१५ वर्षपछि घाँटु नाच !
भञ्ज्याङ न्यूज

तनहुँको आँबुखैरेनी गाउँपालिका-५ स्थित भोटेश्वाँरामा शुक्रबार घाटु नाच प्रस्तुत गर्दै गुरुङ समुदायका किशोरीहरु ।
छिम्केश्वरी भोटेश्वाँरा बाउ तथा आमा समुहको आयोजना तथा स्थानीय युवाहरुको सक्रियतामा लोपको संघारमा पुगेको सति घाँटु नाँच १५ वर्षपछि नचाइएको स्थानीय कन्यादेवी माविका प्रधानाध्यापक सुर्यमानसिंह गुरुङले जानकारी गराए । वैशाख शुक्ल पूर्णीमादेखि सुरु भएको घाँटु नाँच सोमबारसम्म चार दिनसम्म नचाइने भएको छ ।
गुरुङ सस्कृति अनुसार माघ महिनामा बसन्त पञ्चमीबाट शुरु भएको घाँटु नाँच वैशाख पूणिर्मापछिको पञ्चमीमा समापन गरिन्छ । पछिल्लो समय घाँटुनाच पुस्तान्तरण हुन नसक्दा लोप हुँदै गएको छ । सती र बाह्रमासे गरी घाँटु नाँच दुइ प्रकारको हुन्छ ।

सतिघाँटु श्रीपञ्चमीमा शुरु भई वैशाख पूणिर्मामा अन्त्य गरिन्छ भने बाह्रमासे घाँटु जुन बेलापनि नाच्ने गरिन्छ । गुरुङ समूदायको ऐतिहासिक घटनाक्रमसँग जोडिएको घाँटु नृत्य पनि ठाउँअनुसार फरक-फरक पाइए पनि सबै ठाउँमा नाचिने घाटुको कथा भने एउटै हुने घाटु गुरुहरु बताउँछन् ।
सत्रौं सताब्दीदेखि घाँटु नृत्यको प्रारम्भ भएको मानिन्छ । यस नृत्यमा रजश्वला नभएका दुइजना कन्यालाई स्थानीय भेषभूषामा सजाई मध्ययुगिन राजा परशुराम र रानी आम्पावतीको प्रतीकका रूपमा घाँटु नृत्यको प्रारम्भ गरिन्छ । लमजुङ कास्की लगायतका जिल्लाहरुमा दुइ कन्यालाई मात्र नचाईने गरिए पनि तनहुँ, चितवन, गोरखा लगाष्तका स्थानहरुमा ३ कन्या वा विजोर संख्या पारी जति पनि कन्याहरुलाई समावेश गरेर घाँटु नचाउने प्रचलन छ ।

घाँटु नृत्यको गीतमा मानिसको जीवनशैली, जन्म, कर्म, श्रृंगार, बिहेवारी, शिकार, माछा मार्ने, खेतीपाती तथा युद्धबारे व्याख्या तथा अभिनय गर्ने गरिन्छ । गुरुङ समूदायको महत्वपूर्ण संस्कृतिको रुपमा रहेको घाँटुनाच पछिल्लो समय उत्सवको रुपमा पनि मनाउन थालिएको छ ।
परम्परागत संस्कृतिको संरक्षण गर्न तथा गुरुङहरुको पहिचानलाई जोगाउन विशेष महत्वका साथ विभिन्न मेला महोत्सवमा पनि घाँटु नाच पर््रदर्शन गर्न थालिएको छ ।











