मालपोत कार्यालय तनहुँद्वारा तीस करोड चौरासी लाख राजस्व संकलन
भञ्ज्याङ समाचारदाता/तनहुँ

जिल्ला मालपोत कार्यालयले आर्थिक वर्ष २०७९/८० मा रु तीस करोड ८४ लाख तीन हजार ५४ राजस्व सङ्कलन गरेको छ।
आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आवमा रु १३ करोड ८३ लाख ७४ हजार छ सय १० कम राजस्व सङ्कलन भएको सो कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ मा रु ४४ करोड ६८ लाख चार हजार छ सय ६४ राजस्व संकलन भएको कार्यालयका सुब्बा एवं सूचना अधिकारी टीकाराम शर्मा घोरासाइनेले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७९/८० मा रजिष्ट्रेशन दस्तुरबाट रु पन्ध्र करोड ८० लाख पाँच हजार चार सय सत्र, पुँजीगत लाभकर रु एघार करोड उनान्नचालिस लाख सन्ताउन्न हजार पन्ध्र, रोक्का दस्तुर धितोसमेत गरी रु तीन करोड अठार लाख सत्तरी हजार राजस्व सङ्कलन भएको थियो ।
त्यसैगरी नामसारी संशोधनबाट रु बैसी लाख अठसी हजार आठ सय सत्र, अन्य सेवाशुल्क र प्रशासनिक दस्तुर रु एघार हजार आठ सय पाँच राजस्व संकलन भएको थियो । उहाँका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा कित्ताकाट रोकिएका कारण कारोबार घटेको थियो ।
संकलित राजस्वमध्ये पुँजीगत लाभकर राजस्वबापत सङ्कलन भएको रु एघार करोड ३९ लाख ५७ हजार १५ सङ्घीय सरकारको खातामा पठाइने कार्यालय प्रमुख चिरञ्जीवी पौडेलले जानकारी दिनुभयो । बाँकी रहेको राजस्व रकममध्ये ६० प्रतिशत स्थानीय पालिका र ४० प्रतिशत गण्डकी प्रदेश सरकारको खातामा पठाइने उहाँको भनाइ थियो ।










