्यक्रममा भिजिट बन्दीपुर २०२५ अभियान घोषणा गरिएको हो ।
गण्डकी प्रदेशका कृषि, भूमि, व्यवस्था तथा सहकारीमन्त्री पद्मा जिसी श्रेष्ठ र बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले उक्त अभियानको घोषणा गरेका हुन् । मन्त्री श्रेष्ठले गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनमा बन्दीपुरले ठूलो सहयोग पु¥याएको बताइन् । ‘बन्दीपुरको कला, संस्कृति, रीतिरिवाज देखेर यहाँ आउने पर्यटक आकर्षित हुने गरेको बताउँदै मन्त्री श्रेष्ठले बन्दीपुरको मौलिकता कायम राख्नुपर्छ’, उनले भनिन्, ‘बन्दीपुरलाई मौलिक सहरका रूपमा विकास गर्नुपर्छ । प्रदेश सरकार यसका लागि सहयोग गर्न तयार छ ।’
बन्दीपुर गाउँपालिकाका अध्यक्ष थापाले पर्यटकीय नगरी बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि यो अभियान घोषणा गरिएको जानकारी दिए । उनले भने, ‘बन्दीपुरको सुन्दरतालाई देशविदेशमा प्रचारप्रसार गर्ने मुख्य उद्देश्य रहेको छ ।’
गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रूपमा मनाउन लागेको थापाको भनाइ छ । थापाका अनुसार उक्त वर्षभरि नै बन्दीपुरमा पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । देशका मुख्य सहर काठमाडौँ, पोखरा, चितवन, लुम्बिनीलगायत पुगेर बन्दीपुरको प्रचारप्रसार गरिने थापाले बताए ।
पर्यटनलाई आम्दानीको मुख्य स्रोत मानेर धेरैभन्दा धेरै पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम गरिने थापाको भनाइ छ । उनले भने, ‘विशेष संरक्षित क्षेत्र तथा पौराणिक सहरका रूपमा रहेको बन्दीपुर बजारलाई थप आकर्षक बनाउन पौराणिकता झल्किने खालका कार्यक्रम सञ्चालन हुनेछ ।’
गण्डकी प्रदेशको पोखरापछिको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुरका छवटै वडाका पर्यटकीयस्थलको दिगो विकासका लागि पर्यटकीय केन्द्र बनाउने सोच राखिएको थापाको भनाइ छ। उनले भने, ‘यहाँ प्याराग्लाडिङ, जिपलाइन जस्ता सहासिक खेलहरूको सम्भाव्यता अध्ययन गरिनेछ ।’
थापाले भने, ‘गाउँपालिकाले बन्दीपुर आउने विदेशी पर्यटकका लागि यहाँका गन्तव्यस्थलबारे जानकारी दिन सजिलो होस् भन्ने हेतुले नौ भाषामा सामग्री तयार गरिसकेको छ ।’ गाउँपालिकाले नेपाली, चिनियाँ, अङ्ग्रेजी, फ्रेन्च, जर्मन, हिन्दी, स्पेनिस, सिन्हला र थाई भाषामा बन्दीपुरका बारेमा सामग्री तयार गरेको छ ।
खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यका रूपमा सूचीकृत गरेको छ ।
बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्यान्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्यान्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्यान्ड, ताइवान, स्विटजरल्यान्ड, मलेसिया, होल्यान्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाका पर्यटक आउने गरेको तथ्याङ्क रहेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले जानकारी दिए ।
भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरू, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायत स्थलहरू यहाँ आउने पर्यटकहरूको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृंखला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ ।
प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ«े, धौलागिरिलगायत हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ ।










