तनहुँका २३ सहित गण्डकीमा रास्वपाबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बन्न हालसम्म १९७ जना आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘गाउँपालिका क्यान्डिडेड क्लब’ मा गण्डकीका जिल्लाहरूमा रहेका गाउँपालिकाको अध्यक्ष हुन इच्छा राखेर आवेदन दिनेहरूको संख्या हालसम्म १९७ जना रहेको छ ।
रास्वपाले भदौ १ गतेदेखि गाउँपालिकामा उम्मेदवार हुन इच्छुकका लागि अनलाइन आवेदन सुरु गरेको थियो । यस अवधिभित्र मुस्ताङ र मनाङका गाउँपालिकाबाट उम्मेदवारको आकांक्षा राखेर निवेदन दिनेहरू छैनन् । मुस्ताङमा ५ र मनाङमा ४ गाउँपालिका छ ।
म्याग्दीका दुई गाउँपालिका पनि अध्यक्षको उम्मेदवार हुन इच्छा राखेर हालसम्म निवेदन परेको छ । गण्डकीका रास्वपा सभापति नविन त्रिपाठीले मनाङ र मुस्ताङमा संगठन निर्माणकै क्रममा पार्टी रहेको र ती जिल्लाबाट आकांक्षी हालसम्म नदेखिएको जानकारी गराए ।
रास्वपाबाट गाउँपालिका अध्यक्ष हुन इच्छा राखेर निवेदन दिनेहरूमा गोरखाबाट ४१, स्याङ्जाका ३२, कास्कीका ३१, तनहुँ २३, पर्वत २३, बागलुङ १६, नवलपुरमा १४, लमजुङ ११ र म्याग्दी ६ जना छन् ।
गण्डकीमा कुल ५८ गाउँपालिका रहेकोमा एउटै सबैभन्दा गाउँपालिका बढी हुने गोरखाबाट अध्यक्ष पदमा आकांक्षीको संख्या बढी देखिएको छ । ९ गाउँपालिका रहेको गोरखाबाट अजिरकोटमा ९, भिमसेनथापामा ४, बारपाक सुलिकोटमा ५, चुमनुव्रीमा १, धार्चेमा १, गण्डकीमा ७, शहीद लखनमा ७ र सिरानचोक गाउँपालिकामा ७ जनाले अध्यक्ष उम्मेदवार हुने आकांक्षा राखेका छन् ।
६ गाउँपालिका रहेको बागलुङमा अध्यक्ष पदका लागि १६ जनाले इच्छा देखाएका छन् । बडिगाडमा ३, बरेङमा २, काठेखोलामा ४, निसीखोलामा ४, तमानखोलामा २ र ताराखोलामा १ जनाले अध्यक्ष पदका लागि आकांक्षा देखाएका छन् ।
६ गाउँपालिका रहेको स्याङ्जामा ३२ जनाले अध्यक्ष पदको उम्मेदवार हुने इच्छा सहित अनलाइन आवेदन दिएका छन् । स्याङ्जाका गाउँपालिकामध्ये आँधीखोलामा सबैभन्दा बढी १० जनाले अध्यक्षको उम्मेदवारका आकांक्षी देखिएका छन् । अर्जुनचौपारीमा ६, बिरुवामा २, हरिनासमा ५, कालीगण्डकीमा ३ र फेदीखोलामा ६ जनाले रास्वपाबाट अध्यक्षको उम्मेदवार हुने आकांक्षा राखेका छन् ।
६ वटा गाउँपालिकाा रहेको तनहुँमा आँबुखैरेनीमा २, बन्दीपुरमा ६, देवघाटमा ४, घिरिङमा ६, म्याग्देमा ४ र ऋषिङमा १ जनाले अध्यक्ष पदको आकांक्षा राखेर आवेदन दिएका छन् । तनहुँका ६ गाउँपालिकामा अध्यक्षको उम्मेदवार हुन चाहनेको संख्या २३ जना रहेको छ ।
५ पालिका रहेको पर्वतमा विहादीमा ७, जलजलामा ३, महाशिलाबाट २, मोदीबाट ६ र पैयूंमा ५ जनाले अध्यक्षको उम्मेदवार हुने चाहना राखेर अनलाइन आवेदन दिएका छन् । गाउँपालिका अध्यक्ष हुन इच्छुकको संख्या पर्वतमा हालसम्म २३ जना छन् ।
पाँच गाउँपालिका रहेको म्याग्दीमा ३ पालिकाबाट अध्यक्ष हुने आकांक्षीले आवेदन दिएका छन् । धवलागिरीमा २, मंगलामा २ र रघुगङ्गामा २ जना गरी कूल छ जनाले हालसम्म अध्यक्ष पदमा आकांक्षी देखिएका छन् । अन्नपूर्ण र मालिका गाउँपालिकामा हालसम्म कसैले इच्छा देखाएका छैनन् ।
चार गाउँपालिका रहेको कास्कीबाट हालसम्म अध्यक्ष पदको उम्मेदवारको इच्छा राख्नेहरूको संख्या ३१ जना रहेको छ । चार गाउँपालिकामा अन्नपूर्णबाट ८, माछापुच्छ्रेमा ९, मादीमा १२ र रुपा गाउँपालिकामा २ जनाले पालिका अध्यक्षको उम्मेदवार हुने इच्छा देखाएका छन् ।
चार गाउँपालिका रहेको अर्को गण्डकीको जिल्ला लमजुङबाट दोर्दीमा २, दूधपोखरीमा ५, क्व्होलासोथारमा १ र मर्स्याङ्दीमा ३ गरी ११ जनाले इच्छा राखेका छन् ।
नवलपुर जिल्लामा बौदीकालीबाट २, बुलिङटारबाट ४, हुप्सेकोटबाट ८ जनाले गाउँपालिका अध्यक्ष उम्मेदवार हुने आकांक्षा राखेका छन् ।
रास्वपाले भदौ १ गतेबाट गाउँपालिका र असोज २९ गतेबाट नगरपालिकाको जनप्रतिनिधि हुन इच्छुकका लागि आवेदन खुला गरेको थियो । रास्वपा नेताहरूका अनुसार प्रमुख पदमा आकांक्षीहरू उल्लेख्य देखिएपनि सदस्य पदमा न्यून आवेदन परेको छ । ‘अध्यक्षको तुलनामा उपाध्यक्षमा आवेदन कम छ । सदस्यहरू त्यसभन्दा पनि कम आवेदन परेको छ,’ गण्डकी सभापति त्रिपाठीले भने,‘आवेदनका लागि समय छँदैछ । ल्याट्ररल इन्ट्रीका लागि प्रतिक्षा गर्नेहरू पनि हुनुहुन्छ ।’
रास्वपाले उम्मेदवारको आवेदनको समय सीमा भने हालसम्म तोकेको छैन । अनलाइनखबरबाट










