नेपाल विद्युत प्राधिकरण तनहुँले गत वर्ष ८७ करोड ७६ लाख युनिट विद्युत् बिक्री गर्यो

तनहुँ : नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका विभिन्न क्षेत्रमा एक हजार ८९५ घरधुरीमा विद्युत् सेवा विस्तार गरेको छ । विद्युत् सुविधा नपुगेका क्षेत्र तथा नयाँ बस्तीलाई लक्षित गरी लाइन विस्तार गरिएसँगै जिल्लामा राष्ट्रिय प्रसारण प्रणालीको पहुँच थप विस्तार भएको हो ।

वितरण केन्द्रका इन्जिनियर डिलबहादुर आलेका अनुसार विद्युत् पहुँच विस्तारलाई प्राथमिकता दिँदै ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका घरधुरीलाई समेत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने कामलाई निरन्तरता दिइएको छ । नयाँ घरधुरीमा सेवा विस्तार भएपछि तनहुँ वितरण केन्द्रअन्तर्गत विद्युत् ग्राहकको संख्या ८२ हजार २४९ पुगेको छ ।

केन्द्रका अनुसार दमौली कार्यालयअन्तर्गत २८ हजार ८२९, खैरेनीटार उपवितरण केन्द्रअन्तर्गत २७ हजार ४१७, डुम्रे शाखाअन्तर्गत १२ हजार १५६, आँबुखैरेनी शाखा अन्तर्गत पाँच हजार ९२०, थर्पु नोलाइटअन्तर्गत दुई हजार ६१५ र दुईपिप्ले नोलाइटअन्तर्गत पाँच हजार ३१२ ग्राहक रहेका छन् ।

तनहुँ वितरण केन्द्रले तनहुँ जिल्लाका १० वटै स्थानीय तहलाई आफ्नो कार्यक्षेत्रमा समेटेको छ । तनहुँबाहेक कास्कीको रुपा गाउँपालिका–३ र ४ का केही भाग, लमजुङको मध्यनेपाल नगरपालिका–१ देखि ५ सम्मका क्षेत्र तथा नवलपुरका बौदीकाली र बुलिङटार गाउँपालिकाका केही भागमा समेत यही वितरण केन्द्रमार्फत विद्युत् सेवा प्रवाह हुँदै आएको इन्जिनियर आलेले बताए ।

विद्युत् पहुँच विस्तारसँगै केन्द्रले विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउनेतर्फ समेत काम गरिरहेको जनाएको छ । विद्युत् पुगेका नयाँ बस्तीमा घरायसी प्रयोजनसँगै कृषि, व्यवसाय, साना उद्योग तथा स्थानीय उत्पादनमूलक गतिविधि विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

एक वर्षमा एक अर्बभन्दा बढीको विद्युत् बिक्री

तनहुँ वितरण केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा ८७ करोड ७६ लाख १३ हजार ७८७ युनिट विद्युत् बिक्री गरेको छ । उक्त विद्युत् बिक्रीबाट केन्द्रले एक अर्ब एक करोड ११ लाख १२ हजार १२६ रुपैयाँ संकलन गरेको जनाएको छ । विद्युत् खपत तथा ग्राहक संख्या बढ्दै जाँदा वितरण केन्द्रको सेवा क्षेत्र पनि विस्तार हुँदै गएको छ । नयाँ घरधुरीलाई विद्युत् पहुँचमा ल्याउनुका साथै विद्यमान ग्राहकलाई नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् उपलब्ध गराउने चुनौतीसमेत केन्द्रसामु रहेको छ ।

केन्द्रअन्तर्गत हाल छ वटा सबस्टेसन, ३० वटा ११ केभी फिडर, १०७ किलोमिटर ३३ केभी प्रसारण लाइन, ९३९ किलोमिटर ११ केभी लाइन र चार हजार ३२८ किलोमिटर ०.४/०.२३ केभी वितरण लाइन रहेका छन् । त्यस्तै विभिन्न क्षमताका ६७३ वटा ट्रान्सफर्मरमार्फत विद्युत् वितरण भइरहेको छ ।

वितरण प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन ११/०.४ केभी लाइन विस्तार, मर्मत तथा सम्भार, सुदृढीकरण र अपग्रेडिङको कामसमेत भइरहेको केन्द्रले जनाएको छ । आवश्यकता अनुसार विभिन्न क्षमताका लोड सेन्टर थप गर्ने तथा पुराना संरचनालाई स्तरोन्नति गर्ने कामलाई पनि प्राथमिकता दिइएको छ ।

त्यसैगरी नयाँ ग्राहकका लागि मिटर जडान, मिटरसम्बन्धी गुनासो व्यवस्थापन तथा विद्युत् आपूर्तिसँग सम्बन्धित अन्य सेवासमेत केन्द्रबाट प्रदान हुँदै आएको छ ।

ग्रामीण तथा दुर्गम क्षेत्रमा विद्युत् पहुँच विस्तार हुँदै जाँदा जिल्लामा विद्युत् खपतको दायरा पनि फराकिलो बन्दै गएको छ । विद्युत् सेवा केवल उज्यालोका लागि मात्र नभई कृषि आधुनिकीकरण, व्यवसाय सञ्चालन, घरेलु तथा साना उद्योगको विकास र स्थानीय रोजगारी सिर्जनासँग जोडिन थालेकाले बाँकी विद्युत् पहुँचविहीन बस्तीलाई समेत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नु अबको महत्वपूर्ण आवश्यकता बनेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker