पहिरामा परी ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग
भञ्ज्याङ न्यूज

पहिरामा ज्यान गुमाएका तनहुँ र गोरखाका सात परिवारलाई शनिबारआर्थिक सहयोग प्रदान गरिएको छ । पूर्वमन्त्री एवं नेकां केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको सक्रियतामा पहिरामा परी ज्यान गुमाएका परिवारलाई उक्त सहयोग प्रदान गरिएको हो । पहिरामा परी मृत्यु भएका परिवारलाई पूर्वमन्त्री बस्नेत र जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले उक्त सहयोग रकम हस्तान्तरण गर्नु भएको हो । व्यास नगरपालिका-१ निर्मलबस्ती निवासी सरस्वती घर्ती, बन्दीपुर गाउँपालिका-३ तामुङका सरस्वती थापा र हरिमाया सार्कीको पहिरामा परी ज्यान गएको थियो ।
त्यसैगरी ऋषिङ गाउँपालिका-७ की देवीसरा थापा, वडा नं ८ का खुमबहादुर आलेको परिवारलाई आर्थिक सहयोग दिइएको हो । त्यसैगरी छिमेकी जिल्ला गोरखाको सिरानचोक गाउँपालिकाका श्रीमान्-श्रीमतीको पहिरामा परी मृत्यु भएका परिवारलाई पनि आर्थिक सहयोग दिइएको छ ।
रमनप्रसाद र नन्दकुमारी पाण्डेको पहिरामा परी मृत्यु भएपछि निजका छोरालाई रु ५० हजार आर्थिक सहयोग प्रदान गरिएको छ । पहिरामा परी ज्यान गुमाएका परिवारलाई जनही रु २५ हजारका दरले आर्थिक सहयोग प्रदान गरिएको नेपाली कांग्रेस जिल्ला सचिव विश्व बाँस्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार कूल रु एक लाख ७५ हजार आर्थिक सहयोग दिइएको छ ।
केन्द्रीय सदस्य बस्नेतले विपद्को समयमा चहर्याइरहेको घाउमा मल्हम लगाउने कार्य गरिएको बताए । पार्टीको विपद् व्यवस्थापन समितिको संयोजक समेत रहनुभएका बस्नेतले दुःखमा साथ दिनुपर्छ भन्ने कांग्रेसको धर्म भएकाले सक्दो सहयोग जुटाएर सहयोग गरिएको बताए ।










