भट्टराइलाई जिताउनुस् मन्त्री बन्ने निश्चित छ : कांग्रेस नेता सिंह
भञ्ज्याङ समाचारदाता/बन्दिपुर

नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले तनहुँबाट गोविन्द भट्टराइलाई जिताए मन्त्री बन्ने प्रवल सम्भावना रहेको बताएका छन् ।
तनहुँको बन्दिपुरमा आयोजित गठवन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेता सिंहले केन्द्रमा गठवन्धनको सरकार भएको र गोविन्द भट्टराइ उच्च कदको नेता भएकाले सम्भावना बढी भएको उनले बताएका छन् । नेपाल विद्यार्थी संघ केन्द्रीय सभापति भएको र आफ्नो कार्यकालमा कुशलता पूर्वक कार्य गरेकाले मन्त्री बन्ने अवसरमा आउने र त्यसको लागि आफूले पनि पहल गर्ने नेता सिंहले बताए ।
सिंहले आफू मन्त्री हुँदा भट्टराइले तनहुँका लागि धेरै शिर्षकमा बजेट माग्न धाएको र अन्य मन्त्रालयमा पनि धाएर बजेट पारेको स्मरण गर्दै सिंहले पदमा नहुँदा पनि जनताको लागि काम गर्ने नेता भट्टर्राई भएको बताए । ‘कैयौंपटक लौ न मेरो क्षेत्रमा बाटोको लागि, पानीको लागि, स्वास्थ्यको लागि बजेट चाहियो भन्दै आउनुहुन्थ्यो’, उनले भने ।
भट्टराइले देशको, जिल्लाको र आफ्नो क्षेत्रको सेवा गर्छु भन्दै आउँदा खुल्ला दिलले स्वागत र सम्मान गरी मतदान गरेर जिताउन उनले आग्रह गरे । उनले भने, ‘जनताको कामलाई कसरी सम्बोधन गर्ने भन्ने भावना भट्टर्राईमा छ । सुखदुःख र अप्ठ्यारो बुझने नेता भट्टराइ हुन् ।’
अर्को प्रसङ्गमा सिँहले कांग्रेसका पुर्व सहमहामन्त्री गोविन्दराज जोशीको बारेमा केन्द्रीय स्तरमा छलफल भइरहेको र चाडै समस्याको समाधान हुने प्रश्यास भईरहेको बताए । सिंहले स्वतन्त्रबाट उठेका स्वर्णिम वाग्ले अवसर पाउनजेल कांग्रेसबाट अवसर लिएको र नपाएपछि पार्टी छोडेर हिँडेको हुँदा अवसरवादी नेता भएको आरोप लगाए ।
नेकपा माओवादी केन्द्रका नेता हरिबहादुर चुमानले गठबन्धनले उपयुक्त उम्मेदवार दिएको बताए । उनले भने, ‘अहिलेसम्म निष्ठा, आदर्शको राजनीति गरिरहनु भएको छ । सरल र सहज नेतृत्वको प्रस्ताव सारेको छ जीत सुनिश्चित छ ।’
यस्तै, नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री शंकर भण्डारीले गोविन्द भट्टराइलाई भोट हाल्न पाउनु तनहुँवासीको लागि गौरवको विषय भएको बताए । बन्दिपुर-५ मा बुधबार आयोजित सत्तागठबन्धनको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्याग र समर्पण र निरन्तर राजनीतिमा सक्रिय भएका नेता भट्टराइ भएकाले तनहुँवासीले गौरवको विषय भएको बताए ।










