बहुउद्देश्यीय कृषि फार्ममा कालिजदेखि भैँसीसम्म

तनहुँको शुक्लागण्डकी नगरपालिका–१० गैराबारीस्थित युनिक बहुउद्देश्यीय कृषि फार्म एक सय तीन रोपनी क्षेत्रफलमा फैलिएको छ । कृषि फार्ममा कालिज, हाँस, लोकल कुखुरादेखि भैँसीसम्म पालन गरिएको छ ।

कृषि र पशुपालनलाई एकीकृतरुपमा लैजाने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित हरिबहादुर खड्काले विसं २०७४ देखि बहुउद्देश्यीय फार्म सञ्चालनमा ल्याउनुभएको थियो । नेपालमा रोजगारी नभएको भन्दै युवा विदेशिरहेको अवस्थामा उहाँले करोडौंँको लगानीमा उक्त फार्म सञ्चालन गर्नुभएको हो ।

पाडापाडीसमेत गरी एक सय भैँसी रहेको सो फार्मबाट दैनिक तीन सय ५० लिटर दूध उत्पादन हुने गरेको र उत्पादित दूध खैरेनीटार तथा दुलेगौडामा रहेको विक्री केन्द्रमार्फत विक्री भइरहेको छ । “खैरेनीटार र दुलेगौडा बजारमा एक÷एक वटा बिक्री केन्द्र राखेर दूध बिक्री भइरहेको छ, दूध बिक्रीका लागि बजारको समस्या छैन”, कृषक खडकाले भन्नुभयो, “माग बढी भएकाले दूध उत्पादन वृद्धि गर्नुपर्ने भएको छ ।”

फार्ममा एक हजार पाँच सय कालिज रहेकामा एक हजार कालिज बिक्री भइसकेको छ भने हाल पाँच सय कालिज छन् । त्यस्तै पाँच सय हाँस पालिएको छ । लोकल कुखुराको प्रवद्र्धनका लागि तीन हजार पाँच सय कुखुरापालन गरिएको छ । हालसम्म लगानी रु ११ करोड पुगेको उहाँले बताउनुभयो । “भौगोलिक अवस्थाका कारण लगानी केही बढेको छ, फार्मसम्म पुग्ने बाटो निजी खर्चमा ढलान गरेका छौँ, मान्द्रेबजारदेखि निजी खर्चमा नै थ्री फेज लाइन विस्तार गरिएको छ”, कृषक खड्काले भन्नुभयो ।

फार्ममा दस आवासीय कर्मचारी छन् । घाँस काट्नका लागि आवश्यकताअनुसार थप जनशक्ति राख्ने गरिएको छ । बाह्र वर्ष नेपाली सेनामा बिताउनुभका खड्काले एघार वर्ष आबुधाबी प्रहरीमा काम गर्नाका साथै स्वदेश फर्किएर युनिक डिपार्टमेन्टल स्टोर्सबाट व्यावसायिक यात्रा सुरुआत गर्नुभएको थियो ।
“स्वदेशमै परिवारसँग बसेर कृषि पेसा अँगाल्न सके राम्रो आम्दानी छ, विदेश जाँदा खर्चिने रकम कृषि र पशुपालनमा लगानी गर्ने हो भने त्यहाँ कमाउने जति रकम परिवारसँगै रमाएर यहीँ कमाउन सकिन्छ”, उहाँले भन्नुभयो ।

“जबसम्म कृषि काम गर्नेलाई सम्मान गर्न सकिदँैन तबसम्म अन्य कुरा गर्न सक्दैनौँ, तीन तहको सरकारले कृषिलाई बढी प्राथमिकता दिनुपर्छ”, कृषक खड्काले भन्नुभयो, “राज्यले गरेको लगानी उत्पादनसँग जोड्न सक्नुपर्छ ।”

व्यावसायिकरुपमा कृषि गरेकालाई राज्यले सहयोग नगरेको उहाँको गुनासो थियो । निर्वाहमुखी कृषि गरेकालाई बढी प्राथमिकता दिने गरिएको गुनासो गर्दै उहाँले भन्नुभयो, “झोलामा कृषि गरेकाले अनुदान पाएका होलान्, तर व्यावसायिकरुपमा गर्नेलाई कम प्राथमिकता छ ।”

आफूहरुलाई पशुपालनसम्बन्धी ज्ञान नहुँदा केही समस्या भएको जानकारी दिँदै कृषक खड्काले भन्नुभयो, “शुक्लागण्डकी नगरपालिकालाई १५ दिनमा एक पटक चिकित्सक पठाइदिनुस् भनेर आग्रह गरिरहेका छौँ । प्राविधिक सल्लाह र सामान्य औषधि उपचारका कुराहरु गरिदिए हामीलाई सहज हुन्थ्यो ।”

फार्मले प्राङ्गारिक तरकारी उत्पादन गर्ने अवधारणा बनाएको र कृषि पर्यटनलाई जोड दिएको छ । कृषि र पशुपालनलाई पर्यटनसँग जोडेर घरबास सञ्चालन गर्ने योजना बनाइएको छ । त्यसका लागि फार्म परिसरमा घुमाउने घर बनाइएको छ । लोप हुने अवस्थाका घुमाउने घरलाई संरक्षण गरिएको उहाँले बताउनुभयो ।

“लोप हुने अवस्थामा पुगेका पुराना कृषि सामग्रीलाई सङ्ग्रहालयको रूपमा घुमाउने घरमा राख्ने तयारी छ । यसका लागि ढिकी, जाँतो, कुटो, कोदालो, हँसियालगायत सामग्री सङ्कलन भइरहेको छ” खड्काले भन्नुभयो, “घरबासमा बास बस्न आउने पर्यटकलाई आफ्नै फार्ममा उत्पादन भएको प्राङ्गारिक परिकारका स्वाद चखाउँछौँ ।” रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker