वेदव्यास अवतरण दिवस तथा गुरूपूर्णिमा मनाइयो

दमौली : आषाढ शुक्ल पूर्णिमाका दिन विहीबार गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइएको छ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ अर्थ प्रकाश भनेर बुझिन्छ। ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद्हरु बताउँछन् ।
यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ–
गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो  महेश्वर :। 
गुरु : साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नम :।
माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ। गुरु पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवं संघसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका छन् ।

व्यास जयन्ती

यस्तै, वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा विहीबारै व्यास जयन्ती पनि मनाइएको छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिन्छ ।
व्यासले पुराण र उपपुराणका माध्यमबाट यस्तो सन्देश दिन खोज्नुभएको छ–
‘अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम् । 
परोपकार पुण्याय, पापाय परपीडनम् ।।
अर्थात् अरूको उपकार गरे धर्म हुन्छ, अरूलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिनुभएको छ। पाँचौँ वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गर्नुभएको हो । यस अवसरमा देशभरका विभिन्न गुरुकुल, शिक्षालय एवं संघ संस्थाले पनि गुरु पूर्णिमा पर्व मनाएका छन् ।
यस्तै, चार वेद र अठार पुराणका रचयिता भगवान वेदव्यासको जन्मस्थल दमैलीमा मंगलबार व्यास अवतरण दिवस तथा गुरूपूर्णिमा भव्य रूपमा मनाइएको छ । व्यास नगरपालिकास्थित व्यास मूर्तिमा पूजनपछि शोभायात्रा सहित व्यास गुफा अन्न क्षेत्र पुगेर आरती कार्यक्रम आयोजना गरिएको थियो ।
व्यास क्षेत्र शिवपाञ्चायन विकास कोष, वेदानुयायी प्रतिष्ठान नेपाल, व्यास नगरपालिका तथा विभिन्न धार्मिक संघसंस्थाहरुले संयुक्त आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले वेदव्यासप्रति न्याय गर्न उनको जन्मस्थलमा संस्कृत विश्वविद्यालय स्थापना गर्नु जरुरी रहेको बताए।उनले संस्कृत शिक्षामार्फत ज्ञानको ज्योति फैलाउनु अहिलेको आवश्यकता भएको धारणा राखे ।
कार्यक्रममा व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरै, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, जिल्ला न्यायाधीश कमलराज विष्ट, गण्डकी प्रदेशका पूर्वमन्त्री डोबाटे विक, व्यास क्षेत्रका अध्येता काशीनाथ न्यौपाने, धार्मिक व्यक्तित्व शान्तिस्वरूपानन्द दामोदर बाबा लगायतले व्यास जयन्तीका विषयमा आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।
यस्तै, नेकपा एमाले तनहुँका प्रतिनिधि श्रीराम कार्की, राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँका अध्यक्ष विश्व बास्तोला, नेपाल रेडक्रस सोसाइटी तनहुँका मन्त्री सूर्यचन्द्र हड्खले, नेपाल कम्युनिस्ट पार्टी समाजवादीका प्रतिनिधि मंगलप्रसाद श्रेष्ठ, शिवपाञ्चायन विकास कोषका महासचिव विष्णुभक्त सिक्देल लगायतले वेदव्यास क्षेत्रको संरक्षण, प्रचार–प्रसार र विकासमा जोड दिंदै व्यास क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धार्मिक पर्यटन केन्द्रको रूपमा विकास गर्नका लागि एकीकृत र दीर्घकालीन योजना आवश्यक रहेको धारणा राखे ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker