भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार

काठमाडौँ : रसुवाको भोटेकोशी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि १३ हजार २९५ सुरक्षाकर्मी, १५ हेलिकप्टर तथा विभिन्न निकायका विषयगत आपतकालीन समन्वय टोली परिचालन गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए)ले भदौ ११ गते राति १०ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, स्वास्थ्य सेवा, सञ्चार तथा विद्युत् पुनःस्थापना, सडक सञ्चालन, राहत वितरण, अन्तरराष्ट्रिय सहायता तथा सूचना व्यवस्थापनका लागि १२ विषयगत आपतकालीन समन्वय टोली गठन गरी परिचालन गरिएको जनाएको हो ।

प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाका छ र निजी क्षेत्रका नौ गरी १५ हेलिकप्टर उद्धार तथा राहत कार्यमा परिचालन गरिएका छन् । स्थलगत तथा हवाई उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसहित ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रतिवेदनमा उद्धारसम्बन्धी विवरणअनुसार हालसम्म जम्मा एक हजार ९७६ जनाको उद्धार गरिएको उल्लेख छ ।

बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई तीव्र बनाउन नेपाल प्रहरीका सात हजार २५०, नेपाली सेनाका चार हजार २०० र सशस्त्र प्रहरी बल नेपालका एक हजार ८४५ गरी कुल १३ हजार २९५ सुरक्षाकर्मी परिचालन गरिएको छ ।

हिम–चट्टान खस्दा आएको बाढी

प्राधिकरणको विवरणअनुसार २०८३ भदौ १० गते नेपाल–चीन सीमास्थित ल्हेन्दे खोलाको उत्तरी क्षेत्रमा करिब एक वर्ग किलोमिटर क्षेत्रफलको हिम–चट्टान खसेर ठूलो भू–चाल उत्पन्न भएको थियो । उक्त घटनाले म्याग्निच्युड ५.२ बराबरको भूकम्पीय सङ्केत दिएको बताइएको छ । हिम–चट्टान खस्दा भोटेकोशी तथा त्रिशूली नदी तटीय क्षेत्रमा भीषण बाढी आएको र त्यसबाट व्यापक क्षति भएको प्राधिकरणले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा तत्काल खोज, उद्धार, आपतकालीन स्वास्थ्य सेवा, सञ्चार तथा विद्युत् पुनःस्थापना, सडक सञ्जाल सञ्चालन, राहत वितरण, अन्तरराष्ट्रिय सहायता र सूचना व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ ।

१३० घाइते, अस्पतालमा उपचार जारी

प्राधिकरणको विवरणअनुसार बाढीबाट हालसम्म १३० जना घाइते भएका छन् । तीमध्ये ६७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको, ४८ जना उपचारपछि ‘डिस्चार्ज’ भएका र १४ जनालाई थप उपचारका लागि अन्यत्र रिफर गरिएको छ ।

नौ सय ७७ जना सम्पर्कविहीन

प्राधिकरणको विवरणअनुसार हालसम्म ९७७ जना सम्पर्कविहीन रहेको उल्लेख छ । त्यस्तै बिहीबार राति १०ः०० बजेसम्ममा ३८९ जनाको शव फेला परेको छ । फेला परेका शवमध्ये धादिङमा ३३, नुवाकोटमा २८, रसुवामा १७, गोरखामा ३२, नवलपरासी पूर्वमा ८७, नवलपरासी पश्चिममा २७, तनहुँमा २८ र चितवनमा १३७ रहेका छन् ।

सम्पर्कविहीन ९७७ जनामध्ये नेपाल प्रहरीका २८, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका चार र रसुवाका १६१ जना रहेका छन् । प्रतिवेदनमा सम्पर्कविहीन विदेशी नागरिकको सङ्ख्या ५१७ रहेको तथा नेपाल घुम्न आएका र विदेशमै बस्ने नेपाली नागरिकमध्ये १२७ जना सम्पर्कविहीन रहेको विवरण राखिएको छ ।

सडक खुलाउन विभिन्न स्थानमा उपकरण परिचालन

बाढीका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउन विभिन्न सडकखण्डमा उपकरण परिचालन गरिएको छ । देवीघाटको सडक अवरोध हटाउने काम सम्पन्न भइसकेको छ । गल्छी–विदुर–त्रिशूली तथा बैरेनी–मुग्लिन सडकखण्डमा अवरोध हटाउन उपकरण परिचालन गरिएको छ ।

धुञ्चे–ग्राङ सडकखण्डमा एउटा हिल एक्साभेटर, एउटा लोडर र एउटा टिपर परिचालन गरिएको छ । त्यस्तै, विदुर–त्रिशूली–ढुङ्गे खण्डमा तीनवटा भारी उपकरण परिचालन गरिएको छ । बैरेनी–मुग्लिन खण्डमा एउटा ब्याकहो परिचालन गरिएको छ भने थप एउटा ह्विल लोडर नुवाकोट सडक डिभिजनबाट छिट्टै थप गर्ने तयारी गरिएको छ ।

सडक अवरोध हटाउने कार्यलाई थप प्रभावकारी बनाउन सडक विभागअन्तर्गत काठमाडौँका दुई भारी उपकरण तयारी अवस्थामा राखिएका छन् । सडक डिभिजन मुलकोट र सडक डिभिजन डुम्रे (खैरेनी) मा पनि एक–एक वटा उपकरण राखिएका छन् । त्यस्तै जनकपुरमा नौवटा भारी उपकरण र चार वटा टिपर तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ ।

तीन जिल्लामा तत्काल राहत

नेपाल सरकारले तत्काल राहत कार्य वितरणका लागि रसुवामा रु एक करोड, नुवाकोटमा रु एक करोड र धादिङमा रु ५० लाख गरी कुल दुई करोड ५० लाख नगद पठाएको जनाइएको छ ।

त्यस्तै, काठमाडौँलगायत क्षेत्रबाट राहत सामग्री प्रभावित क्षेत्रतर्फ पठाइएको छ । प्रभावित परिवारलाई खाद्यान्न, पानी, त्रिपाल, कम्बल, सुत्ने सामग्री, सोलार बत्ती, जेनेरेटर, पावर बैंक, सरसफाइ तथा स्वास्थ्यसम्बन्धी सामग्रीलगायत वितरण भइरहेको छ ।

प्राधिकरणको विवरणअनुसार राहतका लागि ५०० झुल, चार हजार २०० वटा २० लिटरका बाल्टिन, एक हजार वटा बालबालिकाका डिग्निटी किट, १०० वटा सेतो टार्पोलिन, १५० वटा स्लीपिङ ब्याग, १०० म्याट्रेस, ७०० वटा कम्बल, ५०० वटा प्लास्टिक सिट, १०० रोल डोरी, एक हजार वटा सोलार ल्याम्प, ५०० वटा सोलार ल्याम्प प्लेट, ३० केभिए क्षमताको एक वटा जेनेरेटर, पावर बैंक, २०० हाराहारी टेन्ट, दुई वटा पोर्टेबल जेनेरेटर, दुई हजार १२० वटा पिरियड प्यान्टी र ९० वटा शव राख्ने ब्याग पठाइएको विवरणमा उल्लेख छ ।

इन्धन आपूर्ति सहज बनाउन तयारी

नुवाकोटका भैरवी, सूर्यमती र पञ्चकन्या आयल स्टोरमा २३ हजार लिटर डिजेल र छ हजार लिटर पेट्रोल मौज्दात रहेको प्राधिकरणले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा इन्धनको अभाव हुन नदिन बिहीबार १८ हजार लिटर डिजेल र १८ हजार लिटर पेट्रोल पठाइएको छ ।

विभिन्न १२ विषयगत आपतकालीन समन्वय टोली परिचालन

बाढी प्रतिकार्यलाई समन्वित र प्रभावकारी बनाउन १२ विषयगत आपतकालीन समन्वय टोली गठन गरिएको छ । ती टोलीमा खोज, उद्धार तथा स्थानान्तरणदेखि सञ्चार, विद्युत्, स्वास्थ्य, शव व्यवस्थापन, अन्तरराष्ट्रिय सहायता, यातायात, क्षति मूल्याङ्कन, राहत र हवाई सञ्चालनसम्मका क्षेत्र समेटिएका छन् ।

