तनहुँको व्यास नगरपालिकाद्वारा नदी कटान तथा भू-क्षय नियन्त्रणका लागि तारजाली वितरण
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले नदी कटान तथा भू-क्षय रोकथाम तथा नियन्त्रणका लागि तारजाली वितरण गरेको छ । विपद्ले पुर्याउने जोखिम न्यूनीकरणका लागि नगरपालिकाले गन आवमा ३५१ वटा तारजाली निःशुल्क वितरण गरेको जनाएको छ ।
नगरपालिकाले नदी तथा खोलाको कटान नियन्त्रण, घर-बस्ती तथा सामुदायिक संरचनाको जोखिम संरक्षण, सिँचाइ कुलो क्षति न्यूनीकरणका लागि तारजाली वितरण गरेको थियो ।
नगरक्षेत्र भित्रका विभिन्न स्थानमा विपद्ले पुर्याएको क्षति रोक्न तथा थप क्षति हुन नदिन ग्याविन जाली भर्नका लागि तारजाली वितरण गरिएको घर नक्सा शाखाका प्रमुख अमृत केसीले बताए । उनका अनुसार आपत्कालीन प्रयोजनको लागि नगरपालिकाले खरिद गरेको तारजाली सम्बन्धित वडाको सिफारिस र विपद् व्यवस्थापन समितिको सिफारिसमा उपलब्ध गराउने गरिएको छ ।
‘लाभग्राही, बस्ती तथा टोलले वडा मार्फत सिफारिस र निवेदन लिएर आएपछि हामीले छानबिन गरी आवश्यकतानुसार तारजाली उपलब्ध गराउने गरिन्छ’, उनले भने, ‘बर्खाको समयमा आएको बाढी-पहिरोबाट पुग्ने क्षतिलाई तत्कालै नियन्त्रण तथा न्यूनीकरण गर्न तोकिएको स्थानमा सम्बन्धित लाभग्राहीबाट ढुङ्गा भरेर जोखिम रोक्नलाई तारजाली उपलब्ध गराइन्छ।’
त्यस्तै नगरपालिकाले गएको वर्षमा ६४ वटा ह्यूमपाईप पनि वितरण गरेको छ । वितरण गरेपछि जोखिम औंल्याइएको स्थानमा रोकथाम नगरी तारजाली थन्काइएको तथा अनावश्यक क्षेत्रमा दुरुपयोग हुनबाट जोगाउन नगरपालिकाले अनुगमन समेत गर्दै आएको छ ।










