“गाउँमै प्रसुती सेवा”

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिका वडा नं ९ गजौडेकी सुकुदेवी भुजेल ७ वर्षअगाडि सुत्केरी हुन लागि पोखरा पुगिन् । त्यो बेलामै उनको ५० हजार रुपैयाँ खर्च भयो ।

त्यो बेला उक्त रकम ‘मोटो’ रकम हो । उनलाई आफ्नो गाउँमै प्रसुति सेवा दिने ठाउँ कहिले बन्ला भन्ने लागेको थियो । सुकुदेवी जस्तै गजौडेका धेरै आमा बच्चा जन्माउने बेलामा सदरमुकाम दमौली बजार वा पोखरासम्म पुग्दै आएका छन् ।

तर, गाउँमै ‘बर्थिङ सेन्टर’ सुरु भएपछि जटिल अवस्थाबाहेक गजौडे, माझफाँट, कुमालगाँउ सिस्नेरी लगायत आसपासका गर्भवतीहरू अस्पताल खोज्दै गाउँबाट बाहिरिनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

गएको फागुन ३ गते प्रसुती गराएकी सिस्नेरीकी दिपा परियार भन्छिन् ‘अप्ठ्यारै परेका बेला त पोखरा नै जानुपर्छ । तर, बच्चा सामान्य अवस्थामा रहेको भएमा अब अस्पताल खोज्दै बाहिर हिँड्न नपर्नु हाम्रो लागि त खुसीको कुरा हो’, उनले अघि भनिन्, ‘बाहिर हिँड्न बित्तिकै कति पैसा जान्छ भन्ने थाहा नै हुँदैन । आउजाउ गर्दा दुःख पनि उत्तिकै हुन्छ । गाउँमै यत्तिको सेवा हुनु भनेको त आमाहरूको लागि धेरै राम्रो हो ।’

गजुरे स्वास्थ्य चौकीले सामान्य भवनमा सामान्य खालका सेवा मात्र दिँदै आइरहेको थियो । अहिले आधुनिक भवन निर्माणपछि सेवासमेत थपिएको छ । चौकी नयाँ भवनबाट सञ्चालनमा आएसँगै ‘बर्थिङ सेन्टर’ पनि सुरुवात गरिएको हो । चौकीका प्रमुख खुसीराम क्षेत्रीले भने, ‘यहाँ उपचार नहुने अवस्था आए मात्रै बाहिर पठाउने गरिएको छ । प्रसुती गरिसकेपछि सुत्केरीलाई निःशुल्क एम्बुलेन्सको सेवा पनि प्रदान गरिएको छ ।’

स्वास्थ्य चौकीबाट गर्भवती उत्प्रेरणा र यातायात खर्च गरी २ हजार ८ सय रुपैया पनि सुत्केरीलाई दिदै आएको उनले बताए। उक्त स्वास्थ्य चौकीबाट ल्याब सम्बन्धी परिक्षण सेवा पनि दिदै आएको उनले जानकारी दिए ।

व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले नगरपालिकाले नगरभित्रका गर्भवतीहरूलाई वडाबाटै सुत्केरी सेवा लिन सकून् भन्ने उद्देश्यले ‘बर्थिङ सेन्टर’ निर्माणको कामलाई तीव्रता दिइरहेको बताए । व्यास-९ मा मात्र होईन व्यास-१३ केशवटारमा रहेको स्वास्थ्य चौकीबाट पनि प्रसुति सेवा दिईने गरिएको सोतीले बताए ।

व्यास नगरपालिका भित्र दमौली अस्पताल सहित तीन वटा प्रसुति गृह रहेको छ । चालु वर्षो जेठ मसान्तसम्म मात्र ३४९ जना महिलाले प्रसुति सेवा लिएको स्वास्थ्य शाखा प्रमुख सोतीले बताए ।

व्यास नगरपालिका भित्र १० स्वास्थ्य चौकी, ६ आधारभूत स्वास्थ्य केन्द्र, ५ शहरी स्वास्थ्य केन्द्र, ३ स्वास्थ्य सेवा कार्यालय, २ सामाुदायिक स्वास्थ्य इकाइ, ३ आयुर्वेद औषधालय र कोभिड व्यवस्थापन तथा पिसिआर ल्याब गरी २९ स्वास्थ्य संस्था रहेका छन् ।

चालु वर्षको जेठ मसान्तसम्म व्यास नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थानबाट २ लाख ४४ हजार १०४ जनाले सेवा लिएका छन् । जसमा सबै भन्दा धेरै २० देखि ५९ उमेर समुहका रहेको जनस्वास्थ्य निरिक्षक लक्ष्मी गुरुङले बताइन् । उनको अनुसार उक्त उमेर समुहका १ लाख ३६ हजार ५२८, ६० देखि ६९ उमेर समुहका ३३ हजार २५४, ७० वर्ष भन्दा माथिका २८ हजार ७७४, ९ वर्ष सम्मका २० हजार ३९६ बालबालिका, १५ देखि १९ वर्ष सम्मका १३ हजार ८३८ र १० देखि १४ वर्ष सम्मका ११ हजार २१४ जनाले सेवा लिएको तथ्याङक रहेको छ ।

सेवा लिन आउनेमा सबै भन्दा धेरै रक्तचाप (प्रेसर) सम्बन्धी समस्या लिएर आउने गरेको गुरुङले बताइन् । त्यस्तै ग्यास्टिक, सुगर, टाउको दुखेको, श्वासप्रश्वास सम्बन्धी समस्या, आँखा सम्बन्धी, दम, छाला सम्बन्धीको समस्या भएका बिरामीले सेवा लिने गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker