तनहुँमा ५५ प्रतिशत मत खस्यो, १ नं. क्षेत्रको १ बजे र २ नं. क्षेत्रको १२:३० बजेबाट मतगणना
भञ्ज्याङ समाचारदाता/तनहुँ

तनहुँमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । आइतबार बिहान ७ बजेबाटै उत्साहपूर्ण रुपमा सुरु भएको मतदान कार्य साँझ ५ बजे सम्पन्न भएको थियो । जिल्लाका २ वटा निर्वाचन क्षेत्रमा रहेका १४२ वटै मतदान स्थलमा कायम गरिएका ३०५ मतदान केन्द्रमा बिहान सातबाजेबाटै मतदान कार्य सुरु भएको थियो ।
आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा करिब ५५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । बिहान ७ बजेदेखि ५ बजेसम्म जिल्लामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।
निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले करिब ५५ प्रतिशत मत खसेको जानकारी दिए । उनले भने, ‘एकिन तथ्याङ्क आउन केही समय लाग्छ, करिब ५० देखि ५५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान हामीले गरेका छौं ।’
उनका अनुसार जिल्लाभर मतदानका क्रममा अप्रिय घटना भएन । उनले भने, ‘शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ, मतदान केन्द्रबाट मतपेटिका ल्याइदै छ ।’ जिल्ला कारागारमा रहेको अस्थायी मतदान केन्द्रबाट पहिलो मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेको थियो ।
क्षेत्र नम्बर १ अन्तर्गतका १५२ मतदान केन्द्रबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौली ल्याइएको छ । त्यस्तै क्षेत्र नम्बर २ अन्तर्गतका १५३ मतदान केन्द्रबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालय दुलेगौडा स्थित शुक्लागण्डकी नगरपालिकाको कार्यालयमा ल्याइएको छ । ढकालका अनुसार राति अबेरसम्म मतपेटिका आएपछि मतगणना कहिलेबाट गर्ने भन्ने बारेमा सहमति गर्छौ।
तनहुँ क्षेत्र नम्बर १ मा रहेका १ लाख २३ हजार ४९० मतदाता रहेकोमा ६७ हजार १३० र क्षेत्र नं. २ मा १ लाख २५ हजार ५ मतदाता रहेकोमा ६८ हजार २८४ मत खसेको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरिएको छ । २ लाख ४८ हजार ४९५ कूल मतदाता रहेकोमा १ लाख ३५ हजार ४१४ मत खसेको प्रारम्भिक तथ्याङ्क छ । अघिल्ला निर्वाचनमा जस्तो यस निर्वाचनमा मतदाता मतदान प्रक्रियामा न्यून सहभागिता देखिएको थियो ।
यस्तै, तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेल, एकबहादुर राना र गोविन्दराज जोशीले आ-आफ्नो मतदान केन्द्रबाट बिहान ७ बजेनै मतदान गरेका छन् । नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार पौडेलले व्यास-२ सत्यवती मावि, नेकपा एमालेका तर्फबाट रानाले भानु-३ स्थित मतदान केन्द्र र जोशीले भानु-११ रुपाकोटमा रहेको मतदान केन्द्रबाट मतदान गरेका थिए ।
यस्तै, तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार किरण गुरुङले मतदान गरेका छन् । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री गुरुङले भिमाद नगरपालिका-९ स्थित भिमाद सामुदायिक भवनबाट मतदान गरेका हुन् । मतदानपछि गुरुङले तनहुँ क्षेत्र नम्बर २ मा एमालेको जित निश्चित रहेको बताएका छन् ।
बाम-लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले भानु नगरपालिकाको आफ्नै मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले आफुलाई भने मतदान गर्नबाट बञ्चित भएका छन् ।
यस्तै, अन्य राजनीतिक दलका उम्मेदवारहरुले पनि आ-आफ्नो मतदान केन्द्रबाट मतदान गरेका छन् । प्रदेशसभा सदस्यका उम्मेदवारहरुले पनि आ-आफ्नो मतदान केन्द्रबाट मतदान गरेका थिए ।
निर्वाचनलाई शान्तिपूर्ण, भयरहित, मर्यादित र निष्पक्षरूपमा सम्पन्न गर्नका लागि निर्वाचन आयोगबाट जारी आचारसंहितालाई पालना गर्दै निर्वाचन सम्पन्न गराउन आ-आफ्नो क्षेत्रबाट सहयोग गर्ने राजनीतिक दलहरुले प्रतिवद्धता जनाएका थिए ।
तनहुँमा कायम गरिएका १४२ वटा मतदान स्थललाई तीन वर्गमा वर्गीकरण गरी आवश्यक सुरक्षा व्यवस्थापन मिलाइएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताए । तनहुँका ६ वटा मतदान स्थल अतिसंवेदनशिल, ५२ वटा मतदान स्थल संवेदनशिल र ८४ वटा मतदान स्थललाई सामान्यमा वर्गीकरण गरिएका थिए । निर्वाचनका लागि ३३३ जना सशस्त्र प्रहरी, ४८६ जना नेपाली सेना, ७७८ जना नेपाल प्रहरी र १ हजार ३९२ जना म्यादी प्रहरी परिचालित गरिएको थियो ।
तनहुँको १० स्थानीय तहका ८५ वटा वडामा रहेका ३०५ मतदान केन्द्रबाट २ लाख ४८ हजार ४९५ जना मतदातालाई मतदान गरनाउनका लागि २ हजार ४४० जना कर्मचारी खट्टएिका थिए । यस्तै, जिल्लाका दुबै निर्वाचन क्षेत्रमा सोमबार बिहानबाट मतगणना गर्ने तयारी गरिएको छ । राती अबेरसम्म मत पेटीका संकलन कार्य भएको र बिहान र्सवदलीय बैठक बसी मतगणना कार्य अगाडि बढाउने तयारी गरेको क्षेत्र नं. २ का निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी गराए ।










