कांग्रेसले कुन दिन प्रचण्डको हात छाडिदिन्छ : एमाले नेता बस्नेत
भञ्ज्याङ समाचारदाता/दमौली

नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतले एमालेको सहयोगमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले एक दिन हात छाडिदिने बताएका छन् ।
राष्ट्रिय युवा संघ तनहुँको बिहीबार दमौलीमा आयोजित नवौं अधिवेशन उद्घाटन गर्दै कांग्रेसले प्रधानमन्त्री नदिएपछि बालकोट आएर एमालेको सहयोगमा प्रधानमन्त्री बनेका प्रचण्डलाई कांग्रेसले एक दिन हात छाडिदिने बताए ।
‘कांग्रेससले कुन दिन हात छाडिदिन्छ, त्यो दिन एमालेले उनलाई हात थाम्ने वाला छैन’, उनले भने ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एकदिन भड्खालामा पर्छन । प्रचण्ड भड्खालामा परेको दिन एमालेले हात थाम्ने छैन ।’
‘प्रचण्डले सुध्रिने मौका गुमाए’, नेता बस्नेतले भने, ‘प्रचण्ड, माधव नेपाल र झलनाथ खनालले सिंगो कम्युनिष्ट आन्दोलनलाई ओरालो बाटोमा हिडाए । आज उनीहरुले केही थान मन्त्री पाउलान्, तर कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने अभियानमा उहाँहरु लाग्नुभयो ।’










