आँबुखैरेनीमा सामाजिक सुरक्षा कोष सम्बन्धी अभिमुखिकरण

आँवुखैरेनी : तनहुँको आँवुखैरेनी गाउँपालिकामा सामाजिक सुरक्षा कोष योजना सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ । प्रमुख सरोकारवालाहरुको सहभागिता रहेको कार्यक्रममा सामाजिक सुरक्षा कोषका विभिन्न पक्ष र योजनाबारे सहजिकरण गरिएको थियो । गाउँपालिकाका अध्यक्ष शुक्र चुमाने सामाजिक सुरक्षा योजनाको महत्व र यसले स्थानीय श्रमिक समुदायका लागि दिने अवसरका विषयमा चर्चा गरेका थिए ।
गाउँपालिका स्तरमा सामाजिक सुरक्षा योजनाको कार्यान्वयनको महत्व र यसले श्रमिकहरुको जीवनस्तरमा सुधार ल्याउने उल्लेख गर्दै अध्यक्ष चुमानले भने, “आँबुखैरेनी गाउँपालिकामा आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा योजनालाई व्यापक रूपमा लागू गर्नका लागि हामी प्रतिबद्ध छौं । यसका लागि, पहिलो चरणमा पालिकामा कार्यरत करार÷अस्थायी प्रकृतिका कर्मचारीहरुलाई सहभागी गराउने छौं भने, आगामी वर्षदेखि अन्य सबै सरोकारवाला संस्थाहरुलाई पनि यस योजनामा सहभागी गराउने योजना बनाइएको छ ।”
गाउँपालिका उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्मा, पालिकाका विभिन्न सामुदायिक र निजी शैक्षिक संस्थाका प्रमुख/प्रमुख अधिकृतहरु, होटल व्यवसायी, पालिका मातहतका कार्यालयमा कार्यरत कर्मचारी तथा सरोकारवालाहरुको सहभागिता रहेको कार्यक्रममा सामाजिक सुरक्षा कोषकी सहायक निर्देशक राधिका निरौलाले सामाजिक सुरक्षा कोषका विषयमा सहजिकरण गरेकी थिइन् ।
उनले सामाजिक सुरक्षा कोषका कानूनी आधार, यसको उद्देश्य र लाभका बारेमा उपस्थित सहभागीहरुलाई जानकारी गराएकी थिइन् । साथै, उनले कोषका विभिन्न सुविधाहरु जस्तै स्वास्थ्य सेवा, पेंशन, दैवी विपत्ति कोष र अन्य सामाजिक सुरक्षाका उपायहरूलाई सहजिकरण गर्दै यस योजना आगामी दिनमा श्रमिकहरुको सामाजिक र आर्थिक सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण कदम हुने बताइन् ।
सामाजिक सुरक्षा योजनाले श्रमिकहरुका लागि स्वास्थ्य, पेंशन, दैवी विपत्ति जस्ता समस्यामा सहयोग पु¥याउनेछ जसले उनीहरुको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ । गाउँपालिकाले यस योजनामा सहभागी हुने कर्मचारीहरुका लागि स्वास्थ्य जाँच, बीमा र अन्य सहयोगका योजनाहरुको समावेश गर्ने भएको छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्माले सामाजिक सुरक्षा योजनाको दीर्घकालिक प्रभाव र यसका लाभलाई थप स्पष्ट पारेका थिए । उनले यो योजना श्रमिकहरुलाई आफ्नो परिवार र जीवनका अन्य पक्षसँग सम्बन्धित जोखिमबाट बचाउने उपायका रूपमा कार्य गर्ने बताए । सामाजिक सुरक्षा योजनाले श्रमिकहरुको जीवनलाई सुरक्षित र आर्थिक रूपमा मजबुत बनाउने उनले विश्वास व्यक्त गरे ।










