बाँझो जमिनमा सहकारीको सामूहिक खेती
भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिका-१० दुम्सी स्थित सिसुवा भतेरी कृषि सहकारीले खेर गइरहेको बाँझो जमिनको सदुपयोग गरी सामूहिक खेती गर्दै आएको छ । संस्थाले सोही ठाउँस्थित मादीनदी किनार नजिकै रहेको सिसुवा भतेरीका जग्गामा मौसम अनुरुपको बाली लगाउँदै आएको हो ।
सहकारी संस्थाले सामूहिक खेती गरेर विपन्न समुदायको आयवृद्धिमा सहयोग गर्न थालेपछि आफ्नो जमिन नभएका आलु तथा धान लगाउन अँधिया खोज्दै अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । सहकारीले अतिसीमान्तकृत बोटे, अल्पसंख्यक दरै, दलित तथा विपन्न व्यक्तिको आयआर्जनका लागि सामूहिक खेती गर्ने अवसर दिएपछि उनीहरू खुसी भएका छन्। विपन्नको आयआर्जनका लागि वडा कार्यालयले १० वर्षा लागि सो र्सार्वजानिक जग्गा निःशुल्क प्रयोग गर्न दिएको हो । विगत चार वर्षघि देखि नै सामूहिक खेती गर्दै आएको सहकारीका अध्यक्ष यज्ञप्रसाद शर्माले बताए ।
सहकारीले आयआर्जनका लागि करिब रु एक लाखको लागतमा जमिन सम्याएर खेत बनाएपछि खेती गर्न थालेको उनले बताए । सहकारीले राम्रो कार्य गरेको भन्दै व्यास नगरपालिकाले सामूहिक खेतीका लागि रु १७ लाख पर्ने ट्रयाक्टर सहयोग गरेपछि थप उत्साहित भएको सो संस्थाले जनाएको छ।
चरिचरन बन्द गरी स्थानीय उपभोक्ताले नै प्रयोग गर्नुस् भनेर भेला राखेर सहकारीमार्फ सामूहिक खेतीको प्रयास गरिएको वडाध्यक्ष तुलसीराम सापकोटाले बताए । जसको जग्गा छैन उनीहरूलाई प्राथमिकता दिएर समूह बनाइएको छ । ‘मैले काम पाइनँ, मैले गरी खान पाइनँ’ भन्नेहरूका लागि सहकारीले सामूहिक खेतीलाई प्राथमिकता दिएपछि उक्त समस्या हटेको उनले बताए ।
उक्त स्थानमा रहेको करिब २५ रोपनी सार्वजानिक जग्गा विपन्न समुदायका लागि प्रयोग गर्न दिइएको छ । सहकारीले पराल सोही ठाउँस्थित गौ संरक्षण प्राङ्गरिक मल उत्पादन तथा सरसफाइ केन्द्रलाई दिइने गरिएको छ । केन्द्रले गाईको मल तथा मूत्र सामूहिक खेतीका लागि दिने गरेको छ । स्थानीय गाईको मल र मूत्र प्रयोग गरिएकाले खेती राम्रोसँग फस्टाएको र विषादी प्रयोग नगरी अर्ग्यानिक उत्पादन गरिएको छ ।
सहकारीले मौसम अनुसारको विभिन्न तरकारी, धान तथा माछापालन गर्दै आएको चण्डीदेवि राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक श्रीकृष्ण आचार्यले बताउनुभयो । सहकारीमा आबद्ध भई सामूहिक खेती, गाईभैँसीको दूध बिक्री गर्ने गरेकाले मासिक १५ हजारदेखि ३० हजारसम्म आम्दानी गर्न थालेको उहाँले जानकारी दिनुभयो। संस्थामा ३२६ आबद्ध छन् । आफ्नो जमिन नहुने विपन्नका लागि भने सामूहिक खेतीमा आबद्ध गराएको छ । हाल १०९ जना सामूहिक खेतीमा आबद्ध भइसकेको सो सहकारीलेले जनाएको छ ।