सर्च, रेस्क्यु एन्ड इभ्याकुएसन टोलीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण रहेका छन् । त्यस्तै, इमर्जेन्सी हेल्थ एन्ड मेडिकल रेस्पोन्स टिममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाली सेना र गृह मन्त्रालय रहेका छन् । शव व्यवस्थापन टोलीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सशस्त्र प्रहरी बल नेपाल, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रहेका छन् ।

इन्टरनेसनल असिस्टेन्स एन्ड डोनर कोअर्डिनेसन टोलीमा अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, समाज कल्याण परिषद्, नेपाली सेना र गृह मन्त्रालय रहेका छन् । ट्रान्सपोर्ट एन्ड रोड कनेक्टिभिटी टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, नेपाली सेना, सडक बोर्ड, यातायात व्यवसायी महासङ्घ, नेपाल प्रहरी र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण रहेका छन् । ¥यापिड ड्यामेज एन्ड निड्स एसेसमेन्ट टोलीमा राष्ट्रिय योजना आयोग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय तथ्याङ्क कार्यालय रहेका छन् ।

मिसिङ पर्सन्स एन्ड फ्यामिली असिस्टेन्स टोलीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेना रहेका छन् । राहत अर्थात् खाद्यान्न, पानी तथा अत्यावश्यक सामग्री व्यवस्थापन टोलीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा स्वास्थ्य तथा खाद्य स्वच्छतासम्बन्धी निकाय रहेका छन् ।

त्यसैगरी एयरपोर्ट एन्ड एयर अपरेसन्स कोअर्डिनेसन टोलीमा नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाली सेना, निजी वायुसेवा कम्पनी तथा गृह मन्त्रालय रहेका छन् । त्यस्तै, सकुशल उद्धार गरिएका, बेपत्ता तथा मृतकको नाम सार्वजनिक गर्ने कार्यका लागि गृह मन्त्रालय तथा नुवाकोट र रसुवाका सहायक प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी दिइएको छ । सम्पर्कविहीन व्यक्तिको विवरण सङ्कलन तथा खोजीका लागि सेतु एपमार्फत ट्याकिङको व्यवस्था गरिएको छ ।

इमर्जेन्सी कम्युनिकेसन रेस्टोरेसन टोलीमा सूचना तथा सञ्चार मन्त्रालय, गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम र एनसेल रहेका छन् । बाढीका कारण प्रभावित सञ्चार पूर्वाधार पुनःस्थापना तथा आपतकालीन सञ्चार सेवा सञ्चालनमा यो टोली परिचालित हुनेछ ।

त्यस्तै इलेक्ट्रिसिटी रेस्टोरेसन एन्ड ब्याकअप पावर टोलीमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, नेपाल आयल निगम, नेपाल प्रहरी र गृह मन्त्रालय रहेका छन् । प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापना तथा आवश्यक वैकल्पिक विद्युत् व्यवस्थापनका लागि उक्त टोली परिचालन गरिएको छ ।

थप जोखिम कायमै

प्राधिकरणले भोटेकोशी बाढीको तत्कालीन प्रभाव कम हुँदै गए पनि थप ठूलो बाढीको जोखिम कायमै रहेको चेतावनी दिएको छ । भदौ ११ गते बिहान ११ बजेर ४४ मिनेटमा लिइएको स्याटेलाइट तस्बिरको प्रारम्भिक विश्लेषणबाट रसुवागढी नाकाबाट करिब १८ किलोमिटर माथिल्लो तटीय क्षेत्रमा ल्हेन्दे खोलाको बहाव अवरुद्ध भई ताल बनेको देखिएको प्राधिकरणले जनाएको छ ।

उक्त तालको प्राकृतिक बाँध फुटेमा पुनःठूलो बाढी आउनसक्ने जोखिम रहेको भन्दै तल्लो तटीय क्षेत्रका बासिन्दा तथा सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन र उच्च सावधानीका साथ रहन प्राधिकरणले अनुरोध गरेको छ । उक्त क्षेत्रमा थप तालहरू समेत हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । यसकारण ल्हेन्दे खोला, भोटेकोशी तथा त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई नदीको सतह, बहाव तथा प्रशासनबाट जारी हुने सूचनाप्रति निरन्तर सचेत रहन आग्रह गरिएको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker